सुखको मापक के हो ?

यो प्रश्न झट्ट हेर्दा सजिलो जस्तो लागेपनि अलि गहिरो नै रहेछ ।

हामी सबैले साथीभाइ, परिवारसँग भेटघाट गर्छौं, रमाइलो गर्छौं, राम्रा लुगा, गहना चाहन्छौं, मिठो भोजन खोज्छौँ किन ? धेरैको उत्तर आउँछ खुशी हुन । खुशी के हो ?

अनि सुख नि ? के अंग्रेजी शब्दको Happy ले खुशी, सुख, आनन्द आदि सबै भावनाहरुलाई समेट्छ ?

खुशी प्राय हाम्रा ज्ञानेन्द्रिय (स्वाद, स्पर्श, श्रवण, हेराइ, सुनाइ) ले दिने क्षणिक रमाइलो हुने रहेछ भने यी या अन्य विविध कारणवश जस्तो सफलता, इच्छा पूर्ति आदिले दिने सन्तुष्टि सहितको रमाइलोलाई सुख भन्दा बुझ्न सजिलो हुने रहेछ ।

अनि सुख हाम्रो शरीरको कुन भागले अनुभव गर्छ ? सुख किन अनुभव हुन्छ ? यस्ता प्रश्नहरुको उत्तर जान्न सके सुखी हुन सकिएला नि भन्ने कौतुहल हुनु स्वाभाविक लाग्छ मलाई ।

आफ्नो चिकित्सकीय ज्ञानको प्रयोग गर्दै यो बिषयलाई थप प्रष्ट पार्न चाहन्छु । २ मिलियन बर्षमा बिकासक्रम (Evolution) मा मानिस सबै भन्दा उत्कृष्ट प्राणीको रुपमा विकास भएको छ । मानिसको जस्तो बुद्धिको बिकास अन्य प्राणिमा भएको छैन, भलै मानिसले त्यो बुद्धिको सदुपयोग मात्र नगरेर व्यापक दुरुपयोग समेत गरेको छ । बिकासक्रममा मानिसको दिमागको वजन डेढ पाउण्डबाट झण्डै दोब्बर अर्थात् करीब ३ पाउण्ड भएको छ ।

हाम्रो दिमागका मुख्यतया ३ भाग छन् । ठूलो दिमाग (सेरेब्रम), सानो दिमाग (सेरेबेलम) र यी दुइलाई जोड्ने बिचको दिमाग (मिडब्रेन) –

सेरेब्रमले हाम्रा इन्द्रियहरुबाट ज्ञान हासिल गर्दै तिनलाई नियन्त्रण गर्ने काम गर्छ । यसले हाम्रो बोली, सुनाई, सिकाई, सम्बेदना र हातका मिहिन चालहरुलाई लगायत अन्य धेरै कुरालाई नियन्त्रण गरेको हुन्छ ।

सेरेबेलमको मुख्य काम हाम्रो चाल र सन्तुलनलाई नियन्त्रण गर्ने हो । मिडब्रेनले सेरेब्रम र सेरेबेलमलाई हाम्रो मेरुदण्ड (स्पाइनल कर्ड) संग जोड्छ ।

मोटामोटी रुपमा सेरेब्रमलाई २ भागमा बाँडिएको हुन्छ – दाहिने र देब्रे । दाहिने भागले मानिसको रचनात्मकतालाई सघाउँछ भने देब्रेले बोली, बुझाइ आदिलाई नियन्त्रण गरेको हुन्छ । तर दाहिने हातले बढी काम गर्ने मानिसका त्यस तर्फको कृयाकलाप देब्रे तर्फको ब्रेनले बढी नियन्त्रण गरेको हुन्छ । त्यसैले दिमागमा देब्रेतर्फ रक्तश्राव इत्यादि भएर मस्तिष्कघात भएमा दाहिने अंग राम्ररी चल्दैन र दाहिने तर्फ मस्तिष्कघात भएमा देब्रे अंग राम्ररी चल्न सक्दैनन् ।

सेरेब्रमको ४ वटा ठूला “लोब” अर्थात् भागहरु हुन्छन् । यी लोबहरुलाई फ्रन्टल, पराइटल, टेम्पोरल र अक्सिपिटल लोब भनिन्छ र यी भित्र पनि काम विशेषका लागि छुट्टाछुट्टै क्षेत्रहरु हुन्छन् ।

मस्तिष्कका अवयवहरुलाई यसरी सजिलैसँग भाग लगाएजस्तो बुझिएतापनि यिनीहरु सबै एक आपसमा निकै जटिल प्रकृयाद्वारा जोडिएका हुन्छन् भनेर बुझ्नु जरुरी हुन्छ।

