बक्राहा खोलाको बाँध फुट्यो, बाढी गाउँमा पस्दा स्थानीय विस्थापित

मोरङ – मोरङको पूर्वी क्षेत्रस्थित सुनवर्षी नगरपालिकाको वरङ्गामा बक्राहा खोलाको बाँध फुटेर बस्तीमा बाढी पसेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार सुनवर्षी नगरपालिका–७ हुँदै बगेको बक्राहा खोलाले सोमबार बेलुका करिब १५ मिटर बाँध फुटाएको हो ।

दिउँसोबाट खोलामा पानीको बहाव बढ्दो जानकारी पाएसँगै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिए पनि बेलुका बाँध फुटेको उनले बताए । सुनवर्षीको वरङ्गाबाट पश्चिम चैता र मल्धैयाको बिचमा पर्ने बाँध फुटेको हो ।

खोला बस्तीमा पस्दा मल्धैयाका चार परिवार विस्थापित भएको सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले जानकारी दिए ।

बाढीका कारण स्थानीय सतारु ऋषिदेव, लक्ष्मण ऋषिदेव, विलाश ऋषिदेव र बरुण ऋषिदेवको घरमा क्षति पुगेको छ । बाँध फुटेपछि हाल सो क्षेत्रमा बसोबास गर्दै आएका करिब १५० सुकुम्बासी परिवार जोखिममा रहेको उनले बताए ।

हाल खोलामा पानी बहाव कम भएको छ । अस्थायी बाँध बनाएर खोलालाई पुरानै धारामा बगाउने प्रयास भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखना दाहालले जानकारी दिए ।

साउन ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्