भूगोल, इतिहास र संस्कृति

विवेकशील देशले प्रथम आफ्नो भुगोल शुद्ध र सर्वाङ्गीण बनाउनुपर्छ। अनि इतिहासको मौलिक अनुसन्धान गरेर तथ्य सर्वाङ्गपूर्ण प्रकाश गर्नुपर्छ। भूगोल र इतिहासका शुद्ध दुवै  उच्च लक्ष ताकेर प्रगतिपथमा लम्कनुपर्छ। सभ्य राष्ट्रको यो पावन कर्तव्य हो।

तर कतिपय शताब्दीदेखि हामीले आफूलाई बिर्सन थालेका थियौँ र अझै ब्युँझेका छैनौँ। भूगोल र इतिहास त परै रहून्। मानचित्रसम्म शुद्धयाउन सकिएको छैन। अरुले जे जस्तो बनाइदिए, उसैमा मख्ख परेका छौँ। हाम्रो पनि केही कर्तव्य छ भन्‍ने चेतना र आत्मविश्वास छैन।

देशका मानचित्रमा सामान्यतया वाञ्छनीय लमाइ चक्लाइ, उचाइ निचाइ, पर्वत, नदी, खोला नाला, वन, गाउँ, बाँझो, बुतो, जल वायु प्रकृति प्रभृति प्रत्येक कुराको यथार्थ चित्रण हुनु त कता गयो कता, ठूलठूला भूल भएका छन्।

सबै सुधारका लागि प्रथम स्वदेशी आँखाले सर्वेक्षण हुनुपर्छ। यो काम प्रशासनको अग्रसरत्वमा पञ्चायतको र स्थानीय जनताको ममत्वपूर्ण सहयोगले हुनुपर्छ। अनि जिल्ला जिल्लाको जातीय खनिज कृषि प्रभृति दृष्टिकोणले सर्वाङगपूर्ण भूगोल पाठ्यक्रममा आउनुपर्छ। अनि मात्र भूगोलका भूमिकामाथि इतिहासको भवन बद्धमूल हुन्छ।

इतिहास पनि आफ्नै देशका कुना काप्चा र भूगर्भको गम्भीर अनुसन्धान नगरी असम्पूर्ण भ्रान्त र कुटदृष्टिबाट विदेशीहरुले लेखेका इतिहास भनाउँदा उपन्यासलाई विदेशी चश्माले नै हेरेर उल्था गरेका शुद्ध र सर्वाङ्गीण कदापि हुन सक्तैनन्।

यस निमित्त हामीले मेचीदेखि महाकाली, मुस्ताङदेखि लुम्बिनीसम्म मात्र होइन, तिष्टाबाट काङ्डा र गङगादेखि दिगर्चासम्मको ऐतिहासिक सर्वेक्षण र सुदूर विदेश पुगेका ऐतिहासिक सामग्रीको सङग्रह गरेर आफ्नै मस्तिष्कले आफ्नै लिपी भाषामा आफ्नैपनले लेखिसकेपछि यस विषयमा विदेशीहरुले के कस्तो किन भनेका छन्? भनेर अनि आलोचना गर्नुपर्छ। यस्को नाम हो राष्ट्रिय दृष्टिकोण। नाममात्रले राष्ट्रिय हुन सक्तैन। नाम पनि हुनुपर्छ तर नामका साथ साथै काम पनि राष्ट्रिय हुनुपर्छ। बाहिर-बाहिर थाको जा, भित्रभित्र पाको जा भनेर कुनै काम राष्ट्रहितकारी हुँदैन।

जुन राष्ट्रको इतिहास विशुद्ध निष्पक्ष भूतार्थवादी सर्वाङ्गीण र राष्ट्रिय छैन, त्यसले सिंहावलोकन गरेर प्रगतिपथमा अग्रसर हुन सक्तैन। कुनै विकास गर्न सक्तैन। सभ्य संसारका सभामा मन्टो ठाडो गरेर आत्मपरिचय दिनै सक्तैन।आजसम्म प्रकाशनमा आएका कुनै इतिहासाभासलाई कुनै पनि अनुसन्धानशील सच्चा इतिहासका विद्यार्थीले इतिहास भन्न सक्तैन।

राष्ट्रलाई अङ्गपूर्ण इतिहासको र उस्तै भूगोलको खाँचो थियो र छ, रहने पनि छ। यो महान कार्य केवल शासनबाट अथवा जनताबाट पूरा हुन सक्तैन। यसमा शिक्षा विभाग, पुरातत्व विभाग, त्रिभुवन विश्वविद्यालय, पुस्तकालयहरु, परराष्ट्र विभाग, ऐतिहासिक विद्धानहरु, इतिहासका विद्यार्थीहरु र समस्त पञ्च जनताको सङ्घीभूत सक्रिय सहयोग हुनुपर्छ।

राष्ट्रिय प्राथमिक पाठशालादेखि विश्वविद्यालय सम्मको पाठ्यक्रम कोष व्याकरण, साहित्य, विज्ञान, प्रभृति झैँ इतिहास र भूगोल पनि आफ्नै लिपी भाषामा आफ्नैपनले प्रस्तुत गर्नुपर्छ। यो महान कार्य पनि २/४ अड्डा मात्र गरेर परिपूर्ण र छिटो हुन सक्तैन। गाउँगाउँको इतिहास, भूगोल, प्रत्येक गाउँ पञ्चायतलाई नै लेख्न दिनुपर्छ र निर्देशन राष्ट्रिय पञ्चायतले दिनुपर्छ।

