सीमा सुरक्षाको जग बसाल्ने आइजी खड्गजीत बराल

नेपाल प्रहरीका पूर्वआइजी बरालको घरमा पुगेका प्रहरी अस्पतालका एआइजी डा. आशा सिंह, तत्कालीन डिआइजी शैलेश थापा क्षेत्री र तत्कालीन नवनियुक्त आइजी ठाकुर ज्ञवाली।

नेपाल आमाको गरिमामय कोखबाट समयको अनन्त गतिमा बेलाबेलामा महान् व्यक्तिहरूले जन्म लिएका छन्। कोही सेना, कोही प्रहरी, कोही राजनीति त कोही कूटनीति आदि विभिन्न क्षेत्रमा आबद्ध भई ख्याति कमाउन सफल भएका छन्। व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्र र समाजको हितार्थ क्रियाशील भई आफू आबद्ध क्षेत्रमा अतुलनीय योगदान दिएर ‘महामानव’ कहलिएका छन्। नेपाल आमाका तिनै सपूतमध्ये खड्गजीत बराल एक हुनुहुन्छ जसको नाम र काम इतिहासका गौरव गाथाहरूमा समेटिएको पाइन्छ र समाजमा सम्मानका साथ पुकारिन्छ।

खड्गजीत बराल मेरो हजुरबुबा हुनुहुन्छ। नेपाल प्रहरीको सर्वसम्मानित नायकको रुपमा आफूलाई स्थापित गर्न सफल पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बराल अहिले आकस्मिक अस्वस्थ्य भई अस्पतालमा भर्ना हुनुभएको छ। यसमा म लगायत परिवारजन तथा धेरै शुभेच्छुक मर्माहत बनेका छौँ र उहाँलाई पूर्ववत् अवस्थामै देख्न पाऔँ भनी हामीले परमेश्वरसँग प्रार्थना गरिरहेका छौँ।

वि.सं. २०१३ सालमा लोक सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट इन्स्पेक्टरमा नियुक्त हुनुभएका खड्गजीत बराल लोक सेवा आयोगबाट नेपालको प्रहरी महानिरीक्षकमा सिफारिस हुने प्रथम स्नातकोत्तर (एम.ए.) उतीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुनुहुन्छ । साधारणतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुन्छ ।  नेपाल प्रहरीको इतिहासमा ६ वर्षसम्म आईजिपीको जिम्मेवारी वहन गर्ने दुई जना मात्र हुनुहुन्थ्यो: खड्गजीत बराल र रोम बहादुर थापा । 

आफ्नी श्रीमतीका साथ खाकी बर्दीमा तत्कालीन आइजी बराल।

भारतको माउन्ट आबुबाट आई.पी.एस. तालिम, जापानको ‘टोकियो ईम्पिरियल पुलिस कलेज’, संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित कार्डिफ पुलिस स्कुल र संयुक्त राज्य अमेरिकाको एफ.बि.आई. बाट तालिम प्राप्त गर्नुभएका बरालको ज्ञानको क्षितिज निकै फराकिलो छ । जापानमा तालिमरत रहँदा जुडो खेल अवलोकन गरेपछि उहाँकै अग्रसरतामा जापानी जुडो प्रशिक्षकहरू झिकाई नेपालमा जुडो खेल भित्र्याइएको थियो । यसरी उहाँले विदेशी तालिममा प्राप्त अवसरको पूर्ण रूपमा सदुपयोग गर्नुभएको देखिन्छ ।

 नेपाली खेलकुदप्रति बरालको योगदान जुडोमा मात्र सीमित नरहेर हकीमा पनि देखिन्छ । नेपालमा जुडोलाई परिचित गरेझैँ उहाँले पाकिस्तानबाट हकी प्रशिक्षकहरू बोलाई नेपालमा हकी खेल पनि परिचित गराउनुभएको थियो । संयोगवश उहाँले विद्यार्थी जीवनमा सिकेको हकी खेल नेपालमा मात्र नभएर तत्कालीन बर्मा (हाल म्यानमार) को राजदूत छँदा त्यहाँ पनि परिचित गराउन सफल हुनुभयो ।