यो आलेखमा सुख र खुशीका कारणहरुको बैज्ञानिक बिश्लेषणलाई छोटकरीमा प्रस्तुत गर्न खोजिएको हो, त्यसैले मस्तिष्कका जटिल प्रकृयाहरुको सविस्तार वर्णन गरिने छैन ।

मस्तिष्कका बिभिन्न लोबहरुको बिभिन्न प्रकृतिका कामहरु हुन्छन् । यस मध्ये फ्रन्टल लोब अनि अझ यसको अगाडिको भाग “प्रि फ्रन्टल कर्टेक्स” ले मान्छेको खुशीलाई नियन्त्रण गर्दछ । खुशी, प्रेम, समबेदना, विश्लेषण जस्ता गुणहरु मस्तिष्कको यही भागबाट निस्रित हुन्छ । आदिम मानव या अन्य जनावरहरुमा मस्तिष्कको फ्रन्टल लोब र खासगरी त्यसको प्रि–फ्रन्टल कर्टेक्सको धेरै बिकास भएको थिएन ।

प्रि–फ्रन्टल कर्टेक्सले धेरै कामहरु गर्छ । यी मध्ये मुख्य काम अनावश्यक “स्टिमुलाई” लाई नियन्त्रणमा राख्नु हो । साथै सम्बेदना, सम्झना र अनुभूतिको बिस्तार पनि यसका कार्यहरु हुन् ।

प्रि–फ्रन्टल कर्टेक्सले कुनैपनि कृयाको “सिमुलेशन” अर्थात् कल्पना गरिएको कुरालाई साँच्चै भएको जस्तो गरी अनुभव गर्न सकिन्छ । डा. गिल्बर्टको टोलीले उदाहरण दिंदै भन्छ – हामी मानिसहरुलाई दुइ समूहमा बाँडौं । एउटा समूहले १० लाख डलरको चिठ्ठा जितेको कल्पना गराऔं, अर्को समूहलाई पक्षघात भई उठ्न नसकेको कल्पना गराऔं । हामीले सोधौं – कुन समूहको व्यक्तिले धेरै खुशी अनुभव गर्छ होला । निश्चयनै पनि घटनाको तुरुन्तै पछि चिठ्ठा परेको समूहले धेरै खुशी अनुभव गर्छ भने पक्षघात भएको समूहले कम खुशी अनुभव गर्छ, तर केही समय बितेपछि दुबै समूहको खुशीमा फरक हुँदैन ।

जीवनका ठूला ठूला घटना दुर्घटनाले करीव ३ महिनापछि मान्छेको खुशीलाई प्रभाव पार्न छोड्छन् । किन होला ? अनुसन्धानले भन्छ मान्छेहरु खुशी आफैले बनाउन सक्छन् ।

सन् १६४२ मा आजभन्दा करीव ४५० वर्ष अघि बेलायती चिकित्सक थोमस ब्राउनले भनेका थिए रे – “We carry within us the wonders we seek without us. I am the happiest man alive.” उनी भन्छन्- मान्छेले खुशी निर्माण गर्न सक्छ, बिकल्प छैन भन्ने बुझेपछि जे छ, त्यसैमा खुशी खोज्छ र प्राप्त गर्छ ।

हाम्रो मस्तिष्कबाट उत्पादन हुने डोपामिन, सेरोटोनिन, अक्सिटोसिन लगायतका इन्डोर्फिन हर्मोन तत्वहरुले हामीलाई खुशी, सन्तोष, परिपूर्णता, माया आदि भावनाहरु बढाउन मद्दत गर्छन् ।

हार्भर्ड विश्वबिद्यालयका बैज्ञानिक ड्यान गिल्वर्ट भन्छन् :  सबै मानिसहरु सुखको खोजमा हुन्छन् । सुख के हो ?

विवाह, सन्तानोत्पादन, समृद्धि ? सबै आमाहरुले त्यसै भन्ने रहेछन् ।

अनुसन्धानले देखाएका छन् विवाहित व्यक्तिहरु अविवाहित भन्दा बढी खुशी हुन्छन् । सुखको मात्रा कहिले बढी र कहिले घटी हुन्छ, तैपनि अविवाहित भन्दा विवाहित बढी सुखी हुन्छन् । यदि विवाह राम्रो छ र पति या पत्निको सम्बन्ध राम्रो छ भने सुख बढी हुने रहेछ ।

तर सम्बन्ध बिच्छेद भएका दम्पत्तिको खुशी विवाहितको तुलनामा अलि बढी नै हुने रहेछ । गिलवर्ट भन्छन् बेमेल विवाहले मानिसलाई खुशी दिंदैन ।

सन्तानद्वारा सुख प्राप्त हुन्छ भन्ने सामान्य मान्यता भएतापनि सन्तान भएका व्यक्तिहरु त्यति सुखी देखिएका छैनन् । कामको चाप, आर्थिक समस्या र बालबालिकाको स्याहार सुसार गर्नुपर्ने अवस्थाले गर्दा मातापिताले सुखको अनुभव गर्न नपाएका भन्ने उनको विश्लेषण रहेछ ।

