हेभी मेटल र तबलाको फ्युजन

ताक धिना धिनको आनन्दमा रुबी श्रेष्ठको जिन्दगी

ताक धिना धिनको आनन्दमा रुबी श्रेष्ठको जिन्दगी

तस्बिर/भिडियोः मन्दिरा राउत/देश सञ्चार। 

काठमाडाैँ– ‘पितृसत्तात्मक सोच परिवर्तन भएकै छैन हाम्रो समाजमा। अझै पनि केटीहरुलाई अगाडि बढ्न गाह्रै छ। केही नयाँ काम गरेर अगाडि बढ्न खोज्यो भने खुट्टा तान्ने प्रवृति धेरै छ हाम्रो वरपर। मसँगै तबला सिक्ने मेरा धेरै साथीहरु थिए। उनीहरु कतिले त आजभोलि सिक्नै छोडिसके। पहिला–पहिला बच्चा बेलामा सिक्दा पनि त्यस्तै, कतिलाई त घरमा नै सपाेर्ट नगर्ने, केटी मान्छे भएर तबला बजाउँछ भन्ने’, आफ्नी आमातर्फ हेर्दै गफिँदै थिइन् ललितपुर, चापागाउँकी २२ वर्षीया रुबी लाखे श्रेष्ठ।

छेउमा बसेकी उनकी आमा नारायणदेवी श्रेष्ठ मुसुमुसु हाँस्दै थिइन्, आफ्नी छोरीको गफ सुनेर।

२२ वर्षीया रुबी तबलाको पाँचाैँ वर्षमा अध्ययन गर्दैछिन्, गुरु मिलेष तन्डुकारसँग। उनमा संगीतको मोह भरिएको चाहिँ सात वर्षकाे हुँदादेखि नै हो।

‘संगीतमा म प्रेरित हुनुको कारण चाहिँ मेरो हजुरबुबा नै हो। म सानो छँदा हजुरबुबा सधैं मलाई लिएर भजनमा जानुहुन्थ्यो। उहाँले हार्मोनियम बजाउनुहुन्थ्यो, त्यतिबेला नै हजुरबुबाले मलाई सरगम (सा रे ग म) सिकाउनु भयो’, उनले आफ्ना सुरुवाती दिन सम्झिइन्।

‘समय बित्दै जाँदा मलाई त्यहाँ गइराख्ने बानी भयो, यसमा रुचि जाग्नुमा नेवारी बाजा ‘खि’को पनि ठूलो हात छ। सात वर्ष हुन लाग्दा खेरि ‘खि’ बजाउन लागेकी थिएँ। नाै वर्ष हुँदासम्म ‘खि’ बजाउन सक्ने भइसकेकी थिएँ। त्यसपछि भजनमा गएर हार्मोनियम बजाउन सिकेँ। तर मलाई त्यहाँ जाँदा–जाँदा तबलामा रुची जाग्यो’, मुसुक्क हाँस्दै उनले भनिन्, ‘मान्छेको मन न हो जति नयाँ कुरा सिक्यो उति नै नयाँ गर्न मन लाग्ने रहेछ।’

भजनमा जाँदा त्यहाँका बुढापाकाहरुले केटी मान्छे भएर तबला बजाउनु हुँदैन यो त केटाले बजाउने हो भन्थे।

उनीहरुले त्यसो भनिरहँदा रुबीकाे मनमा भने ‘किन बजाउनु हुँदैन?’ भन्ने प्रश्नहरु उब्जिन्थ्यो। उनलाई लाग्थ्यो,  ‘केटाले सक्छ भने मैले पनि सक्छु। म कोशिस गरेरै छोड्छु।’

रुबीले हार नमानेपछि ‘केटीले तबला बजाउनु हुँदैन’ भन्नेहरु पनि पछि उनलाई सिकाउन थाले।

‘धेरै नै बजाउन खोजेँ मैले। पछि मेरो रुचीलाई देखेर जसले मलाई बजाउन हुँदैन भन्थे उनीहरुले नै सिकाउन थाले’, उनले भनिन्, ‘त्यसपछि मैले गुरुसँग सिक्न थालेँ। अनि थाहा पाएँ तबला बजाउन कति गाह्राे रहेछ भनेर। सिक्नलाई त वर्षौ लाग्छ।’

उनले औपचारिक रुपमा तबला सिक्न थालेकाे पाँच वर्ष भइसकेकाे छ। रुबीले एसएलसीपछि तबला सिक्न थालेकी हुन्। बजाउन थालेकाे भने १० वर्ष भयाे। औपचारिक अध्ययनपछि उनलाई लाग्न थालेकाे छ– संगीत भनेको समुद्र जस्तै विशाल कुरा रहेछ, सिकेर कहिल्यै नसकिने।

रुबी भन्छिन्, ‘मैले धेरै सुधार गर्नुछ। म्युजिक भनेको समुन्द्र हो। यो असीमित हुन्छ, जीवनभर सिके पनि सकिँदैन। म त यो समुद्रको एक थोपा पानी हुँ।’

