नेपाली कांग्रेस प्राइभेट लिमिटेड

जनमत या जनादेशले नेपाली कांग्रेसलाई केन्द्रमा मुख्य प्रतिपक्षको हैसियतमा राखेको छ। प्रजातन्त्रिक मूल्य र मान्यताले प्रतिपक्षलाई शासनको अधिकार नदिए पनि जिम्मेवारी सत्ताको भन्दा ठूलो दिएको हुन्छ। सत्तालाई सुधार्ने, उसका गल्तीलाई औँल्याउने, उसलाई जिम्मेवार र उत्तरदायी बनाउने, सत्ताका कमजोरीबारे आज जनतालाई सूचित गराउने र सचेत बनाउने, अनि राष्ट्र र प्रजातन्त्रका लागि आवश्यक परेमा सत्ता गिराउने नैतिक, राजनैतिक र संवैधानिक दायित्व प्रतिपक्षको हुन्छ। तर, प्रतिपक्षले यो गहन जिम्मेवारी त्यसबेला मात्र पूरा गर्न सक्छ जब ऊ राष्ट्रियता र प्रजातन्त्रप्रति समर्पित रहन्छ, त्योसँगका मूख्य र मान्यताको प्रचार मात्र हैन अभ्यास पनि गर्ने गर्छ, आन्तरिक राजनीति र दल सञ्चालनमा।

नेपाली कांग्रेसमाथि प्रभावकारी प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप आम नागरिकमा मात्र हैन, पार्टी भित्रैबाट उठ्न थालेको छ। सरकार, जनता र संसदप्रति उत्तरदायी नहुँदा, भ्रष्टाचारमा लिप्त हुँदा पनि सरकारप्रति नतमस्तक बन्दै छ भन्ने आरोप या अभिव्यक्ति बृहद रुपमा पार्टीभित्रबाट लाग्नु नेतृत्व तहका लागि चुनौती हो, आत्मसमीक्षाका लागि एउटा ठूलो अवसर पनि।

नीति निर्धारणमा आन्तरिक बहसको अभाव, नेताहरुको बाह्य दाताहरुसँगको साँठगाँठदेखि लिएर चुनावमा टिकट वितरणमा हुने नेतृत्व तहको अंशबण्डा जस्ता विषयलाई कुनै पनि तहबाट चुनौती आउन सक्छ नेपाली कांग्रेसभित्र।

अहिले नेपाली कांग्रेसका दुई पूर्व मन्त्री र एकजना जिल्लास्तरीय नेता (डडेलधुराका नेता) लाई गत चुनावमा पार्टीका आधिकारिक नेताविरुद्ध काम गरेको आरोपमा निष्काशन गरिएको छ दलबाट। प्रजातन्त्र स्थापना संघर्षकालदेखि नै सक्रिय आन्दोलनमा रहेका गोविन्दराज जोशी, विद्यार्थी आन्दोलबाट राष्ट्रिय राजनीतिमा आई मन्त्री बनेका पुष्करनाथ ओझा र नेपाली कांग्रेसका डडेलधुरा जिल्ला सचिव रामबहादुर बिष्टलाई पार्टीबाट निष्कासित गरिएको छ। संयोग उनीहरुविरुद्ध पार्टीका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र बरियतामा दोस्रो स्थानमा रहेका रामचन्द्र पौडेल विरुद्ध काम गरेको आरोपमा यो अतिवादी कदम उठाइएको छ। के आगामी महाधिवेशनमा देउवा र पौडेलबीच साँठगाँठको संकेत त हैन यो?

राजनीतिक दल विचारबाट निर्देशित र नेतृत्वदेखि सबै तहका कार्यकर्ताहरुको समर्पण, प्रतिवद्धता र अनुशासनबाट सिञ्चित संगठन मानिन्छ । त्यसैले अनुशासन उल्लंघनलाई गम्भीर विचलनका रुपमा हेरिन्छ । तर जुन दल स्वयम् आफ्नै विधानद्वारा निर्देशित अनुशासनबाट चल्दैन, त्यसमा अनुशासनको उल्लंघन कुन तह या व्यक्तिबाट भयो, कसरी निर्क्यौल गर्ने ? नीति निर्धारणमा आन्तरिक बहसको अभाव, नेताहरुको बाह्य दाताहरुसँगको साँठगाँठदेखि लिएर चुनावमा टिकट वितरणमा हुने नेतृत्व तहको अंशबण्डा जस्ता विषयलाई कुनै पनि तहबाट चुनौती आउन सक्छ नेपाली कांग्रेसभित्र। दुई उच्चतम तहका नेताको स्वार्थका आधारमा गरिने यस्ता निष्काशन र अन्य निर्णयले नेपाली कांग्रेस आगामी दिनमा ‘प्राइभेट इन्टरप्राइज’ बन्ने छ। बिपी, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई आदिको फोटो पार्टी कार्यालयमा झुण्ड्याएर नेपाली कांग्रेस न प्रजातान्त्रिक बन्न सक्छ, न राष्ट्रिय नै।

साउन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्