अमेरिकाकै मनोचिकित्सक रोबर्ट वलिडङ्ग र सुख कसरी प्राप्त हुन्छ भन्ने अध्ययन गरेका टोलीको आठौं निर्देशक रहेछन् । लगातार ७५ बर्षसम्म ७२४ मानिसहरुको जीवनका गतिबिधिलाई पछ्याउँदै गरेको सो अनुसन्धानले खुशीको कारक तत्वहरुको खोजी गरेको छ । सो अध्ययनमा सहभागीहरुका दुई समूहमा बाँडिएको रहेछ – एक समूह हार्भर्ड विश्वबिद्यालयका बिद्यार्थी अनि अर्को समूह बोस्टनको गरीब बस्तिका बालकहरु ।

७५ बर्ष सम्मका बिभिन्न चरणमा उनीहरुको स्वास्थ्य, सामाजिक स्थिति, आर्थिक अवस्था लगायतको बिस्तृत अध्ययन गरियो । तर यो अध्ययनको मुख्य उद्देश्य भनेको सामाजिक सम्बन्धले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ भनेर विश्लेषण गर्नु रहेको थियो ।

सन् २०१६ को प्रतिवेदन प्रकाशित हुँदासम्म उक्त अध्ययनमा भाग लिएका ६० जना व्यक्तिहरु अझै जिवीत थिए र ती मध्ये केही ९० वर्षभन्दा बढी उमेर भैसकेका थिए । यसरी अटुट रुपमा ७५ वर्षसम्म मानिसहरुलाई अध्ययनमा पछ्याउनु धेरै कठिन काम हो । त्यसैले यो अध्ययनलाई धेरैले सह्राएका छन् ।

यस अध्ययनमा भाग लिएका धेरै मानिसहरुले व्यावसायिक जीवनमा राम्रो गरे तर कोही बिरामी भए, केही पागल भए र कति जनाको अल्पायुमै मृत्यु समेत भयो ।

तर यो अध्ययनका मुख्य निश्कर्ष निम्न लिखित थिए –

१) राम्रा सम्बन्धहरुले हामीलाई खुशी र निरोगी राख्न मद्दत गर्छ । आफ्ना परिवार, समाज, साथीभाइसँग निरन्तर सम्पर्कमा रहने व्यक्तिहरु बढी खुशी, सन्तुष्ट र दीर्घजीवि हुँदा रहेछन् । एक्लो व्यक्ति बढी दुखी हुने, कुराहरु बिर्सने र अन्य भन्दा छिटै मृत्यु हुने देखियो ।

२) सम्बन्धको गुणस्तर सुखको अर्को प्रमुख मापक हो । आफूले भरपर्न सक्ने पति या पत्नि छ या साथीहरु छन् भने व्यक्ति बढी खुशी हुने रहेछन् । संगै बस्दा पनि बिभिन्न कारणले मानिसले एक्लो अनुभब गर्ने रहेछ – खासगरी भरपर्दो जीवन साथी नभएमा । झै–झगडा भइराख्ने सम्बन्धहरुले जीवनलाई छोट्याउने रहेछन् र यी दुःखका प्रमुख कारणहरु पनि हुने रहेछन् । सुखी सम्बन्धमा भएका व्यक्तिहरु बिरामी हुँदा, शारीरिक पीडाहरु खप्न सक्दा रहेछन्, तर दुःखी व्यक्तिहरुलाई सामान्य बिमारी या चोटले पनि बढी दुखाई दिनेरहेछ ।

३) राम्रो दीगो र मायालु सम्बन्धमा भएका व्यक्तिहरुको मानसिक स्वास्थ्य पनि राम्रो हुने रहेछ । उनीहरु ८० बर्षको हुँदासम्म पनि कुराहरु नबिर्सने हुँदा रहेछन् ।

अनुसन्धानले देखाएका छन् विवाहित व्यक्तिहरु अविवाहित भन्दा बढी खुशी हुन्छन् । सुखको मात्रा कहिले बढी र कहिले घटी हुन्छ, तैपनि अविवाहित भन्दा विवाहित बढी सुखी हुन्छन् । यदि विवाह राम्रो छ र पति या पत्निको सम्बन्ध राम्रो छ भने सुख बढी हुने रहेछ ।

यी जीवनका सरल रहस्यहरु नबुझ्ने शायदै कोही होला, तर हामी “क्विक फिक्स” चाहन्छौं । सम्बन्ध बिकासमा ठूलो ध्यान पुर्‍याउनु पर्छ, समय दिनु पर्छ र परस्परका व्यवहारहरुलाई सुदृढ बनाउनु पर्छ । त्यसैले मानिसले सम्बन्ध बिकासमा भन्दा आर्थिक उपार्जनमा धेरै समय खर्चिन्छन् । मान–सम्मान, धन–सम्पत्ति र व्यावसायिक सफलता धेरै भएतापनि व्यक्तिगत सम्बन्धहरु राम्रो छैन भने व्यक्ति सुखी हुन नसक्ने रहेछ ।

त्यसैले होला बिख्यात अमेरिकी लेखक मार्क ट्वेनले भनेका थिए :

There isn’t time, so brief is life, for bickering, apology, heart burnings, callings to accounts.

There is only time for loving, and but an instant, so to speak, for that.

अर्थात् हाम्रो जीवन धेरै छोटो छ, हामीसँग कचकच गर्न, माफी माग्न, चित्त दुखाउन, गाली गर्न समय छैन । प्रेमका लागिमात्र समय छ, र त्यो पनि एक पल मात्र ।

सद्गुरु जग्गी बसुदेव भन्नुहुन्छ – खुशी मान्छे आफैमा नीहित छ । जब मान्छेले आफ्नो दुःखलाई सामान्य रुपमा लिन सक्छ र यसका लागि अरुलाई दोष दिंदैन, उ सँधै खुशी रहन सक्छ ।

मान्छेहरु आफ्ना असफलता, अपूर्त चाहना आदिका लागि अरुलाई दोष दिन खोज्छन् । तर सफलता या असफलताबाट आफ्नो खुशीलाई प्रभावित हुन नदिई आफै भित्र खुशी निमार्ण गर्दै रहनु उचित हुन्छ ।

स्नायुबिज्ञान र यससँग सम्बन्धित बिभिन्न बिधाका बिषयहरुद्वारा मानव “ब्रेन” र “माइण्ड” का बिभिन्न पक्षहरुमा अनुसन्धान गरेका छन् । यी अनुसन्धानहरु धेरैजसो मानसिक रोगी, डिप्रेशन आदिले दुःखी मानिसहरुको दुःख कम गर्ने र उनीहरुलाई सन्चो तुल्याउने उपायको खोजीमा केन्द्रित छन् भने अन्य कतिपय अनुसन्धानहरु मानिसको ब्रेनलाई अझ बढी “स्मार्ट” बनाउने र ब्रेनको “प्लास्टिसिटी” गुणलाई थप सक्रिय पार्ने तर्फ केन्द्रित छन् ।

युनिभर्सिटि अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका बैज्ञानिक माइकल मर्जेनिकले “Soft Wired” भन्ने पुस्तक लेखेका छन् । उनको पुस्तकको निस्कर्ष छ –

मानिसको दिमागको पूरा क्षमताको उपभोग गर्ने हो भन्ने अनुभवका बिबिधताहरु आवश्यक हुन्छन् । दिमागले आफ्ना बिभिन्न अनुभवहरु समेटेर एकाग्र भएर सोचेको खण्डमा ४ प्रकारका परिर्वतनहरु ल्याउन सकिन्छ ।

१) सोचाइको द्रुत गति र सहि सोचाइ (Brain Speed with accuracy)

२) ध्यानको नियन्त्रण र एकाग्रता

३) अनुभवहरुको, सूचनाहरुको दिमाग भित्र सहि अभिलेख

४) संकलित सूचनाको प्रयोग, बिश्लेषणात्मक र संयोजनात्मक क्षमता अभिबृद्धि

दिमागको उचित प्रयोग गरेमा नयाँ न्यूरोनहरु र तिनका साइन्याप्सहरुको विकास हुन्छ, तिनमा रसायनिक तत्वहरुको निर्माण हुन्छ र ती सबैको सम्मिश्रणबाट मानसिक स्वास्थ्यको अवस्था निर्धारण हुन्छ ।

दिमागको सहि प्रयोगले यसको निरन्तर विकास गर्न मद्दत पुग्छ । डेनभर विश्वबिद्यालयका प्राध्यापक निकोलस कारले पनि उपरोक्त बिश्लेषणको समर्थन गर्दै भनेका छन्। लक्ष निर्धारण गरी दिमाग एकाग्र गराएर उक्त लक्ष प्राप्तिमा केन्द्रित गरिएको छ भने सिकाइको गुणस्तर राम्रो हुन्छ । इन्टरनेट जस्ता प्रविधि अहिलेको समयमा अत्यावश्यक भैसकेतापनि यसका नकारात्मक पक्षतर्फ पनि सचेत हुनु आवश्यक छ ।

मान्छेको दिमाग र सिकाइका बिभिन्न पक्षबारे कुरा गर्दा मानिस के कारणले सुखी हुन्छ र सुखको प्राप्तिका लागि कस्तो प्रकारको मानसिक अवस्था चाहिन्छ भन्ने कुरा प्रमुख छन् ।

दार्शनिक एपिक्युरसले भनेका रहेछन्- “It is impossible to live the pleasant life without also living sensibly, nobly and justly; and it is impossible to live seasibly, nobly and justly without living pleasantly.”