प्रहरी प्रधान कार्यालयमा जापानी जुडो प्रशिक्षकका साथ।

नेपालमा पर्वतारोहण र सीमा सुरक्षाको जग बसाल्न पनि बरालको अग्रणी भूमिका देखिन्छ । नेपालीहरू विदेशी पर्वतारोहीहरूको भरियामा मात्र सीमित नभई आफैँ पनि आरोहणमा संलग्न भई सफल होऊन् भनी तत्कालीन आईजीपी बरालकै अग्रसरतामा नेपाल प्रहरी पर्वतारोही प्रतिष्ठान (नेपाल पुलिस माउन्टेनियरिङ्ग एण्ड एड्भेन्चर फाउन्डेशन) स्थापना गरियो । वि.सं. २०३३ मा ६९२० मिटरको टुकुचे हिमाल र वि.सं. २०३४/३५ मा ७१०२ मिटर उचाइको पाबिल हिमाल प्रतिष्ठानकै टोलीद्वारा आरोहण भएका थिए ।

नेपालको सीमा दक्षिणतर्फ मात्र नभएर उत्तरतर्फ चीनसँग पनि जोडिएको छ भन्ने यथार्थ सरोकारवाला पक्षलाई बारम्बार स्मरण गराउनुका अतिरिक्त नेपालको हिमाली भागमा कानूनको प्रत्याभूति दिलाउने भूमिका समेत उक्त प्रतिष्ठानले खेलेको थियो ।

२०२५-२७ सालमा बराल नेपालगन्जमा डीआईजी छँदा उहाँको अग्रसरतामा नेपाल-भारत सीमामा प्रथम पटक सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए । उहाँकै दूरदर्शीता अनुरूप पछि २०२९ सालमा प्रहरी प्रमुखमा नियुक्त भएपछि ‘१६ वर्षीय सीमा सुरक्षा प्रहरी चौकी’ को योजना बनाइएको थियो । यस योजना अन्तर्गत उहाँले २०३५ सालको प्रारम्भमा प्रहरीबाट अवकाश पाउनु अघिसम्म नेपाल-चीन सीमामा ताप्लेजुङस्थित ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सोलुखुम्बुको थ्याङ्गबोचे, गोरखास्थित छेकम्पार, मनाङस्थित हुम्दे, मुस्ताङको लोमान्थाङ, हुम्लाका मुचू र यारी, डोल्पाको तिन्जे र मुगुमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए ।

नेपाल पर्वतारोही प्रतिष्ठान स्थापना गर्ने क्रममा।

त्यस्तै, नेपाल-भारत सीमामा दार्चुलाको दत्तु, डोटीको साँगडी, महोत्तरीको कट्टीकटैया, सर्लाहीको संग्रामपुर, कपिलवस्तुको कृष्णनगर, झापाको काँकडभिट्टा, इलामका पशुपतिनगर र मानेभञ्ज्याङ (दार्जिलिङ नजिक), भैरहवाको बेलहिया र दुवै नेपाल-भारत र नेपाल-चीन सीमा हेर्ने दार्चुलाको तिङकर सहित २० ठाउँमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए ।

 तर त्यो ‘भिजन’ विरूद्ध विभिन्न चालहरू चलिरहे । ‘सीमाको सुरक्षा किन गर्नुपर्‍यो? नेपाल-भारत सीमा र नेपाल-चीन सीमामा प्रहरी चौकी स्थापना गरेर नेपाल प्रहरीले के उद्देश्य प्राप्त गर्न खोजेको हो ?’ भन्ने खालका तर्कहीन प्रश्नहरू बारम्बार आइरहे । इतिहासको त्यस कालखण्डमा आईजीपी बराल, स्वर्गीय राजा वीरेन्द्र र केही अपवाद बाहेक सीमा सुरक्षा चौकीको महत्व बुझ्ने कमै थिए । पञ्चायतकालको बिगबिगीमा तत्कालीन श्री ५ को सरकारलाई पटक पटक तार्किक बहसबाट नेपाली सीमाको रक्षा र अपराध नियन्त्रण गर्न सीमा प्रहरी चौकीको महत्त्व बुझाई आईजीपी बरालबाट नेपालमा सीमा सुरक्षाको जग बसालिएको थियो ।

यद्यपि त्यसपछिको घटनाक्रमलाई नेपालको इतिहासकै एउटा दुर्भाग्य मान्नुपर्छ किनकि उहाँको अवकाशपछि यस योजनालाई निरन्तरता दिइएन जसको परिणाम हाल नेपाल र नेपाली जनताले भोग्नु परिरहेको छ । प्रस्तावित सीमा सुरक्षा प्रहरी इकाईहरू समयमै स्थापना हुन सकेको भए विगत केही वर्षदेखिका देशमा विद्यमान सीमा सम्बन्धी चुनौतीहरूले सायद अहिलेको जस्तो विकराल रूप लिने थिएन होला ।

