सामाजिक अन्यायमा अपाङ्गता भएका व्यक्ति

परिवारमा अपाङ्गता भएको सदस्य हुनु भनेको परिवारलाई कुनै न कुनै किसिमले चिन्तित बनाउनु हो । हाम्रो सामाजिक परिवेश अपाङ्गतामैत्री वातावरणको अभाव र अपाङ्गहरू प्रति राखिँदै आएको अवधारणागत चिन्तन आदिका कारण अपाङ्गता समाजको आँखामा अपहेलित हुन पुगेको हो । विद्यमान एक्काइसौं शताब्दिमा आइपुग्दा पनि अपाङ्गता पूर्वजन्मको पाप वा पुर्खाले गरेको अपराधको परिणामकै रूपमा हेरिनु सो समाजको पछौटेपन हो । सकेसम्म परिवारमा कोही अपाङ्गता भएको सदस्य नजन्मियोस् यदि अपाङ्गता भएको व्यक्ति जन्मियो भने त्यसलाई मानवीय व्यवहारमा कुनै किसिमको कमि गराइनु हुँदैन । संसार मानव अधिकारका दृष्टिमा धेरै अगाडि पुगिसकेको छ तर अपाङ्गता भएका व्यक्तिहरूलाई यसो भनियो भने सायद उनिहरूले आफूलाई गिज्याएको जस्तो महशुस गर्ने अवस्था होला। केही परिवारहरू छोडेर अन्य धेरै परिवारमा अपाङ्गताभएका व्यक्तिहरूलाई हेरिने दृष्टिकोण अझै निकै पुरातनवादी नै छ । घरमा अपाङ्गता भएको व्यक्ति छ भने उलाई गरिने व्यवहार देखावटी रुपमा एक थरी हुन्छ र वास्तविक रुपमा अर्कै हुन्छ । यो हाम्रो समाजको यथार्थ हो । हामी शिक्षित छौं । हामीले आफूलाई समाजको गन्यमान्य व्यक्तिका रूपमा चित्रण गर्न चाहन्छौं तर घरमा अपाङ्गता भएको व्यक्ति छ भने उसलाई पासविक व्यवहार गरिरहेका हुन्छौं । आम समुदायले हामीलाई कस्तो दृष्टिकोणले हेरेको छ सो बारेमा सोँच्नेसम्म फुर्सद छैन हामीलाई । आत्म प्रसंशाले मख्ख पर्दै समाजमा ठूला कुरा गर्नेहरूका घरमा गयो र उनिहरूका अपाङ्गता भएका सन्तानको हालत हेरियो भने मात्रथाहा हुन्छ कि यो परिवार कस्तो हो ।

एउटा परिवारमा एकजना अपाङ्गता भएको व्यक्ति छ भने उसको त्यो प्राकृतिक कमजोरीको दुरुपयोग गर्दै नाजायज फाइदा लिन खोज्नु सामाजिक अपराध हो । हाम्रो समाजमा यस्ता घटनाहरू बारम्बार दोहोरिइरहेका हुन्छन् । परिवारमा रहेको अपाङ्गता भएको सदस्यप्रति ओंठे सहानुभूति प्रदर्शन गर्दै सो वापत अन्य कुराहरूमा नाजायज फाइदा लिने गरेको सत्य पनि समाजमा छिपेको छैन । अपाङ्गता भएको व्यक्तिलाई राम्रोसँग खानलाउन समेत नदिने उचित र मर्यादित व्यवहार नगर्ने तर उसलाई देखाएर समाजबाट विभिन्न लाभ लिने र आफ्नो स्वार्थ सिद्ध गर्ने जस्ता कार्यहरू दिनानुदिन दोहोरिइरहेका छन् । यो समस्या भनेको जो रक्षक, उही भक्षक बने पछि हुने प्रमुख समस्या हो । घरमूलीबाट नै अपाङ्गता भएको व्यक्ति अन्याय पर्नु वा ठगिनु अथवा समाजको नाइकेले आफ्नो शक्तिदुरुपयोग गरी नाना जालप्रपन्च रची प्रलोभनमा पारी वा विभिन्न आर्थिक लोभ देखाइ गरिने अन्यायपूर्ण व्यवहार समाज विकासका अवरोधक हुन् । यस्ता कुतत्वहरूलाई समयमै चिनेर सामाजिक बहिष्करणसम्मको सजाय दिइनु पर्छ ।