पश्चिममा दार्शनिकको यो अभिव्यक्तिलाई हाम्रो पूर्विय दर्शनसँग तुलना गरेर हेर्नु वाञ्छनीय हुन्छ ।

हिन्दु ग्रन्थहरुमा “षड्रिपु” अर्थात दिमागका ६ वटा दुश्मनहरु हुन्छन् भनिएको छ । यी हुन लोभ (greed), मोह (attachment), क्रोध (anger), काम (lust), मद (ego), मात्सर्य (jealousy)।

यी ६ वटा तत्वहरुलाई आफ्नो संकल्पद्वारा जितेर एपिक्युरिसले भनेझैं सेन्सिबल, नोबल र जस्ट अर्थात् अर्थपूर्ण, उच्च र न्यायपूर्ण जीवन बाँच्न सकेमा मानिस सुखी हुनेछ ।

अब्राहम मास्लोले मानिसका आवश्यकताहरुलाई पाँच तहमा दर्शाएका थिए ।

मानिस शरीरको प्राकृतिक आवश्यकता पूरा गर्न तल्लीन रहन्छ । यी बाँच्नका लागि चाहिने आधारभूत आवश्यकताको परिपूर्ति हुनासाथ ऊ अझ माथिल्लो आवश्यकताको खोजिमा रहन्छ । बाँचे पछि सुरक्षा चाहियो, जीवनको निरन्तरता चाहियो । चोटपटक, रोगव्याधी, घाम पानीबाट बच्न सक्नु, आवश्यकता अनुसार श्रोत साधनको जोहो गरी सुरक्षित रहेर जीवनको निरन्तरताको प्रयास गर्नु मानिसको दोश्रो प्राथमिकता भित्र पर्दछ ।

जीवनको सुरक्षाको प्रत्याभूति सँगसँगै मानिसले जीवन साथी खोज्छ, परिवार, खोज्छ, घर छिमेक, सामाजिक सम्बन्धहरुमा रमाउँछ । यतिले मात्रै मानिसको आकांक्षाको परिपूर्ति हुँदैन – उसले आत्म सम्मान खोजेको हुन्छ, अधिकार खोजेको हुन्छ, पहिचान खोजेको हुन्छ ।

जीवनका आधारभूत आवश्यकता परिपूर्ति गर्दै उसले माथिल्लो चरणका आवश्यकताहरुको चाहना राखेको हुन्छ ।

भरसक सबै व्यक्तिहरुले यी सबै कुरा पाउन सक्ने समाजको निर्माण हुनसके हाम्रो समाज र विश्वबाट द्वन्द निर्मूल हुँदै जाने थियो होला र हाम्रो पूर्खाले देखेको “बसुधैव कुटुम्बकम्” को सपना साकार हुने थियो होला ।

अहिले विश्वमा नै गरीव र धनी बीच ठूलो खाडल छ । गरीबहरु आधारभूत आवश्यकता परिपूर्ति गर्न नसकेर छटपटाएका छन् – उनीहरुको आत्मसम्मानमा आघात पुग्ने अवस्थाहरु सहनु पर्ने बाध्यताका बीच कुण्ठा, आक्रोश र दुःख सहेर जीवन व्यतित गर्दैछन् ।

अहिले विश्वमा नै गरीव र धनी बीच ठूलो खाडल छ । गरीबहरु आधारभूत आवश्यकता परिपूर्ति गर्न नसकेर छटपटाएका छन् – उनीहरुको आत्मसम्मानमा आघात पुग्ने अवस्थाहरु सहनु पर्ने बाध्यताका बीच कुण्ठा, आक्रोश र दुःख सहेर जीवन व्यतित गर्दैछन् ।

हाम्रो समाजमा थोरै व्यक्तिहरु आत्मबोध या आत्मज्ञान प्राप्त गर्न सफल भएका छन् । जीवनको नश्वरतालाई बुझेर लोभ, मोह, क्रोध, मद, मात्सर्यलाई जितेर ब्रह्मज्ञानमा लीन हुँदै “अहम् ब्रह्मास्मि” को मूल मन्त्रको तत्वबोध गर्न सफल भएका छन् ।

यी तत्वज्ञानी व्यक्तिहरु समाजलाई बाटो देखाउन सक्छन् – उनको त्यो कर्तव्य पनि हो, तर ब्रह्मज्ञान प्राप्तिको मद र मात्सर्यलाई त्याग्न नसकेका कारणले ती सबै प्रभाबकारी नभएका हुन सक्छन् ।