सबै प्रकार राजकीय सहयोग दिनुपर्छ। अशेष सामग्री आइसकेपछि अनुसन्धान समिति संशोधन समितिले देशमा कुना–कुनामा घुमेर संशुद्ध गरीकन सम्पादन समितिद्वारा सम्पादित भइ शुद्धतया प्रकाशन पनि त्रिभुवन विश्वविद्यालयबाट हुनुपर्छ। प्रायः प्रत्येक समिति अर्धसरकारी हुनुपर्छ र मपाइँ बनेर अघि नसरेर कुना काप्चामा चुप लागी बसेका योग्य लेखकहरुलाई पनि खोजेर निम्त्याउनुपर्छ। प्रोत्साहन दिनुपर्छ। प्रतियोगितामा राख्नुपर्छ। प्रत्येक दृष्टिकोणबाट सर्वप्रथम हुनेलाई स्थायी राष्ट्रसेवामा नियुक्त गर्नुपर्छ।

जुन राष्ट्रको इतिहास विशुद्ध निष्पक्ष भूतार्थवादी सर्वाङ्गीण र राष्ट्रिय छैन, त्यसले सिंहावलोकन गरेर प्रगतिपथमा अग्रसर हुन सक्तैन। कुनै विकास गर्न सक्तैन। सभ्य संसारका सभामा मन्टो ठाडो गरेर आत्मपरिचय दिनै सक्तैन।आजसम्म प्रकाशनमा आएका कुनै इतिहासाभासलाई कुनै पनि अनुसन्धानशील सच्चा इतिहासका विद्यार्थीले इतिहास भन्न सक्तैन।

अनि योग्य व्यक्तिहरु कर्मक्षेत्रमा देखा पर्छन् र सबै काम राम्रा हुँदै जान्छन्। एवं प्रत्येक विषयको शिक्षा र राष्ट्रियभाषा र संस्कृत माध्यमद्वारा दिनुपर्छ। विदेशीभाषाबाट सफल अनुवाद गर्ने विद्धानहरुलाई पनि उक्त प्रोत्साहन दिनुपर्छ। अनि मात्र सच्चा राष्ट्रिय शिक्षा र सांस्कृतिक विकाशका जगमा देशविदेश होला। प्रत्येक विकासमा उक्त प्रकाशका इतिहास र भूगोलको प्रमुख सहयोग रहन्छ।

प्रत्येक विकास जिल्लाको सचित्र भूगोल र इतिहास पृथकपृथक साना साना अल्पमूल्य तर वस्तुस्थितिले बहुमूल्य पुस्तक छापेर स्थानीय प्राथमिक विद्यार्थीहरुमा शिक्षा दिनुपर्छ र क्रमश: सम्पूर्ण राष्ट्रका इतिहास, भूगोल पढाइसकेपछि मात्र विदेशी इतिहास, भूगोल पढाउनु पर्छ। यस क्रमले बालक बालिकाहरुका कोमल हृदयपलटमा राष्ट्रिय स‌ंस्कृति बद्धमूल भइसकेपछि अरु देश जातिका सँस्कृतिले विकृति ल्याउन पाउँदैन।

उक्त विशुद्ध सर्वाङ्गीण इतिहास र भूगोल राष्ट्रभाषाजननी निर्विकार चिरस्थायी सँस्कृतभाषामा पनि लेखिनुपर्छ।किनभने ‘पुरुषविद्यानित्यवात् कर्मसम्पत्तिर्मन्त्रो वेदे’। वैदिक कालदेखि रामायण महाभारत प्रभृति इतिहास संस्कृतमा लेखिएकाले आज पनि छर्लङ्ग बुझिन्छन्। तर अपभ्रंश भाषाहरु परिवर्तनशील हुनाले पृथ्वी मल्लले लेखाएका कनक पत्रहरु, स्थितिमल्लले लेखाएका गोपालवशांवली, पृथ्वीनारायणले लेखाएका दिव्योपदेश पनि आज बुझ्न कठिन भइसक्यो। अत: भावी सन्तानलाई ऐतिहासिक सम्पत्ति सुरक्षित राखी जान संस्कृतमा पनि लेख्नैपर्छ।

किन्तु दु:ख लाग्दो कुरो के छ कि त्रिभुवन विश्वविद्यालय प्रमुख शिक्षा केन्द्रहरुमा सँस्कृत, सँस्कृति प्रभृतिप्रति औदासिन्य देखिन्छ। ने.भा.प्र.स.र ने. एकेडेमी जस्ता महाविद्धत्‌परिषद्‌मा  पनि इतिहास भूगोल प्रति निश्चिन्तता देखिन्छ। इतिहास भूगोलको यौटा विशिष्ट विभागै हुनु पर्ने ठाउँमा यो उपेक्षा डरलाग्दो समस्या हो। यस जटिल समस्याको पूर्ति हुनै पर्छ।

हाम्रो इतिहास, संस्कृति पनि मौलिकता पूर्ण छ, तर संकिताबद्ध छैन। लोकव्यवहारमा निहित छ, अनुसन्धान गरी प्रकाशमा ल्याउनु पर्छ र पाठ्यक्रममा राख्नु पर्छ।

(योगी नरहरिनाथले २०२० साल भदौ २९ गते  गरेको यो रचना अहिले सान्दर्भिक हुने ठानेर प्रकाशित गरेका छौँ। यो सामग्री हामीलाई योगी नरहरिनाथ स्मृति पुस्तकालयबाट प्राप्त भएको हो।)

साउन ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्