घटुवा भए बोर्नमाउथ र वाट्फोर्ड

बोर्नमाउथ र वाट्फोर्ड इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेका छन् ।

लिग अन्तर्गत यो सिजनको अन्तिम खेलमा आइतबार राति भएको खेलमा जिते निकालेर पनि बोर्नमाउथ घटुवा हुनबाट जोगिन सकेन । यस्तै पराजित भएको वाट्फोर्डले पनि आफूलाई शीर्ष लिगमा कायम राख्न सकेन ।

अवे मैदानमा भएको खेलमा बोर्नमाउथले एभर्टनलाई ३–१ ले पराजित गरेको हो । उसका लागि १३ औँ मिनेटमा पाएको पेनाल्टीमा किङ्ग, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सोलान्की तथा ८० औँ मिनेटमा स्टानिस्लासले गोल गरेका हुन् । एभर्टनका लागि केनले एक गोल फर्काए ।

जितपछि ३४ अंक बनाएको बोर्नमाउथ एस्टन भिल्ला भन्दा एक अंकले पछि परेर रेलिगेशनमा पर्‍यो । वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेको एस्टन भिल्ला ३५ अंकसहित १७ औँ स्थानमा रहेर आउँदो सिजन पनि प्रिमियर लिग खेल्ने भयो ।

अर्को खेलमा आर्सनलसँग ३–२ ले पराजित भएसँगै प्रिमियर लिगै रहने वाट्फोर्डको सपना पनि चकनाचुर भयो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि पिएर एमरिकले पाँचौँ मिनेटमा पेनाल्टी तथा ३३ औँ मिनेटमा गरी दुई गोल गरे ।

यस्तै टिएर्नीले २४ औँ मिनेटमा गोल गरेका हुन् । वाट्फोर्डका लागि ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा डीनी तथा ६६ औँ मिनेटमा वेलबेकले गोल गरे पछि हार टार्न सकेनन् र रेलिगेशनमा पर्न बाध्य भयो वाट्फोर्ड ।

वाट्फोर्ड ३४ अंकसहित पुछारबाट दोस्रो स्थानमा रह्यो । ५६ अंकसहित आर्सनल आठौँ स्थानमा रह्यो । तर उसले आउँदो सिजन युरोपा लिग खेल्न पाउने छैन ।

अब आउँदो सिजन बोर्नमाउथ र वाट्फोर्डले च्याम्पियनसिप खेल्ने छन् । यसअघि नै नर्विच सिटी रेलिगेशनमा पर्ने पक्का भइसकेको थियो ।

साउन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्