यस सन्दर्भमा उच्चतम कोटीको आत्मज्ञानी व्यक्तिका रुपमा हामीले भगवान गौतम बुद्धलाई लिन सक्छौं ।

आजभन्दा करीब २६०० बर्ष पहिले, श्री ५ पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा २००० बर्ष अघि कपिलवस्तु राज्यका युवराज सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी पूरा विश्वलाई नै ब्रह्मज्ञान अर्थात् निर्वाणको बाटो देखाएका छन् ।

हाल नेपालभित्र रहेको कपिलबस्तु तत्कालीन समयमा सांस्कृतिक रुपमा भारतबर्ष रहेको भूखण्डमा जन्मिएका सद्धार्थ गौतमले हालको भारतको राजनीतिक सीमा क्षेत्र भित्र रहेको बिहारको गयामा ध्यानस्थ रहँदा बुद्धत्व प्राप्त गरेकाले सिद्धार्थ गौतमलाई भारतियहरुले आफ्नो भनी प्रमाणित गर्ने चेष्टा गर्छन् ।

यता हामी भने “बुद्ध नेपालमा जन्मिएका हुन्” भनी नारा जुलुस मात्र गर्छौं, बुद्धका उपदेशहरुको अनुशरण त्यति गर्दैनौं । भारत, श्रीलंका, चीन, कोरिया, थाइल्याण्ड, म्यानमार, भियतनाम, जापान लगायतका देशबाट अनगिन्ति श्रद्धालुहरु बुद्धको जन्मस्थल दर्शन गर्न आउँछन् । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धको क्रीडास्थल र निवास कपिलवस्तुको तिलौराकोट, निग्लिहवा, गोटीहवा आदि ठाउँहरुमा भएका संरक्षणका प्रयासहरु धेरै अपर्याप्त छन् ।

बुद्धले देखाउनु भएको पञ्चशीलको अनुसरण गर्न सक्नुपर्ने र आफ्ना अमूल्य निधिहरुलाई संरक्षण गर्न सक्नुपर्ने नेपाली जनता र राज्यको नेतृत्वमा रहेका व्यक्तिहरु “बुद्ध नेपालमा जन्मिएका हुन्”को खोक्रो नारमा मस्त छन् भन्नु पर्दा मलाई दुःख लाग्छ ।

हामी चीर निद्राबाट ब्यूँझिदासम्म छिमेकीले हाम्रो सांस्कृतिक सम्पदा माथि आफ्नो पकड अझ मजबूत बनाइसकेको हुनेछ । आफू नगर्ने अनि अरुले गरेमा गाली गर्ने संस्कार हामीले हाम्रो सामाजिक, राजनीतिक जीवनमा यथेष्ट देखेकै छौं ।

हामी सबैले सोच्नु पर्ने बेला भएको छ : हाम्रा प्राथमिकता के हुन् ? सुन्दर पहादमाथि कुरुप टावर ठड्याएर प्रकृतिको दोहान गर्ने कि हाम्रो इतिहास र संस्कृति जोगाउँदै हाम्रो स्वाभिमानलाई मर्न नदिने ?

समाजमा बस्दा हामी आफूले देखेको या सोचेको कुरा नै सही हो भन्ने ढिपी गर्छौ भने त्यो “नाइभ रियालिजम” बाहेक केही हुँदैन । अरुको भनाई सुन्ने र बुझ्ने प्रयास गरेमा द्वन्दको स्थिति उत्पन्न हुनबाट जोगिइन सकिन्छ ।

महान साहित्यकार विलियम शेक्सपियरले भनेका थिए: “There is nothing either good or bad, but thinking makes it so”

हिजो आज सकारात्मक मनोविज्ञान (Positive Psychology) मा जोड दिइएको छ । सकारात्मक मनोविज्ञानले मानिसलाई जीवनमा अर्थ र खुशीको संचार गर्न सहायक भएको छ ।

कपटता (Hypocrisy) को न्यूनिकरण र पारस्परिकता (Reciprocity) को बिकासद्वारा सकारात्मकतालाई बढाउन सकिन्छ भन्ने प्रमाणहरु प्राप्त भैरहेका छन् । साथै विकासको नीति (Progress Principle) र अनुकूलनको नीति (adaptation principle) द्वारा पनि खुशीको सञ्चार हुन सक्दछ भन्ने ज्ञानको विकास भएको छ ।

प्रोग्रेस प्रिन्सिपलले भन्छ “लक्ष्य तर्फ अग्रसर हुँदै गर्दा जति खुशी प्राप्त हुन्छ, लक्ष्य प्राप्ति भन्दा त्यो ठूलो पनि हुन सक्छ ।

शेक्सपियरले पनि भनेका थिए :” Joy’s soul lies in the doing”

अनुकूलनको सिद्धान्तले भन्छ – प्रतिकूल परिस्थितिमा पनि सकारात्मक सोच राखेमा खुशी प्राप्त गर्न सकिन्छ ।

