गुरुयोजनाका नाममा पशुपति क्षेत्रको ‘प्राचीनता’ मास्ने तयारी

पशुपति क्षेत्रको बृहत्तर विकासका नाममा तयार गरिएको गुरुयोजना अहिले विवादको घेरामा छ। पशुपति क्षेत्र विकास कोषले तयार पारी सञ्चालक परिषद्ले पारित गरिसकेको गुरुयोजनाले धार्मिक आस्था, पुरातात्विक र साँस्कृतिक महत्वको क्षेत्रको विकासको साटो तिनलाई अवमूल्यन गरेको भन्दै सम्पदाविद तथा सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन्।

गुरुयोजनाविरुद्ध पशुपत्ति क्षेत्रका स्थानीय बासिन्दा तथा सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएकाहरुले विरोध थालेका छन्। उनीहरुका अनुसार पशुपति क्षेत्र विकास कोषले विस्तृत अध्ययन तथा बृहत्तर छलफल नै नगरी हतारोमा गुरुयोजना भनेर ‘अवधारणा’ तयार गरेको र त्यसमा पनि संस्कृति, प्राचीन महत्व र आस्थामाथि ठेस पुग्ने योजना समावेश भएको बताएका छन्।

पशुपति क्षेत्र विकास कोषले भने अध्ययन तथा छलफल गरेर मात्र आफूले गुरुयोजना नै तयार पारेको दाबी गरेको छ। केही समूहले धर्म र संस्कृतिमा विश्वास नराख्ने ‘कम्युनिष्ट’ र पश्चिमाहरुबीचको षडयन्त्रका कारण धर्म–संस्कृतिको जगमा प्रहार हुन लागेको आरोप समेत लगाएका छन्।

एक सय वर्षसम्मका लागि उपायोगी हुने भनी पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पारित गरेको गुरुयोजनामा पाँच–पाँच वर्षका तीन चरण मात्रै छन् । प्रथम चरण २०७७–०८२, दोस्रो चरण २०८२–०८७ र तेस्रो चरण २०८७–०९२ सम्मको छ । कुल १५ वर्षमा ३३ अर्ब खर्च लाग्ने उल्लेख सो गुरुयोजनामा छ ।

गुरुयोजना सञ्चालक परिषदबाट पारित भई मन्त्रिपरिषदमा पठाइएको थियो फागुनमा । सो गुरुयोजना हालै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि आएको थियो, सम्पदाविद्ले‌ आपत्ति जनाएपछि संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीय सरोकारवालासँग छलफल गर्न आदेश दिएको छ । कोषले अहिले पनि छलफलको क्रम जारी रहेको बताए पनि सरोकारवाला पक्ष विरोध गरिरहेका छन् ।

‘गुरुयोजना नै होइन’

पशुपति क्षेत्र विकासका कोष सञ्चालक परिषदका पूर्व सदस्य सचिव चेतोनाथ गौतमको संयोजकत्वमा तयार पारिएको गुरुयोजनालाई सम्पदा संरक्षण–सम्बद्र्धनमा लाग्दै आएका अध्येता तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डनले ‘गुरुयोजना’ नै भन्न नमिल्ने बताएका छन् ।

पछिल्लो पटक २०७०–०७४ सम्म पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालेका डा. टण्डनले भने, ‘यसमा पशुपति क्षेत्रको मूर्त–अमूर्त सम्पदाको संरक्षण, प्राचिन परम्पराको संरक्षणसहित थप बिस्तार तथा विकासका लागि भन्दा पनि भएका संरचना एवम् आस्थामाथि प्रहार गर्ने उद्देश्य देखिन्छ।’

डा. टण्डनले भने, ‘यो त केही लाखको लागतमा तयार पारिएको निबन्ध मात्रै हो। गुरुयोजना यस्तो हुँदैन । गरिने छ, हुनेछ भन्ने हुँदैन । गुरुयोजनामा त के गर्ने स्पष्ट खाका हुन्छ । नाप नक्सा हुन्छ । विस्तृत योजना प्रतिवदेनसहित आउँछ गुरुयोजना । त्यसमाथि एक व्यक्तिको संयोजकत्वमा तयार पारिएकोलाई कुनै पनि हालतमा गुरुयोजना मान्न सकिँदैन ।’

डा. टण्डनले पशुपति क्षेत्रको साँस्कृतिक पक्षमा विद्यावारिधि गरेका छन्। उनले भने, ‘गुरुयोजनाको अवधारणा २०५८ सालमा आएको थियो । २०५३ सालमा तयार पारी २०५६ सालमा सरकारबाट स्वीकृति भएको थियो त्यो । त्यसको समीक्षा नै नगरी अर्को अवधारणा आएको छ । अहिलेको चरण अवधारणा बनाउने होइन । अहिले त भू–उपयोगसहितको संरचनागत विकासको विस्तृत खाका र नक्सासहितको योजना आउनु पर्ने अवस्था हो ।’

पशुपति क्षेत्रको साँस्कृतिक पक्षका जानकार तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य (काठमाडौँ क्षेत्र नम्बर ४ (क)) नरोत्तम वैद्यले पनि पशुपति क्षेत्र विकास कोषले अहिले तयार पारेको गुरुयोजनालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । उनले भने, ‘अहिलेको खाका त निबन्ध जस्तो छ । गुरुयोजना त बिस्तृत आउनु पर्छ ।’

‘प्राचीन कालदेखि बस्दै आएको बस्तीलाई हटाएर अनि, हिन्दुहरुको आस्थामाथि प्रहार गरेर पशुपति क्षेत्रको विकास हुन सक्दैन’, उनले भने, ‘साँस्कृतिक–धार्मिक तथा पुरातात्विक क्षेत्रको विकासको गुरुयोजनाले भएका संरचना हटाउने होइन त्यसको संरक्षण र सम्वर्द्धन गरी प्राचिनतालाई थप बिस्तार गर्ने गरी समय अनुसारका आवश्यकताहरुलाई समावेश गर्नु पर्छ । कोषले यसको ठीक उल्टो बाटो हिँड्न खोजेको छ ।’

स्थानीय, प्रादेशिक तथा संघीय तहमा छलफल भइ सबैको एक मत भएर आउनु पर्ने गुरुयोजना सीमित र निहित मान्यता बोकेका व्यक्तिको संलग्नतामा निबन्ध जस्तो आएको उनले बताए ।

तर पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले भने सबै पक्षसँग छलफल गरेर गुरुयोजना तयार पारिएको दाबी गरे । प्राविधिक पक्ष थप्दै जाने र छलफललाई निरन्तरता दिने अवधारणामा नै उल्लेख गरेको उनले बताए । यसैगरी अहिले विवादित बनेको गुरुयोजनाका संयोजक चेतोनाथ गौतमले पनि आफूले सबै पक्षसँगको परामर्शमा गुरुयोजना तयार पारेको दाबी गरेका छन् ।

सिटौला र गौतमले सम्बन्धित सरोकारवालासँग परामर्श गरेको दाबी गरे पनि विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रको गुरुयोजना बनाउँदा पुरातत्व विभाग, युनेस्कोसहितसँग बृहत छलफल हुनु पर्नेमा त्यसो भएको छैन । पुरातत्व विभागले गुरुयोजना तयार पार्दा आफूसँग परामर्श नगरिएकोमा गुनासो गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार पशुपति क्षेत्रको विवादित गुरुयोजना सम्बन्धमा भएको छलफलमा विभागका प्रतिनिधिले आफूहरुसँग छलफल तथा परामर्श नभएको र यस्तो गर्न नहुने बताए । लिखित रुपमा माग गर्दा पनि अहिलेसम्म गुरुयोजनाको कपी समेत आफूहरुले नपाएको पुरातत्व विभागले उल्लेख गरेको छ ।

‘संस्कृतिमाथि जोखिम, आस्थामा प्रहार’

आर्यघाट । तस्बिर : रविन आचार्य/देश सञ्चार

‘पशुपतिनाथको जललाई भस्मेश्वर दक्षिण ल्याएर तारकेश्वरको स्थापना गरी ब्रह्मनाल निर्माण गर्न आवश्यक देखिन्छ । यसो गर्दा भस्मेश्वर र विद्युत शवदाह गृह दुवैमा मृतकलाई दाह संस्कारका लागि लैजान सजिलो हुन्छ । पशुपति दर्शन गर्न जानेले पनि लास र मलामीको स्पर्श गर्नु पर्दैन ।’

गौतमको संयोजनमा पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा उल्लेख भएको कुरा हो यो । गुरुयोजनाले हालका एक र दुई नम्बरका चीता आर्यघाट पशुपतिनाथको मुल मन्दिर नजिकै रहेको र त्यहा दाहसंस्कार हुँदा भक्तजनलाई असजिलो भएको दाबी गरी त्यसलाई सम्भवसम्म विस्थापित गर्नु पर्ने उल्लेख छ । ब्रह्मनाल पनि भस्मेश्वरमा लगिने उल्लेख छ ।

तर पशुपति क्षेत्र विकास कोषका प्रवक्ता सिटौला तथा गुरुयोजनाका संयोजक गौतमले ब्रह्मनाल र आर्यघाट सार्ने कुरा उल्लेख नरहेको दाबी गरेका छन् । तर उनीहरुको दाबी गुरुयोजनामा उल्लेख भएको भन्दा विपरित छ ।

धर्म–संस्कृतिविद वासुदेव कृष्णशास्त्रीले प्राचिन देवालय निर्माणसँग सम्बन्धित प्राचीन वास्तु शिल्पशास्त्र अनुसार पुशपतिका देवालयहरुको निर्माण भएकाले त्यस विपरित हुने कुनै पनि निर्माण वा पुनर्निर्माण हुन नहुने बताए ।