अपाङ्गता हुनु व्यक्तिको काबु भित्रको कुरा होइन । त्यसैले अपाङ्गतालाई इस्यु बनाई कसैले दुर्व्यवहार गर्न खोज्छ भने त्यो दण्डनीय अपराध हो । हामीले हाम्रो समाजमा कस्ता व्यक्तिहरू पनि देखेका छौं भने अपाङ्गता भएका सन्तानको अपाङ्ग परिचय पत्र बनाइदिने र सोबाट आउने अपाङ्ग भत्ता आफूले खर्च गरिदिने तर अंश वा अन्य हकहरू प्रदान गर्नु पर्छ भनी नागरिकता भने नबनाइदिने । यस्ता कुकृत्य गर्नेहरू पनि समाजका अभिन्न अङ्ग बनेका छन् । विशेष गरी समाजमा सामाजिक अपराध गर्नेहरू एक्लै हुँदैनन । उनिहरू ठूलो शक्तिका आडमा त्यसो गरिरहेका हुन्छन् । अपाङ्गपन व्यक्ति कसैले चाहेको हुँदैन । नचाहँदा नचाहँदे पनि अपाङ्गता हुन जान्छ । संसारका जतिसुकै विकसित मुलुकहरूमा पनि अपाङ्गता निरोध हुन सकेको छैन । बिश्वले जति लगानी गरे पनि अपाङ्गता भएका बालबालिकाहरू जन्मने प्रक्रिया रोकिन सकेको छैन ।यस क्षेत्रमा धेरै लगानी गर्ने मुलुकहरूमा अपाङ्गता भएका व्यक्तिहरू जन्मने जन्मदरमा कमि आएको छ । जुन देश अति गरिब छ त्यसदेशमा अपाङ्गताको प्रतिशत पनि उत्तीनै बढि रहेको हुन्छ । जहाँ अशिक्षा अज्ञानता र भभावको मात्रा बढिहुन्छ त्यहाँ अपाङ्गताको मात्रा पनि बढि रहेको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेकाछन् । अपाङ्गता र गरिबी एक अर्काका परिपुरक हुन् । यसो भनीरहँदा धनिहरूका घरपरिवारमा अपाङ्गता हुँदै नहुने भन्ने होइन तर कमि हुन सक्छ । यदि सचेतना अपनाइयो भने आमाको गर्भावस्थाबाट शुरूहुने जोखिम जति गरिब परिवारमा बढि हुन्छ त्यति धनि परिवारमा हुँदैन ।

हाम्रो समाज अपाङ्गताका दृष्टिले धेरै नै पछौटे अवस्थाबाट गुज्रिरहेको छ । यहँका कैयौं अपाङ्गता भएका व्यक्तिहरू न्यूनतम आधारभूत आवश्यकताबाट पनि बन्चित छन् । गास बास कपास शिक्षा स्वास्थ्य रोजगार जस्ता अतिनै न्यूनतम आधारभूत पक्षहरू पनि उनिहरूले प्राप्त गर्न सकेका छैनन् । हाम्रो सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई केही भत्ता दिएर सामान्य जीविकोपार्जनमा सहयोग गर्न खोजेको छ । तर त्यस्तो रकम परिवारका संरक्षक वा सदस्यहरूले आफू खुशि खर्च गर्ने अझै भनौं दुरुपयोग गर्ने तर सो अपाङ्गता भएको व्यक्तिलाई न्यूनतम मानवीय व्यवहारसम्म नगर्ने गरेको अवस्था पनि छ । विभिन्न अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गर्दा अपाङ्गता भएका पुरूषको तुलनामा महिला धेरै गुणाले पीडित गराइएका छन् । शोषण विरुद्धकोहक हाम्रो संविधानले मौलिक हककै रुपमा स्थापित गरेको भए पनि अपाङ्गता भएका व्यक्तिहरू घरपरिवारका सदस्यहरूबाट प्रताडित र शोषित छन् । उनिहरूको यो दुर्दशा देखेर पनि समाज मौन प्राय छ किनभने समाजले पनि निमुखाभन्दा बलिया(बाङ्गाहरूकै पक्ष बढि लिने गरेको पाइन्छ ।