केही वर्षअघि रुबीले हेभी मेटलमा तबला बजाउन काेशिस गरिन्। उनले भनिन्, ‘केही वर्ष अगाडि मैले हेभी मेटलमा तबला ट्राई गरेकी थिएँ, धेरै समय लाग्यो त्यो बनाउन। त्यसपछि भिडियो फेसबुकमा हालेकी थिएँ, भ्यूज पनि धेरै गएको थियो। तर नेगेटिभ कमेन्ट यति धेरै आयो की मैले एक वर्षसम्म वेस्टर्न म्यूजिकमा तबला बजाउनै छाडेँ।’

त्यतिबेला वेस्टर्न म्यूजिकमा तबला बजाएर गल्ती गरेछु जस्ता लाग्यो उनलाई। आफूलाई जे गर्दा आनन्द आउँथ्यो त्यही काम  गर्न नपाउँदा उनको मन खिन्न भयो।

तर उनलाई त्यही वेस्टर्न म्यूजिकमा बजाएकाे तबलाले एउटा नयाँ अवसर दिलायाे। उनले जुन गीतमा हेभी मेटलमा तबला बजाएकी थिइन्, त्यही गीत (द फेडेड लाइन)मा ड्रम बजाउने क्रिस एडलर (ल्याम्ब अफ गड ब्याण्डका ड्रमर)सँग भेट भयाे।

क्रिस एडलरसँग रुबी।

‘जुन गीतमा मैले मेटल बजाएकी थिएँ, त्यही गीतको ड्रम्स बजाउने क्रिस एडलर नेपाल आउनुभएको रहेछ। मैले त्यो गीतमा तबला बजाएको उहाँले हेर्नुभएको रहेछ। राम्रो लागेर उहाँले मलाई भेट्न बोलाउनु भयो। भेटमा त्यही गीतमा उहाँसँग तबला बजाउने मौका पनि पाएँ।’

क्रिस एडलरबाट रुबीले राम्रो प्रतिक्रिया पाएपछि उनलाई थप हाैसला मिल्यो। ‘इन्टरनेशनल आर्टिस्ट’लाई आफ्नो कला मन परेपछि उनले फेरि वेस्टर्नमा तबला बजाउन सुरु गरिन्।

‘कसैले खुट्टा तान्छ भने उसलाई बेवास्ता गरेर अगाडी बढ्नु पर्छ। किनकि केटीले जे गर्न सक्छन्, त्यो कसैले पनि गर्न सक्दैन। तर आफूमा आत्मबल अनि सिक्ने दृढ इच्छाशक्ति चाहिँ हुनुपर्छ। निराश भएर ओहो म त सक्दिनँ भनेर हरेस खानु चाहिँ भएन’, उनले भनिन्।

रुबीले तबला सँगसँगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छन्। सानेपास्थित नेसनल ल कलेजमा स्नातक ७ औँ सेमेस्टरमा कानुन पनि पढ्दै छिन्। पढाइ त छँदैछ, उनको दैनिकीमा तबला अभिन्न रुपले जोडिएको छ।

उनका अनुसार तबला सिक्न रुची भएपनि कतिपयले सिक्न पाइरहेका हुँदैनन् किनकि तबला सिकाउने गुरु नेपालमा धेरै छैनन्। त्यसैले रुबीले आफू जस्तै तबलामा ‘इन्ट्रेस्ट’ भएकाहरुलाई सित्तैमा तबला सिकाउँछिन्।

उनले भनिन्, ‘मेरो गुरुले सधैँ भन्नुहुन्थ्यो तबला भनेको बाजाको राजा हो, जुनसुकै गीतमा पनि तबला बजाउन गर्न मिल्छ।’

रुबीकै सम्मानमा ‘ललित साहित्य यात्रा’बाट कविता वाचन कार्यक्रम भएको थियो, उनी त्यो क्षण कहिल्यै भुल्न सक्दिनन्। उनले थुप्रै ‘मेडल’ पनि पाएकी छन्।

आमासँग रुबी

रुबीकी आमा पनि आफ्नी छोरीले तबला बजाएकोमा मख्ख छिन्। उनले भनिन्, ‘७ वर्षकी हुँदादेखि मेरी छोरीले संगीत सिक्न थालेकी। गाह्रो छ छोरी तिमी सानै छौ नजाऊ भनेको, जानी भनेर जिद्दी गर्‍या‍े। २–४ दिन सिकेर आउँदा त हात फुटेर बिग्रेको थियो।’

‘छोरीले गर्दा मैले पनि कति सम्मान पाएको छु। हाम्रो समाजमा छोरा भएन भनेर मान्छेहरु दुःख पोख्छन् तर मेरो त छोराछोरी जो भनेनी यही एउटी छोरी हो, उसलाई छोरा जसरी नै मन लागेको कुरा गर्न दिएका छौँ। उसले गर्दा वरपर छिमेकीले गर्ने व्यवहार पनि पहिलाभन्दा फरक पाएका छौँ ‘, उनलाई आफ्नी छाेरीमाथि गर्व छ।

‘म पनि अलि अलि सिक्दै छु, छोरीले सिकाउँदै छ। अब बुढेसकाल लाग्यो भजन सिक्नुपर्‍याे नि है’, उनले हाँस्दै भनिन्।

रुबीले पनि कतिपय भजनहरुमा तबला बजाएकी छन्।

तस्बिर/भिडियोः मन्दिरा राउत/देश सञ्चार। 

साउन ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू