एकै दिन डुबेर झापामा तीनजनाको मृत्यु

झापा – झापामा एकैदिन बुधबार डुबेर एक बालकसहित तीनजनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन्।

बुधबार राति ८ बजेको समयमा भद्रपुर नगरपालिका २ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ सोही ठाउँको नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला परेका थिए।

दिउँसो २ बजेतिर घरबाट खेल्न निस्केकोमा हालसम्म घर नफर्किएकाले खोजी गर्नेक्रममा सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला पारिएको थियो ।

उनीसँगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामी बेपत्ता भएका छन् ।

राति २ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।

बिहीबार बिहानदेखि पुनः खोजी सुरु गरिएको जनाइएको छ ।

त्यस्तै बुधबार साँझ ५।३० बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका ५ बस्ने ४५ वर्षीय राम केरुङ मृत फेला परेका छन् ।

खोलाले बगाएर ल्याएको घोप्टो परेको अवस्थामा उनको लाश फेला परेको थियो । बुधबार बिहान दमक बजारबाट घर फर्कने क्रममा रतुवा खोला तर्दा उनलाई बगाएको थियो ।

बुधबार साँझ ७ बजे झापा गाउँपालिका ६ झाक्री चक्रमारी बस्ने ६५ वर्षीया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन्।

निगुरो टिपेर फर्कने क्रममा विगतदेखि लागेको छारे रोगले च्यापेपछि खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

यस वर्ष वर्षायाम सुरु भएयता पानीमा डुबेर जिल्लामा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने दुईजना बेपत्ता रहेका छन् ।

साउन ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्