बि. सं. २०३४ सालमा भैरहवास्थित बेलहिया नाका उद्घाटन गर्दै बराल।

त्यस समयमा जनताको सुरक्षामा खटिने प्रहरीलाई दैनिक दुई छाक टार्न पनि धौधौ हुन्थ्यो । यसलाई मध्यनजर गर्दै बरालले प्रहरी प्रमुखको कार्यभार सम्हाले लगत्तै प्रहरीमा रासनको व्यवस्था गर्ने कामलाई अघि सार्नुभयो । तत्कालीन दरबार र शाही नेपाली सेनाका केही उच्च पदस्थ अधिकारीहरूले प्रहरीको यस कदमलाई नरुचाउँदा पनि उहाँले आफ्नो अडान छाड्नु भएन । दरबारको प्रत्यक्ष शासनमा प्रहरीको हितार्थ दरबार र सेनासँग जुध्नु सानो साहसको परिचायक पनि होइन । दरबार र तत्कालीन श्री ५ को सरकारसँग अनवरत संघर्षरत रहेर २०३० सालमा उहाँले प्रहरीमा रासनको व्यवस्था गर्न सफल हुनुभयो, जुन गुन अहिले पनि देशभर छरिएर रहेका प्रहरीहरूको स्मृतिबाट हटेको छैन ।

पहिला नेपाल प्रहरीमा ब्यारेकको व्यवस्था थिएन । प्रहरीहरू पाटी पौवामा वा आफ्नै खर्चमा डेरामा बस्न बाध्य थिए । समस्या परेमा प्रहरीसँग बोल्न जनता डराउने अवस्था थियो । प्रहरीलाई जनमैत्री बनाउने अभिप्रायले प्रहरी कार्यालयलाई ‘न्यायको मन्दिर’ को रूपमा हेरिनुपर्ने अवधारणा अघि सारेर आईजिपी  बरालले ‘पगोडा शैली’ का प्रहरी भवनहरूको निर्माण थालनी गर्नुभयो । यसले प्रहरीमा जनसेवाको भावना वृद्धि हुँदै गयो । प्रहरीप्रति जनआस्था जगाउने सोचले ‘न्यायको मन्दिरको प्रतीक’ का रूपमा प्रहरी भवनहरू खडा भएका थिए ।

नक्सालस्थित कार्यालयमा बराल।

अपर्याप्त बजेट रहेको तत्कालीन अवस्थामा जनताको चन्दाको भरमा अधिकांश थाना, चौकी र ब्यारेकलगायतका प्रहरी भवनहरू निर्माण गरिएका थिए । तसर्थ ‘जनताको नासोको प्रतीक’ का रूपमा अधिकांश प्रहरी भवनहरू खडा भए । कालान्तरमा प्रहरी कार्यालायहरूको अनुकरण गरी अन्य सरकारी कार्यालयसमेत पगोडा शैलीमा निर्माण हुन थाले । ‘प्रहरी शासक होइन सेवक हो’ भन्ने सिद्धान्तलाई सदैव व्यवहारमा उतार्न प्रेरित गर्नुहुने उहाँका यस्तै खालका अन्य कयौँ युगानुकूल देनहरू नयाँ पुस्ताका लागि मार्गदर्शक बनेको छ ।

त्यस्तै, प्रहरीले आफ्नै तलबबाट, ऋण लिएर वा उधारोमा पोशाकको व्यवस्था गर्नुपर्ने तत्कालीन बाध्यात्मक अवस्थाबाट प्रहरीलाई पार लगाउन उहाँकै अग्रसरतामा २०३३ सालमा नेपाल प्रहरीको लागि नि:शुल्क पोशाकको व्यवस्था गरिएको थियो । यसरी नेपाल प्रहरीमा गाँस (रासन), वास (भवन) र कपास (पोशाक) को व्यवस्था गरिएको थियो ।

एक प्रहरीलाई अन द स्पट बढुवा गरी दर्ज्यानी चिह्न लगाइदिँदै बराल।

आज पनि नेपाल प्रहरीमा एउटा कहावत नै छ- आइजिपी बराललाई रासनको सिता, भवनको भित्ता र युनिफर्मको फित्ताले समेत सम्झिन्छ ! यसैले होला आज पनि अधिकांश पूर्व तथा बहालवाला प्रहरीहरूले उहाँलाई ‘प्रहरी पिता’ भनी सम्मान गर्छन्, ‘प्रहरीका देवता’ भनी पुज्छन्, अभूतपूर्व आईजीपी भनी सम्बोधन गर्छन् र उहाँको महिमा गाएर थाक्दैनन् ।

