नोबेल पुरस्कार विजेताका लागि गरिने भव्य भोजसहितको विशेष समारोह यो वर्ष नहुने

नोबेल फाउन्डेशनले यो वर्ष परम्परागत रुपमा डिसेम्बरमा हुँदै आएको विशेष भाेजसहितकाे समारोह नगर्ने भएको छ । कोरोना भाइरस महामारीका कारण फाउन्डेशनले यो वर्षको विशेष समारोह नगर्ने घोषणा मंगलबार गरेको हो ।

तर पनि नोबेल पुस्कार वितरण समारोह भने ‘नयाँ संरचना’ मा हुने जनाइएको छ । नोबेल फाउन्डेशनका अनुसार सन् १९५६ यता पहिलोपटक डिसेम्बरमा गरिने विशेष समारोह रद्द गरिएको हो ।

नोबेल फाउन्डेशनका निर्देशक लार्स हाइकन्स्टनले वक्तव्यमा भनेका छन्, ‘अहिलेको महामारीका कारण यो वर्ष नोबेल वीक पहिलेको जस्तो हुने छैन । यो विशेष वर्ष हो, सबैले त्याग गरेर पूर्ण रुपमा नयाँ परिवेशलाई स्वीकार गर्नु पर्छ ।’

नोबेल विक भनिने विशेष भोजसहितको समारोह परम्परागत रुपमा डिसेम्बरमा हुने गरेको छ । पुरस्कार विजेताहरुले आफ्नो धारणा राख्ने तथा उनीहरुलाई पुरस्कार प्रदान गरिने गरिन्छ ।

सो भव्य भोजसहितको समारोह स्टकहोमको सिटीमा हलमा हुन्छ । त्यहाँ विजेतासहित स्वीडिस राजपरिवार तथा १३ सयको हाराहारीमा पाहुना सामेल हुन्छन्, उनीहरुलाई मल्टी–कोर्ष डिनर तथा मनोरञ्जन प्रदान गरिन्छ । तर यो वर्ष सो भोजसहितको समारोह नहुने भएको हो ।

साउन ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्