बैज्ञानिकहरुले पक्षाघात भएर अशक्त भएका व्यक्तिहरु र ठूलो रकम चिठ्ठा परेका व्यक्तिहरुको खुशी मापन गरेर अध्ययन गरेका छन् । तत्कालका लागि चिठ्ठा परेका व्यक्तिहरु पक्षाघात भएका व्यक्तिहरु भन्दा बढी खुशी भएतापनि ३ महिनापछि उनीहरुको खुशीको मात्रामा कुनै फरक देखिएन । प्रतिकुल परिस्थितिमा अनुकूलनद्वारा व्यक्तिले आफ्नो परिस्थितिसंग तादात्म्य गाँसेको हुन्छ । खासगरी पारिवारिक अन्तरसम्बन्ध र पारस्परिकताले अनुकूलनलाई सघाएका हुन्छन् ।

दार्शनिक नित्सेले भनेका थिए: “What does not kill me makes me stronger”

प्रतिकूलताले शक्ति दिन्छ भन्ने कुरा हाल बैज्ञानिकहरुले प्रमाणित गरेका छन् । Post traumatic stress disorder अर्थात गहन आघात पछिको उत्कट तनाबको अबस्था मनोचिकित्सकहरुले धेरै देख्ने अवस्था हो ।

गहन आघातले मानसिक र शारीरिक रुपमा धेरै नकारात्मक असरहरु पारेको हुन्छ ।

तर हाल आएर Post Traumatic Growth को अवधारणा विकास भएको छ ।

यदि आघात प्राप्त व्यक्तिले जीवनमा उचित लक्ष्य निर्धारण गर्न सक्यो भने उसले सकारात्मक रुपमा आफ्नो विकास गर्न सक्छ भन्ने कुरा बैज्ञानिकहरुले पुष्टि गरेका छन् ।

जीवनका लक्ष्यहरुलाई मनोबैज्ञानिक रोबर्ट एमोन्सले निम्न प्रकारले परिभाषित गरेका छन् ।
१) काम र उपलब्धिहरु
२) सम्बन्ध र आत्मियता
३) धर्म र आध्यात्मिकता
४) विरासत छोड्ने चाहना

ऐतिहासिक कालमा हेर्ने हो भने गौतम बुद्ध, सम्राट अशोक आदिले Post Traumatic Growth को बाटो पहिल्याएको देखिन्छ ।

सदा राजदरवारको सुख शयलमा बिताएका युवराज सिद्धार्थ गौतमलाई रोग, बुढ्यौली र मृत्युसँग साक्षात्कार भएपछि ठूलो आघात लाग्यो । उनले यी सबैको कारण खोज्ने र मानवमात्रलाई दुःखबाट मुक्ति दिने लक्ष्य राखे । आज उनले प्रतिपादन गरेका सिद्धान्तहरुले सम्पूर्ण विश्वलाई नै शान्तिको बाटो देखाएका छन् ।

चक्रवर्ती सम्राट अशोकलाई आफैंले जितेका लडाईंहरुले पुर्‍याएको क्षतिको आभास भएपछि उनले पनि अहिंशाको मार्ग अपनाएर बुद्धले प्रतिपादन गर्नुभएको धर्मको प्रचार प्रसार गरे । यी ठूला र महान उदाहरणहरु भए तर स–साना काम गरेर पनि ठूलो आघात पछि आफ्नो जीवनलाई सम्हालेर अगाडि बढेका धेरै दृष्टान्तहरु छन् । कोठीमा बेचिएर देह व्यापारको चोटबाट आहत भएका धेरै महिलाहरु उद्धार गरिएपछि त्यस्तो अमानवीय यातनाबाट अन्य महिलाहरुलाई बचाउन लागिपरेका छन् ।

मनोविज्ञ जोनाथन (J. Heidt) भन्छन्-  सुखका लागि ३ तत्व आवश्यक हुन्छ ।

Happiness = S + C + V

Where,

S = Biological set point जन्मजात आनुवंशिक गुणहरु
C = Conditions of life  जीवनका अवस्थाहरु
V = Voluntary activities (the flow)

जन्मजात आनुवंशिक गुणहरु कुनैपनि व्यक्तिको खुशीका लागि सबैभन्दा महत्वपूर्ण मानिएको छ । जन्मनासाथ छुट्टिएर फरक फरक परिवारमा हुर्किएका दुई आनुवंशिक रुपमा उस्तै (identical twin) जुम्ल्याहा बच्चाहरु फरक परिवेशमा हुर्किदा पनि समान व्यवहार देखाउँछन् । यो उनीहरुको जैबिक रुपमा निर्धारित गुणहरुका कारण नै सम्भब भएको हो ।