यद्यपि केहीले उहाँप्रति नकारात्मक टिप्पणी गरेको पनि सुनिन्छ । उहाँ प्रहरी प्रमुख छँदा अपराध अनुसन्धानको ‘वैज्ञानिकीकरण’ का लागि ‘प्रमाण ऐन, २०३१’, लागू औषधका दुर्व्यसनी तथा अपराधीलाई कानुनी कार्वाहीमा ल्याउन ‘लागू औषध (नियन्त्रण) ऐन, २०३३’ र नेपाल जस्तो सार्वभौम देशको सुरक्षा व्यवस्थामा रहेको ‘लुप्होल’ को फाइदा विदेशीले उठाउन नपाऊन् भनी ल्याइएको ‘अध्यागमन ऐन’ उहाँले त्यति बेलै परिकल्पना गरी तत्कालै मूर्त रूप दिनुभयो । के यी साना उपलब्धी हुन् ? 

तत्कालीन राजा वीरेन्द्रसँग बराल।

प्रहरीले आफू र आफ्नो परिवारको निःशुल्क स्वास्थ्योपचारका लागि सेनाको त्रिचन्द्र सैनिक अस्पतालमा भर पर्न नपरोस् भनी प्रहरी अस्पतालको परिकल्पना गरी त्यसको योजना अघि सार्नु के उहाँको स्वावलम्बी कदम होइन ? अनि नेपाल प्रहरीको मनोबल खस्काउने तत्कालीन दरबारको हुकुम प्रमाङ्गी (हु.प्र.) बाट हुने आफूखुसी बढुवा र नियुक्तिको अन्त्य गर्नु के उहाँको गलत कदम थियो? त्यस्तै, प्रहरीमा मधेसी मूलका तराईवासीहरूको औपचारिक नियुक्ति सुरू गरी नेपाल प्रहरीलाई समावेशी बनाउने प्रयास के उहाँको सानो देन हो ?

नेपालका अधिकांश इतिहासकार तथा प्रहरीरूले तत्कालीन आईजीपी बरालको कार्यकाललाई नेपाल प्रहरीको स्वर्णिम युग मानेका छन् । आइजिपि बरालसँग यति ताकत थियो कि उत्कृष्ट कार्य गर्ने तल्लो दर्जाका प्रहरीको मनोबल उकास्न उहाँबाट तत्कालै बढुवाको घोषणा गरिन्थ्यो र तत्कालै दर्ज्यानी चिह्न प्रदान गरी पदोन्नति हुन्थ्यो भनेर समकालीन प्रहरीहरूबाट सुनिँदै आएको छ । 

हक्की स्वभावका साथै उच्च नैतिक चरित्र, स्वच्छ छवि र तीक्ष्ण बौद्धिक क्षमताका धनी व्यक्तित्व बराललाई नेपाली समाजमा एक दूरदर्शी तथा प्रभावशाली प्रहरी प्रमुखको रूपमा चित्रण गरिएको छ । बहादुरी र इमानका प्रतिमूर्ति उहाँले सधैँ प्रहरी, समाज र राष्ट्रको हितका लागि अग्रसर भई काम गर्नुभएको छ ।  ‘हाम्रोलाई भन्दा राम्रोलाई’ अवसर दिने उहाँले निष्पक्ष र प्रभावकारी रूपमा प्रहरी प्रमुखको जिम्मेवारी बहन गर्नुका साथै उहाँले सदैव उच्च कर्तव्य सम्पादन क्षमता र व्यावसायिक निष्ठा दर्शाउनुभएको समकालीन प्रहरीहरू सम्झन्छन् ।

प्रहरी केन्द्र महाराजगञ्जमा नेपाल प्रहरीको विजयी हक्की टोलीसँग बराल।

खेलकुद, प्रहरी, पर्वतारोहण र सीमा सुरक्षामा मात्र सीमित नभएर कूटनीति र नेपाली संस्कृतिको जगेर्नामा पनि बरालको उच्च योगदान देखिन्छ । उहाँ वि.सं. २०३६ साल देखि २०४२ साल सम्म तत्कालीन बर्मा (हाल म्यानमार) को आवासीय राजदूत छँदा उहाँले कैयौँ उदाहरणीय कामहरू गर्नुभएको थियो । सर्वप्रथम उहाँले बर्मामा अधिकारविहीन शरणार्थी सरह बसिरहेका हजारौँ नेपालीहरूलाई आवश्यक परिचय पत्र दिलाउनुभयो । साथै उहाँले नेपालबाट नेपाली शिल्पकारहरू झिकाएर नेपालीपन र धार्मिक एकताको सुदृढीकरणका निम्ति बर्मामा पशुपतिनाथ मन्दिर समेत निर्माण गर्नुभयो । कठोर सैनिक शासन रहेको तत्कालीन बर्मामा नेपाली भाषाको पठनपाठन गर्ने व्यवस्था मिलाएर उहाँले बर्मामा भानुजयन्ती मनाउने परम्पराको समेत थालनी गर्नुभयो ।

