हाम्रो आवाज पनि सुन्नुहोस्- २०

कान नसुन्ने बालबालिकालाई हेला गर्छन्

मेरो बाबा र आमाले भन्नु भए अनुसार म २ वर्षसम्म पनि बोल्न सुरु गरेकी थिइन। तै पनि बोल्न सुरु गर्छे कि भन्दा भन्दै म ३ वर्ष पुगेछु। ३ बर्षको हुँदा सम्म पनि बोल्न सुरु नगरेकोले कतै मैले कानले नसुनेको कारणले गर्दा नबोलेको हो कि भन्ने लागेर मेरो उपचारमा लाग्नु भएछ। जब डाक्टरबाट म कान नसुन्ने हो रहेछ भन्ने थाहा भएपछि मेरो बाबा र आमा धेरै चिन्तित हुनु भयो। मेरो कानको उपचारको क्रममा डाक्टरको सल्लाह अनुसार म साढे चार बर्षको हुँदा मेरो कानमा मेसिन (कक्लियर इम्प्लान्ट) लगाइयो। मेशिन लगाए पछि मात्र म अलि अलि सुनेर बुझ्ने र बोल्न सक्ने भएँ।

मलाई उपचार गर्ने डक्टरले मलाइ सुन्नेहरू पढ्ने नर्मल स्कूलमा नै पढाउनु पर्छ भन्नु भएकोले मेरो बाबा आमा स्कूलको खोजीमा लाग्नु भयो। तर कतिपय स्कूलले मलाई भर्ना लिन नै मानेनन्। कानले कम सुन्दा सबैले मलाई फरक दृष्टिले व्यवहार गर्ने रहेछन् भन्ने लाग्यो। अनि मेरो बाबा र आमा झन् धेरै दुःखी हुनु भयो। पछि बल्ल बल्ल एउटा सुन्नेहरू नै पढ्ने नर्मल स्कूलले मलाइ भर्ना लियो र त्यही नर्मल स्कूल मै पढ्न थालेँ। त्यहाँ पनि धेरै जसो साथीहरु मलाई हेला गर्छन् र थोरै जसोले मात्र माया गर्दछन्। टिचरहरुबाट भने राम्रै व्यवहार पाएको छु। तर पनि मलाई कता कता छुट्ट्याइएको जस्तो लाग्छ।

विश्वमा मानिसहरु जन्मदै आँखा नदेख्ने, कान नसुन्ने र बोल्न नसक्नेहरु धेरै हुन्छन्। कतिपय मानिसहरु दुर्घटनाका कारणले पनि हातखुट्टा गुमाएका हुन्छन्। त्यसमध्ये म पनि कान नसुन्ने अपाङ्गतामा परेकी छु। कानमा मेसिन लगाएपछि सुन्न सक्ने अनि अलि अलि बोल्न सक्ने पनि भएकी छु। तर पनि समाजले मलाई फरक दृष्टिकोणले हेरेको छ। मप्रति गरेको व्यवहारहरुको कारणले धेरै समस्याहरू भोग्नु पर्दोरहेछ।

यसरी मान्छेहरुले अरु मानिसहरु भन्दा मलाई गरेको फरक व्यवहारले म लगायत मेरो बाबा आमालाई धेरै चित्त दुख्छ। आमाले मलाई सम्झाउने गर्नु हुन्छ। मेरो हरेक पाइलाहरुमा हौसला दिएर मलाई अघि बढ्नु पर्छ भन्नुहुन्छ। मेरो जीवनमा मेरो आमाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। हरेक बालबालिकाहरुलाई उनीहरूको समस्याहरूको आधारमा कुनै प्रकारको भेदभाव नगरी सबैजनालाई धेरै माया गर्नु पर्दछ। हामीहरू जस्ता कान कम सुन्नेहरुलाई भने जिन्दगीमा अघि बढ्न सक्ने क्षमताको बाटो देखाइदिनु पर्दछ। समाजमा सबैजनाले म जस्तालाई भेदभाव नगरी सबैजनाले माया दिनु होला। अनि बल्ल हाम्रो आत्मबल बढ्दछ।

(लेखिका परिना बर्तौला कक्षा ६ मा पढ्ने सुस्त श्रवण विद्यार्थी हुनुहुन्छ।)

 

साउन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्