विचरोरुपमा रहेको विभिन्न अन्यायबाट पीडित अपाङ्गता भएको व्यक्तिले सहजरुपमा न्यायमा पहुँच राख्न सकेको हुँदैन। उसका पक्षमा बोल्ने समाज र यसको नेतृत्वदायी व्यक्तिहरू पनि हुँदैनन्। हरेक व्यक्ति वाह्य शोषणबाटभन्दा आन्तरिक अन्यायबाट बढि पीडित हुने गर्छ । अव्यक्त पीडाबाट ग्रसित व्यक्तिमानसिक रुपमा पनि धेरै कमजोर हुन्छ व्यक्तिको व्यक्तित्व विकासका लागि चाहिने न्यूनतम र आधारभूत आवश्यकताका कुराहरू पनि उसले पाएको हुँदैन । अपाङ्गता भएका व्यक्तिहरूलाई त्यस्ता परिवारमा बाहिरबाट देख्दा राम्रो देखिने तर वास्तविक भोगाई निकै कठिन हुन्छ । अन्यायका विरुद्ध आवाज उठाउन नसक्ने व्यक्तिहरूको कमजोरीको दुरुपयोग हुने अवस्था यस्तैयस्तै नै हुन्छन् । अपाङ्गता भएका सन्तानहरूको पालनपोषणका रुपमा विभिन्न खर्चभएको देखाउने र समाज तथा राज्यका विभिन्न निकायबाट प्राप्तहुने सुविधाहरू आफूले प्रयोग गरिदिने र धेरै परिवारमा अपाङ्गता भएको व्यक्तिलाई सो बारेमा कुनै जानकारी नै नदिने अवस्था रहेको पाइएको छ ।

एउटा परिवारमा एकजना अपाङ्गता भएको व्यक्ति छ भने उसको त्यो प्राकृतिक कमजोरीको दुरुपयोग गर्दै नाजायज फाइदा लिन खोज्नु सामाजिक अपराध हो । हाम्रो समाजमा यस्ता घटनाहरू बारम्बार दोहोरिइरहेका हुन्छन् । परिवारमा रहेको अपाङ्गता भएको सदस्यप्रति ओंठे सहानुभूति प्रदर्शन गर्दै सो वापत अन्य कुराहरूमा नाजायज फाइदा लिने गरेको सत्य पनि समाजमा छिपेको छैन ।

ठूलारुखको ‌ओत लाग्यो भने एक तहरो पानी पनि ‌ओत्छ भन्ने उखानलाई त्यस किसिमका परिवारले प्रयोग गर्दै आएको पाइन्छ । गाउँमा ठूलाबढा भनिने व्यक्तिहरूको छत्रछायाँमा छेकिएर आफ्नै अपाङ्गता भएका सन्तानहरू प्रति अन्याय गर्दै आएका व्यक्तिहरूले गर्दा समाजमा विकृति बढ्दै गएको छ । मध्यम वर्गीय परिवारका अपाङ्गता भएका व्यक्तिहरू यस प्रकारका अन्यायबाट बढि पीडित रहेका छन् । अपाङ्गता भएका व्यक्तिहरूले आफ्नै संरक्षकबाट शोषणमा परेको आवाज उठाउन सक्ने अवस्था पनि छैन । जेनतेन बाँचिरहेको जीवन अझ जोखिममा पर्न सक्ने हुनाले त्यसखाले अव्यक्त पीडाका विरुद्ध कुनै निकायमा बोल्न सकिने अवस्था हुँदैन । बिहान बेलुकाको जोहो र रात बिताउने स्थान समेत गुम्ने खतराका कारण चरम अन्याय हुँदाहुँदै पनि सहन बाध्य भएका हुन्छन् । भन्न त अन्याय गर्नुभन्दा सहनु ठूलो अपराध हो भनिन्छ तर के गर्ने अन्यायका विरुद्ध बोलियो भने त्यसमा साथ दिने कुनै पक्ष पनि हुदैन । जसले अन्याय गरेको छ त्यो नै समाजको सहानुभूतिको पात्र बनेर रहेको हुन्छ ।

सर्वप्रथम परिवारले रक्षा गरिनु पर्ने अपाङ्गता भएको व्यक्ति सोहि परिवारबाटै ठगिँदा उसको अन्यायको उपचार कुन निकायले दिने? विकसित मुलुकहरूमा भए त राज्यले संरक्षण प्रदान गर्न सक्ला हाम्रो जस्तो मुलुकमा त्यस्ता कुराहरूको अपेक्षा गरियो भने हास्यास्पद मात्र हुनेछ । आम नागरिकहरूलाई सुरक्षा प्रदान गर्न नसक्ने राज्यबाट अपाङ्गता भएका व्यक्तिहरूले ठुला ठूला अपेक्षा राखे भने के होला सोँचनीय कुरा हो ।

हाम्रो समाजमा साङ्ग र अपाङ्गता भएका सन्तानहरूलाई गरिने फरक व्यवहार अनौठा किसिमका हुन्छन् । उदाहरणका लागि एउटा परिवारमा दुई छोरा एउटा साङ्ग र एउटा अपाङ्गता भएको छन् भने शिक्षा दिने बेला अपाङ्गता भएका सन्तानलाई साङ्ग सरहको विद्यालयमा पठन पाठनको व्यवस्था मिलाइएको हुँदैन । उसलाई कसैले च्यारिटीमा सन्चालन गरेको शिक्षण संस्था जहाँ कुनै आर्थिक व्ययभार पर्दैन त्यसखाले ठाउँ खोज्दै हिँडिन्छ । तर साङ्ग सन्तानलाई भने भरमग्दुर लगानी गर्न कसैको सहयोगको अपेक्षा गरिएको हुँदैन । अर्को तर्फ हेर्दा आफ्ना बाबुले साङ्ग र अपाङ्गता भएको दुई सन्तानको नाम एउटै राखिदिने र पछि आफ्नो सम्पत्ती हस्तान्तरण गर्दा साङ्गलाई मात्र दिने अनि कुनै निकायमा उजुर परिहालेमा दुबैको नाम एउटै हुनाले अपाङ्गता भएकालाई सम्पत्ती दिइएको छ भनी दावि गर्ने समेतको अन्याय गरेका उदाहरणहरू पनि छन् । यसरी नियोजित रुपमै घरपरिवारबाट वा बाबु आमाबाटै ठगिएका अपाङ्गता भएका व्यक्तिलाई कसले न्याय दिन्छ त रु यो गम्भीर कुरा हो । समाजमा जसको आवाज छैन त्यस्ता व्यक्तिहरूको शोषणमा समाजका अगुवा भनाउँदाहरू पनि संलग्न रहने गरेका हुन्छन् । राज्यबाट प्राप्त हुने सुविधाहरूलाई पनि मैले दिलाइदिएको हुँ भनी त्यस्तो परिवारबाट नाजायज फाइदा लिने समेत गरेका उदाहरणहरू पनि प्रसस्त छन् । राज्य संयन्त्र कमजोर हु,नु राज्यका विभिन्न निकायहरूमा त्यस्ता व्यक्तिहरूकै पहुँच र बोलवाला कायम रहनु जस्ता कारणले गर्दा समाजमा व्याप्त अत्याचारको अन्त्य हुन नसकेको हो ।

राज्यको कमजोर उपस्थिति, केही भ्रष्ट मानसिकताका कर्मचारी वा राज्यका प्रतिनिधिहरूको ठालुवादि सामाजिक चिन्तन जस्ता कुराले गर्दा हाम्रो जस्तो देशमा अपाङ्गता भएका व्यक्तिहरू सधैजसो अन्यायमै बाँचिरहन बाध्य छन् । राज्य यदि लोककल्याणकारी बन्ने हो भने त्यस्ता अन्यायहरूको अन्त्य गरिनु पर्छ । अपाङ्गता भएका व्यक्तिहरू जुन परिवारमा अन्यायपूर्ण जीवन बिताउन बाध्य पारिएका छन् । उनिहरूलाई त्यस प्रकारका अन्याय र अत्याचारबाट उन्मुक्ति दिलाइनु पर्छ । समाजको नेतृत्व गरेका व्यक्तिहरू पनि ठालुहरूको पक्षमा मात्र बोल्ने प्रवृत्तीको अन्त हुनु पर्छ । घरपरिवारबाट यदि कोही अपाङ्गता भएको व्यक्ति पीडित छ भन्ने लागेमा समाजले त्यसका विरूद्ध बोलिदिनु पर्छ । राज्यले यस्तो अन्यायका विरुद्ध सशक्त कार्वाहीको व्यवस्था समेत गर्नु पर्छ । अपाङ्गता भएका व्यक्तिले आफू अन्याय परेको कुरा सहजरुपमा राख्न सक्ने निकायको व्यवस्था राज्यले गर्नु पर्छ । यसरी सबैभन्दा नजिकबाट ठगिने प्रवृत्तीको अन्त्य जबसम्म राज्य र समाजबाट गर्न सकिन्न तबसम्म लोककल्याणकारी राज्यव्यवस्थाको परिकल्पना पनिगर्न सकिँदैन ।

साउन ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्