नेकपाको स्थायी कमिटि बैठक आज, प्रचण्ड खेमा ‘लचक’

फाइल तस्बिर

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज (मंगलबार) का लागि बोलाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका बोलाइएको बैठक बस्ने निश्चित भने छैन। तर पार्टीको पूर्व माओवादी खेमा अब बैठक रोक्न नहुने पक्षमा उभिएको छ।

सोमबार बिहान अध्यक्ष प्रचण्डले पूर्व माओवादीका सबै स्थायी कमिटि सदस्यहरुलाई खुमलटारस्थित निवासमा बोलाएर पार्टीको विवादबारे छलफल गरेका थिए।

उक्त भेलामा सहभागी अधिकांश नेताहरुले अब बैठकबाटै निकास निकाल्न सुझाव दिँदै स्थायी कमिटिको बैठक रोक्न नहुनेमा जोड दिएका थिए।

भेलाले पार्टीको विवादलाई तत्कालका लागि सुरक्षित अवतरण गर्ने ढंगले अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएको थियो।

यसको अर्थ पार्टीको पूर्व माओवादी खेमा तत्कालका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिने अडानबाट पछि हटेको संकेत हो।

कुनै पनि हालतमा पार्टी फुटको संघारमा जान नहुने गरी निर्णय लिनुपर्ने सुझाव अध्यक्ष प्रचण्ड समक्ष राखेको पूर्व माओवादी खेमाका नेताहरुले बताएका छन्।

भेलामा सहभागी स्थायी कमिटि सदस्य लिलामणि पोखरेलले भने, ‘तर यसको मतलब पार्टीका सबै बेठिक क्रियाकलापहरुलाई स्वीकार गर्दै जाने अन्यथा पार्टी फुट्छ भन्ने मानसिकताकाबाट आतंकित हुनु हुँदैन भन्ने कुरा राखेका छौँ ।’

केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष र त्यसपछि प्रधानमन्त्री समेत बन्न प्रस्ताव गरेपछि प्रचण्ड समूह लचक बनेको अनुमान गरिएको छ । खुमलटार भेलामा प्रचण्डले आफूलाई महाधिवेशनपछि एकल अध्यक्ष र प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएका थिए ।

पूर्व माओवादी खेमाले ओलीपक्षसँग मिलेरै अघि बढ्ने बताए पनि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले भने दुई अध्यक्षबिचको सहमतिलाई मात्रै आफूहरु मान्न तयार नरहेको बताएका छन् ।

उनीहरुले अब हरेक सहमति र निर्णयहरु पार्टी बैठकबाटै गर्नुपर्नेमा जोड दिएका छन् ।

ओलीले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने पर्ने माग गर्दा नेपाल पक्षको साथ लिएका प्रचण्डले पछिल्ला केही दिनयता नेपाल पक्षलाई बेवास्ता गर्न खोजेको देखिएको छ ।

ओलीसहित राष्ट्रपतिसँगको भेटपछि प्रचण्डको अडान केही फेरिएको भन्दै नेपाल पक्ष सशंकित हुँदै आएको छ।

साउन ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्