 तसर्थ श्रद्धेय ऐतिहासिक व्यक्तित्व खड्गजीत बराल एक कर्मठ ईमान्दार प्रहरी अधिकृत मात्र नभई एक युगान्तकारी कूटनीतिक व्यक्तित्व पनि हुनुहुन्छ । प्रहरी पिता, हकी पिता, जुडो पिता खड्गजीत बरालमा बहुआयामिक व्यक्तित्व रहेको यथार्थ नकार्न सकिन्न । अवकाश पछि राज्यले उहाँको सीप, सल्लाह र अनुभवको सदुपयोग गर्न नसक्नु दूर्भाग्य हो ।

लेखको अन्तिम भागमा म हजुरबुबासँगको आफ्नो व्यक्तिगत अनुभव पनि उल्लेख गर्न चाहन्छु । एकदिन म कलेजबाट घर फर्कँदै थिएँ, गेट बाहिरको घन्टीको छेउमा ‘बराल झुप्रो’ कोरिएको मार्बल देखेँ । मलाई यो कुरामा चित्त बुझेको थिएन र कहिलेकाहीँ हजुरबुबालाई ‘यो त अलिक सुहाएन कि’ पनि भन्थेँ । २०७४ सालको स्थानीय तहको चुनाव नजिकिँदै थियो । सो क्रममा मैले नेपाल आमालाई नजिकबाट चिन्न सकूँ र परिश्रमको पाठ सिकूँ भनेर हजुरबुबाले मलाई म्यादी प्रहरी (अस्थायी प्रहरी) मा आवेदन दिन सल्लाह दिनुभयो । जब म म्यादी प्रहरीको रूपमा खटिएँ, तब बल्ल मैले यो कुराको आभास पाएँ कि गलत काम गरेर ठड्याएको महल भन्दा असल काम गरेर जोडेको झुप्रो नै बेस हुन्छ । सम्भवत: काठमाडौँका अन्य अधिकांश घरहरूको तुलनामा हाम्रो निवास झुप्रो नै हो । हालसम्म बराल झुप्रो कोरिएको त्यो मार्बल यथावत नै छ । 

लेखक तथा पूर्वआइजी बरालका नाति पुजन बराल।

संयोगवश म म्यादी प्रहरी छँदा उहाँले नेपाल प्रहरीमा व्यवस्था गर्नुभएको तीन वटै आधारहरू नाना, खाना र छाना उपभोग गर्ने अवसर पाएँ । मैले म्यादी प्रहरीबाट प्राप्त गरेको रकम पछि प्रहरी स्मारक गुठीलाई प्रदान गरेँ । त्यो मेरो जीवनको पहिलो कमाइ थियो । प्रहरी स्मारक गुठी कर्तव्य पालनका क्रममा वीरगति प्राप्त गर्ने वीर अमर प्रहरीको परिवारको सहयोगार्थ स्थापित गरिएको हो । यो गुठीले विशेष गरेर द्वन्द्वकालमा ज्यान गुमाएका प्रहरीका परिवारहरूलाई सहयोग गर्दै आएको छ । बाल्यवस्था देखिनै पारिवारिक संस्कार र नैतिक ज्ञानको शिक्षा मैले हजुरबुबाबाटै प्राप्त गरेँ । मलाई गर्व छ कि मैले उहाँको नातिको रूपमा यस धर्तीमा पाउ राख्ने सुअवसर पाएँ ।

अहिले उहाँ अस्वस्थ्य भएर अस्पतालमा उपचाररत हुनुहुन्छ । यो खबरले हाम्रो परिवार मात्र नभएर सिंगो नेपाल प्रहरी संगठन र देश विदेशमा छरिएर रहनुभएका पूर्व प्रहरीहरू समेत चिन्तित हुनुहुन्छ । किनभने उहाँ बराल परिवारको मात्र नभएर समस्त नेपाल प्रहरीको अभिभावक र प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।   

साउन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्