ट्रम्पको बोली फेरियो, अन्ततः गरे मास्कको प्रशंसा र मास्क लगाउन अपिल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस सम्बन्धी दैनिक ब्रिफिङ्गमा फर्किएका छन् र केही बोलीमा पनि परिवर्तन ल्याएका छन् । उनले ह्वाइट हाउसमा मंगलबार भएको ब्रिफिङ्गमा अमेरिकामा कोरोना भाइरसको महामारी ‘सुधार हुनु पूर्व खराब हुनसक्ने’ भएको बताएका छन् ।
ट्रम्पले ब्रिफिङ्गको क्रममा सबै अमेरिकीलाई मास्क लगाउन वा रुमालले मुख छोप्न आग्रह गरेका छन् । मास्क वा रुमालले मुख छोप्दा कोरोना भाइरसको संक्रमणबाट जोगिने भन्दै उनले राष्ट्रप्रेम दर्शाउन पनि मास्क लगाउन आपिल गरेका हुन् ।
ट्रम्पले भने ब्रिफिङ्गमा सहभागी हुँदा मास्क लगाएका थिएनन् । उनले यसअघिसम्म लगातार मास्कको विपक्षमा बोल्दै आएका थिए । आफूले मास्क लगाउँदै नलगाउने र नागरिकलाई मास्क लागउनका लागि अपिल नगर्ने बताएका ट्रम्पले गएको हप्ता सार्वजनिक रुपमा मास्क लगाएको देखिएका थियो ।
अमेरिकाभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अति तीव्र गतिमा बढी रहेका बेला सल्लाहकारहरुले ट्रम्पलाई बोली परिवर्तन गर्न सुझाव दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
गएको अप्रिलमा कोरोना भाइरसको उपचार मानिसको शरीर डिस्इन्फेक्ट गर्न इन्जेक्सन लगाए हुने बताएपछि ट्रम्पले ह्वाइट हाउसमा हुँदै आएको नियमित ब्रिफिङ्ग बन्द गरेका थिए । इन्जेक्सन र ब्लिचिङ्गको सुझावपछि ट्रम्पको चौतर्फी आलोचना भएको थियो ।
झण्डै तीन महिनापछि ह्वाइट हाउसमा भएको पहिलो ब्रिफिङ्गमा ट्रम्पले भने, ‘दूर्भाग्यवस यो महामारी सुधार हुनु पूर्व खराब हुनसक्ने हुन सक्छ ।’
उनले भने, ‘हामीले सबैसँग यो आग्रह गर्छौँ की सामाजिक दूरी कायम गर्न नसक्ने अवस्थामा मास्क लगाउनु होला । मास्क तपाईँलाई मन परोस् या नपरोस्, त्यसको प्रभाव छ । त्यसको प्रभाव हुनेछ र हामीले सम्भव भएका सबै प्रयास अपनाउनु पर्छ ।’
आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ । कोरोना भाइरस महामारी विरुद्ध गरेको कमजोर प्रयास तथा रंगभेद विरोधी आन्दोलनविरुद्धका अभिव्यक्तिका कारण ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन भन्दा पछि देखिएको विभिन्न सर्वेक्षणहरुले देखाउँदै आएका छन् ।
मंगलबारको ब्रिफिङ्गमा स्वास्थ्य विज्ञहरु बिनै उपस्थित भए । यसअघि स्वास्थ्य विज्ञहरुले ब्रिफिङ्गमा सम्बोधन गर्ने गरेका थिए । ट्रम्पले आफ्नो ब्रिफिङ्ग सकेसम्म ‘स्क्रिप्टेड’ र छोटो बनाए । पत्रकारसँग धेरै बेर सवाल जवाफ गरेनन् ।
ट्रम्पले युवाहरुलाई भिडभाड युक्त स्थानमा नजान आग्रह गरी सुरक्षित र स्मार्ट बन्न पनि आग्रह गरे ।
कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३८ लाख ९१ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख ४१ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।