बालविवाहको परिणाम र त्रास

हिरासतमा रहेकी किशोरी भन्छिन्: म कुनै हालतमा आफ्नो गर्भ फाल्दिनँ

वीरेन्द्रनगर– अनुहारमा डर प्रस्ट देखिन्छ। पसिना झरिरहेको छ। प्रायः भुइँतिर हेरेर टोलाउँछिन्। कसैले प्रश्न सोध्दा झस्किन्छन्। घरीघरी आफ्नो पेट सुम्सुम्याउँछिन्। भर्खरै उनको पेटमा गर्भ बसेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रतिक्षालयमा बसिरहेकी सुर्खेत निर्वाचन क्षेत्र २ की १७ वर्षीया किशोरी राधिका (नाम परिर्वतन) सँगसँगै उनका आमाबुवा पनि त्यहीँ छन्।

राधिका जस्तै तनावमा देखिन्छन् उनीहरु पनि। केहीबेरमै उनीहरुले आफ्नी छोरी राधिकाविरुद्ध बालविवाहको आरोपमा जाहेरी दिन्छन्।

उनीहरु छोरीलाई भगाउने रोशन (नाम परिवर्तन)विरुद्ध पनि जबर्जस्ती करणीको आरोपको जाहेरी दिन्छन्। जाहेरीको असर के हुन्छ भन्नेबारे जानकारी नभएकी राधिकालाई हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्ने निष्कर्षमा प्रहरी पुगेको छ।

थुनामा जानुपर्ने थाहा पाएपछि राधिका अत्तालिन्छन्। उनका आँखा टिल्पिलाउँछन्। आफूले भागेर विवाह गरेका रोशनलाई हेर्दै उनी हिरासततर्फ मोडिन्छिन्। यता राधिकाको जस्तै उमेरले १७ वर्षमा टेकेका रोशनलाई पनि प्रहरीले हिरासतमा पुर्‍याउँछ।

राधिका र रोशन हिरासतमा पुगेपछि राधिकाका आमाबुवा मन गाँठो पार्दै घरतिर लाग्छन्। राधिका यो पटकसमेत गरेर रोशनसँग चार पटक भागिसकेकी रहिछन्।

अघिल्ला तीन पटक उनका बुवाआमाले रोशनबाट छुटाएर ल्याउन सफल भए। तर, यसपटक भने केही नलागेर आफ्नै छोरी प्रहरीको जिम्मा लगाउन बाध्य भएको उनीहरु बताउँछन्।

वास्तवमा उनीहरु दुई कुराले पिरोलिएका थिए। पहिलो राधिकाको विवाह गर्ने उमेर पुगेको छैन। दोस्रो क्षेत्रीकी छोरी राधिका दलितका छोरा रोशनसँग भागेकी थिइन्। तर जातबारे प्रहरीका अघिल्तिर उनीहरुले मुख खोल्न सकेका छैनन्।

राधिकाकी आमा भन्छिन्, ‘उमेर नपुगेकी मेरी छोरीलाई कसरी विवाह गर्न दिने? पढाउने लेखाउने सबै रहर मर्‍याे।’

छोरी गर्भवती भएको उनलाई जानकारी छ। तर आफू जाहेरी दिन बाध्य भएको उनी सुनाउँछिन्।

केटी पक्षबाट केटा पक्षलाई धाकधम्की


राधिका र रोशनलाई हिरासतमा राखिएको भोलिपल्ट रोशनका आमाबुबा प्रहरी कार्यालयमा बिलौना गर्न पुग्छन्। त्यतिबेला बालविवाहलाई कानुनले निषेध गरेकाे बारे रोशनका आमाबुबा अनविज्ञ छन्। आफूहरु दलित भएकाले यो सबै घटना भएको उनीहरुको बुझाइ छ।

रोशनका बुबा भन्छन्, ‘मेरो छोरीले क्षेत्रीको छोरी भगायो। उनीहरुले गरेको विवाहलाई हामीले अस्वीकार गर्न पनि मिलेन। तर केटी पक्षबाट हामीलाई धेरै नै धाकधम्की आएका छन्।’

रोशनले राधिकालाई लिएर भागेपछि राधिकाको घरपरिवारबाट आफूहरुलाई मार्नेसम्मको धम्की आएको रोशनका बुबा दाबी गर्छन्। त्यसकारण उनले आफ्नो ज्यानको सुरक्षा गरीपाऊँ भन्दै केटी पक्षविरुद्ध जाहेरीसमेत दिएका छन्।

रोशनकी आमा भन्छिन्, ‘गल्ती गरेको भए छोराछोरीले गरे होलान्। त्यसको सजाय हामीलाई किन दिन खोजिएको छ? हामीले बुझ्न सकेका छैनौँ।’

रोशनको परिवारको आर्थिक स्थिति अत्यन्त नाजुक छ। बिहान बेलुका छाक टार्नसमेत मुस्किल छ। गरिबी पिरलो झेलिरहेको यो परिवार सात कक्षामा पढ्दा पढ्दै छोडेर होटलमा काम गर्दै आएका रोशनले राधिकालाई भगाएपछि थप तनावग्रस्त बनेको छ।

उनीहरुलाई एकातिर आफूहरुलाई केही गर्ने हुन् कि भन्ने डर छ भने अर्कोतिर छोरा जेल जाने भो भन्ने पनि चिन्ता छ ।

अब के होला?


जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार केटी पक्षको जाहेरी दर्ता भएसँगै राधिका र रोशनले सरकारी वकिल कार्यालयमा प्रारम्भिक बयान दिएपछि उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थपिएको छ।

राधिका र रोशनले आफ्नो सम्बन्ध कसरी बचाउने भन्ने उद्देश्यसहित बयान दिएको बुझिएको छ। वास्तवमा उनीहरु अब छुट्टिन चाहन्नन्।

स्रोतका अनुसार राधिकाले जस्तोसुकै अवस्था आइलागे पनि आफूले रोशनलाई नछोड्ने अडान लिएकी छिन्। रोशन पनि राधिकालाई नछोड्ने पक्षमा पुगेका छन्।

राधिकाले आफ्नो पेटमा हुर्किरहेको बच्चालाई जन्माउने अडान लिनेछिन् या जर्वजस्ती करणी भएको भन्दै गर्भपतन गर्नेछिन् त्यो अझै निश्चित छैन।

कानुनले जर्बजस्ती करणीबाट रहन पुगेको गर्भलाई नष्ट गर्ने छुट दिएको छ। काननु व्यवसायी गीता कोइरालाका अनुसार रोशनको हकमा अधिकतम् २५ दिन प्रहरीले अनुसन्धान गरी उनीहरुलाई अदालतमा उपस्थित गराउनु पर्छ।

त्यतिबेला अदालतले रोशन नाबालक नै ठहरिएमा उनलाई सुधार केन्द्र पठाउने या धरौटीमा छुटाउने मध्ये एक विकल्प दिने देखिन्छ।

राधिकालाई भने आफ्नो गर्भ फाल्ने या जोगाउने दुबै सुविधा कानुनले उपलब्ध गराएको छ। उमेर पुगेपछि अर्थात २० वर्ष पूरा भएपछि राधिका र रोशनले चाहेमा विवाह गर्न सक्ने छन्।

तर राधिकाका आमाबुवाले उनीहरुको विवाहलाई भविष्यमा पनि स्वीकार गर्ने सम्भावना छैन।

उनीहरु निकट एक आफन्त भन्छन्, ‘उहाँहरुलाई सबैभन्दा ठूलो पीर बालविवाहभन्दा पनि आफ्नी छोरी दलितसँग विवाह गरेकोमा भएको हो। उहाँहरु जसरी पनि यो विवाह असफल बनाउने मुडमा हुनुहुन्छ।’

जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलका अनुसार सुर्खेतमा यस्तो प्रकृतिको घटना सम्भवतः पहिलो हो।

सेलमा यसअघि पनि बालविवाहविरुद्ध जाहेरी परेका छन्। तर अधिकांशलाई आआफ्ना अभिभावकलाई जिम्मा लगाउने गरिएको थियो।

स्रोत भन्छन्, ‘बालविवाह गरेर गर्भवती भएको अवस्थामा यसअघि कोही पनि थुनामा परेका थिएनन्। यो घटना आफैमा अनौठो छ। बालबालिका दुवैजना जसरी पनि आफ्नो सम्बन्ध र गर्भ बचाउन चाहन्छन्।’

घटनाको सहजीकरणका लागि प्रहरी कार्यालय धाइरहेकी एक जनप्रतिनिधि भन्छिन्, ‘वास्तवमा यहाँ बालविवाहको समस्यासँगै जातीय विभेदको विषय पनि जोडिएको छ। बालविवाह गर्नु दोष हो। तर दलितसँग विवाह गरेको भन्दै धम्कीहरु आउनु अस्वाभाविक हो।’

बालविवाहका कारण धेरै बालबालिकाको जीवन धरापमा परेपछि यसविरुद्धको कानुन सरकारले बनाएको थियो। अर्कोतिर जातीय छुवाछुत र भेदभावविरुद्धको कानुन पनि कार्यान्वयनमा छ।

तर व्यवहारमा भने अझै पनि जातीय भेदभाव यत्रतत्र छ। कर्णाली प्रदेश त सबैभन्दा धेरै बालविवाह हुने प्रदेश भनेर ‘बदनामी’ नै कमाएको छ। ठिक दुई महिनाअघि रुकुममा भएको ६ जनाको ज्यान लिएको घटना पनि जातीय छुवाछुतसँगै सम्बन्धित रहेको छानबीनबाट पुष्टि भइसकेको छ।

उक्त घटनाले बालविवाह, छुवाछुत एवं जातीय भेदभाव रोक्न कानुन तर्जुमा मात्र नभएर जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकतामा राख्नुपर्ने टड्कारो देखिएको छ।

रुकुमको घटनामा जातीय विभेदका सामु नवराज बिकको केही लागेन। सुर्खेतका राधिका र रोशनको गाथाले कुन बाटो लिन्छ त्यसका लागि भने अदालतको अन्तिम फैसला पर्खनु पर्ने हुन्छ।