जीवनका अवस्थाहरुबारे बिश्लेषण गर्दै जोनाथन भन्छन्

“Happiness comes in part from outside of yourself, if you know where to look”

हाल आएर ब्यायाम, पोषण जस्ता तत्वहरुले मानिसको खुशी बढाउँछन् भन्ने प्रमाणित भैसकेको छ । डोपाभिन, सिरोटोनिन लगायतका खुशी प्रदायक तत्वहरुको उत्पादनद्वारा ब्यायाम र पोषणले सकारात्मक प्रभाव पार्दछन् । साथै कर्टिसोल जस्ता तत्वहरुको नियन्त्रणले पनि समग्रमा सकारात्मक प्रभाव पारेको हुन्छ ।

मानिसलाई जीवनयापन गर्न सजिलो हुने धन–सम्पत्ति भएमा खुशी दिन्छ तर धेरै धनले खुशी बढाउँदैन भनेर बैज्ञानिकहरुले प्रमाणित गरेका छन् । अमेरिकामा गरेको एक अध्ययन अनुसार बार्षिक नब्बे हजार डलर कमाई हुँदासम्म खुशी र धनको Positive Co-relation देखियो, अर्थात गरिबी अवस्थामा त्यति खुशी नहुने रहेछ, र धनको उपलब्धता संगै खुशी बढ्ने रहेछ । तर धेरै बढी कमाउने मान्छेहरुमा सोही अनुपातमा खुशी बढेको देखिएन ।

तेश्रो तर महत्वपूर्ण कुरा स्वयंसेवा रहेछ । निस्वार्थ भावले अरुका लागि केही गर्न सकेमा ठूलो खुशी प्राप्त हुने रहेछ । दार्शनिक एपिक्युरसले भनेका रहेछन् –

“do not seek to have events happen as you want them to, but instead want then to happen as they do happen; and your life will go well” यो भनाइले हाल मनोबैज्ञानिकहरुले भनेको flow अर्थात बहावको सिद्धान्तलाई समर्थन गर्दछ ।

मदनमणि दीक्षितले प्राचीनकालको पौराणिक धरातालमा रहेर श्रृजना गर्नुभएको माधवी उपन्यासमा तत्कालीन सामन्ति व्यवस्थामा दासहरुले पाएको दुःख र बन्धन तर आत्माको असीमित स्वतन्त्रतालाई सरस ढङ्गले बर्णन गर्नु भएको छ । यो प्रसङ्गमा अत्यधिक क्रूरतापूर्वक जमिनमूनी रहेको अँध्यारो कोठामा अमानवीय रुपमा थुनिएका, आफ्नै रगत र आँसु पिएर बाँचिरहेका दासहरुको कारुणिक चित्रण छ । तर यस्तो बिषम परिस्थितिमा समेत एउटा दासले राजा हर्यश्वलाई दिएको निर्भिक तर मार्मिक जवाफ यहाँ उद्धरण गर्न चाहन्छु “जीवनप्रति मोह ? कस्तो प्रश्न गरिस् हर्यश्व ? म जीवनसित नै त सबभन्दा बढ्ता मोहित छु । नत्र अघि तँलाई देखेपछि त्यो सुन्दरी घराबारे समाचार नै किन सोध्थें ? तर हेर, मृत्युसित डराउन्न म । म निष्पाप र किल्विषरहित छु । अतः अविनाशी छु । तँ भने यी कुरा बुझ्दैनस् ………… ।”

”हे हर्यश्व । यो जगत् मुक्त छ । म र हामी दास सबै नै अबिनाशी बिश्वात्मा ब्रह्मकै, बिश्वको प्राणकै अंश हौं, मेरो आत्मा अबिनाशी छ, ॐ अमोहमस्मि । म प्राण हुँ, म बिष्णु हुँ, नाशवान् त यो दासत्व छ ………”

ठूलो आगोलागीबाट ध्वस्त भएपछि बेलायतको लण्डन शहर र अमेरिकाको शिकागो शहरको आज राम्रोसित पुनर्निर्माण भएको थियो । यो पनि एPost Traumatic Growth को उदाहरण हुन सक्छ ।

कोरोनाको कहर भोगेका नेपाल लगायत बिकासोन्मुख मुलुकहरुले पनि आफ्नो स्वास्थ्य प्रणालीको पुनर्निर्माण गर्नु अत्यावश्यक देखिएको छ । हाम्रा सार्वजनिक नीतिहरु निर्माण हुँदा नागरिकको सुख सुबिधा ख्याल गरी वातावरण, सडक, मनोरञ्जन, खेलकुद आदि अत्यावश्यक कुराहरुमा पनि ध्यान पुर्‍याउनु जरुरी छ । नागरिक सुखी भएमा उत्पादकत्व बढ्छ र समृद्धिको आधार तय हुन्छ ।

साउन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्