सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोरोनाको जोखिम उच्च

काठमाडौँ– तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको अम्मली त हुनुहुन्न नि? यदि हुनुहुन्छ भने बेलैमा सचेत रहनुहोस्। हाल विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट धुम्रपान र सुर्तीजन्य पदार्थ  गर्ने मानिसलाई बढी जोखिममा पार्ने देखिएको छ।

सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई कोरोना संक्रमणको जोखिम अत्यधिक देखिएको विभिन्न देशमा गरिएका अनुसन्धानले देखाएको छ। सूर्तिजन्य पदार्थ सेवनकर्तामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएका कारण त्यस्ता व्यक्तिहरुलाई कोरोना भाइरसले सहजै आक्रमण गर्न सक्ने ‘युरोपियन युनियन हेल्थ एजेन्सी’को रिपोर्टमा उल्लेख गरिएको छ।

उक्त रिपोर्टमा भनिएको छ, ‘धुम्रपान गर्ने व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएपछि अन्य व्यक्तिको तुलनामा निको हुने सम्भावना निकै कम हुन्छ।’ धुम्रपान गर्ने व्यक्तिहरुको फोक्सोमा इन्जाइम सक्रिय हुने भएका कारण कोभिड–१९ को संक्रमणको जोखिम उच्च हुने चिकित्सकहरूले बताएका छन्।

कोभिड–१९ को संक्रमण फैलिँदै गर्दा विश्वका विभिन्न देशहरुले यसबारे अनुसन्धान गरिरहेका छन्। यस्तै, संक्रमण फैलिएका कतिपय देशमा गरिएका अध्ययन अनुसार कोरोना भाइरसको संक्रमण सूर्तिजन्य पदार्थ सेवनकर्तामा उच्च देखिएको छ।

चीनमा गरिएको एक अध्ययनमा धेरै धुम्रपान गर्ने व्यक्तिमा संक्रमण उच्च देखिएको थियो। चीनमा अंधिकाश व्यक्तिले धुम्रपान गर्ने गरेको उक्त अनुसन्धानमा बताइएको छ।

धुम्रपान गर्ने व्यक्तिको फोक्सो कमजोर हुने भएका कारण त्यस्ता व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बमले बताए।

उनले भने,‘कोरोना भाइरसको संक्रमणले सिधै फोक्सोमा असर गर्छ। यो रोगले छाती, स्वास प्रश्वासमा समस्या देखिन्छ। धुम्रपान गर्ने व्यक्तिको फोक्सो कमजोर हुने भएका कारण उनीहरू संक्रमणको उच्च जोखिममा हुन्छन्।

धुम्रपान वा सुर्तीजन्य पदार्थहरु सेवन गर्ने व्यक्तिहरु संक्रमित भए धेरै मानवीय क्षति हुने आईसियु वा भेन्टिलेटर भर्ना हुने सम्भावना पनि धेरै हुन्छ।’

यस्तै, विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको प्रतिवेदन अनुसार कोभिड–१९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा बढी देखिएको छ। दिर्घ रोगी, नसर्ने रोगका बिरामीहरूमा कोभिड–१९ संक्रमणको जोखिम उच्च हुनुका साथै उनीहरू संक्रमित भएपछि गम्भीर समस्या देखा पर्ने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले बताए।

‘सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिको फोक्सो पहिले नै कमजोर भइसकेको हुन्छ । उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुँदै गएको हुन्छ। त्यसैले पनि संक्रमणको सम्भावना बढी हुन्छ,’ डा. भट्टराईले भने, ‘यस्तै मुटुका रोगीहरूलाई केही गरी संक्रमण भइहाल्यो भने तुलनात्मक रूपमा उनीहरूलाई खतरा पनि बढी हुन्छ।’

‘लामो समयदेखि औषधिको प्रयोग गरिरहेका व्यक्ति, मुटुको शल्यक्रिया गरिएका व्यक्तिलाई संक्रमण भयो भने उनीहरूको ‘हर्ट फेल’हुने, मुटुको चाल गडबड हुने जस्ता विभिन्न समस्या देखिएर मृत्यु समेत हुन सक्छ। संसारभर यस्ता व्यक्तिको मृत्यु धेरै छ भनेर देखाइसकेको छ’, उनले थपे।

चिकित्सा सम्बन्धी ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित अनुसन्धानका अनुसार कोभिड–१९ को गम्भीर लक्षणहरू धुम्रपान तथा मद्यपानको सेवन नगर्ने व्यक्तिको तुलनामा धुम्रपान तथा मद्यपान गर्नेहरुमा २.४ गुणाले बढी हुने उल्लेख छ।

विश्वमा जस्तै नेपालमा पनि सूर्तिजन्य पदार्थ तथा धुम्रपान गर्नेहरुको संख्या उच्च रहेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘नसर्ने रोग सम्बन्धी जोखिम तत्व सर्वेक्षण’ले २८.९ प्रतिशत व्यक्तिले चुरोट तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेकोे देखाएको छ। जसमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन्।

चुरोट सेवन गर्नेको संख्या १७.१ प्रतिशत छ भने धुँवारहित सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या १८.३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ। त्यस्तै नेपालमा हरेक वर्ष करिब २७ हजार एक सय ३७ जनाकोे मृत्यु धुम्रपानका कारण हुने गरेको नेपालका लागि विश्व स्वास्थ्य संगठनको नेपाल फ्याक्ट सिट–१८ मा उल्लेख गरिएको छ।

पछिल्लो समय विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमण हावाबाट पनि सर्न सक्ने भन्दै गर्दा चुरोट सेवन गर्ने व्यक्तिले फ्याक्ने गरेको धुँवाबाट संक्रमण सर्ने सम्भावना उच्च रहेको इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासीनीले बताए।

डा. मरासीनीले भने,‘चुरोटको धुँवा फाल्दा ड्रप्लेटहरू निस्कन सक्छन्, चुरोट सेवन गरिरहेको व्यक्ति संक्रमित भए अन्य व्यक्तिमा सर्ने सम्भावना धेरै हुन्छ। अहिले ‘एअर वन’ भनिरहेका बेला ‘ड्रप्लेट’ हावामा तैरिएर अर्को व्यक्तिको नाकमा पस्न सक्छ। खुला ठाउँमा फेरि यो कुरा सम्भव हुँदैन तर कोठाभित्र भने सम्भावना उच्च रहन्छ।’

साउन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्