उनले भने, ‘ब्रह्मनाल पशुपतिको प्रारम्भदेखिको हो । यससँग पशुपतिको पहिचान जोडिएको छ । पशुपतिको अर्घ्यको पानी सिधै आर्यघाटमा जान्छ । त्यसलाई पाइप लगाएर वा अन्य उपायबाट अन्त लैजान मिल्दैन । यो कार्य पशुपतिको मुल मर्यादा विपरित हुन्छ ।’

कोषका पूर्व सदस्य सचिव डा. टण्डनका अनुसार पशुपतिबाट निस्कने जल भस्मेश्वरसम्म लैजान सकिने कुनै सम्भावना छैन । उनले भने, ‘पशुपतिनाथबाट आउने जल भएकाले अर्घ्य जल भनिन्छ त्यसलाई । पशुपतिको चरणबाट आउने जल जीवनको अन्तिमकालमा प्रसाद स्वरुप लिन पाए वैकुण्ठ बास हुने र पुर्नजन्मको चक्रबाट मुक्ति मिल्ने विश्वास छ । त्यहि भएर शव ब्रह्मनालमा लगिन्छ । तर अहिलेको अवधारणमा भनिएको जस्तो पशुपतिको चरणबाट आएको जल भस्मेश्वरमा लैजाने सम्भवनै छैन ।’

प्रदेश सांसद तथा सम्पदा संरक्षणका अभियन्ता नरोत्तम वैद्यले पनि ब्रह्मनाल भस्मेश्वरमा निर्माण गर्न सम्भव नरहेको र अहिलेको ब्रह्मनाललाई विस्थापित होइन व्यवस्थित गरिनु पर्ने बताए । उनले भने, ‘ब्रह्मनाल र आर्यघाटलाई व्यवस्थित गर्नु पर्नेमा त्यसलाई अन्यत्र साने विकल्प खोज्ने कल्पना भएको छ, यो आस्थामाथिको ठाडो आक्रमण हो । हामी कुनै पनि हालतमा अहिलेकै अवस्थामा यो गुरुयोजना पारित हुन दिँदैनौँ ।’

गुरुयोजनामा पश्चिम ढोका भत्काएर पशुपतिको प्राङ्गढ बिस्तार गर्ने र कुलानन्द झा सत्तलको पश्चिमोत्तर स्थानमा कलात्मक पश्चिमद्वार निर्माण गर्ने उल्लेख छ । राजा महेन्द्रको पालामा पशुपतिको सुरुक्षाका लागि २०१५–२०१६ सालमा बनाइएको उक्त पश्चिम ढोका भत्काएर प्राङ्गढ बिस्तार गर्ने योजनामा राजनीति घुसेको पनि बताइन्छ । बरु त्यो बाहिरका स्थानलाई व्यवस्थित गरिएमा समस्या समाधान हुने डा. टण्डनको ठहर छ । कोषको ध्यान पुराना संरचनाको संरक्षण नभइ भत्काएर सौन्दर्य कायम हुन्छ भन्ने तर्फ देखिएको उनको भनाई छ ।

गुरुयोजनामा गुप्तेश्वर र बिरामी कुरुवा सत्तलको माथिल्लो भागलाई हटाउने उल्लेख छ । तर जीवनको अन्तिम समयमा पशुपतिमा प्राण त्याग गर्न चाहनेहरु बस्ने सो सत्तल हटाउँदा पशुपतिको मुल महत्व नै गुम्ने चिन्ता भएको डा. टण्डन र वैद्यले बताए ।

‘व्यापारिक स्वार्थ’

गुरुयोजनामा मङ्गलागौरी, चार शिवालय र त्रिविक्रममा पार्किङ्ग तथा व्यवासयिक प्रयोजनको बहुउदेश्यीय भवन निर्माण गर्ने उल्लेख छ । पर्यटक तथा भक्तजनका लागि आधुनिक सुविधा सम्पन्न भवन बनाइने उल्लेख पनि छ ।

तर धार्मिक, साँस्कृति एवम् पुरातात्विक महत्वको क्षेत्रमा व्यापारिक प्रयोजनको भवन बनाउनु स्वीकार्य नरहेको वैद्यले बताए ।

डा. टण्डनले आधुनिक सेवा बिस्तारका नाममा पशुपति क्षेत्रलाई व्यापारिकरण गर्ने उद्देश्य ‘गुरुयोजना’ मा देखिएको बताए । उनले भने, ‘पशुपति क्षेत्रको महत्व, ब्रह्मनाल, जीवनको अन्तिम समय बिताउनका लागि पशुपति क्षेत्र पुग्नहरु बस्ने सत्तल, आर्यघाट र त्यहाँका प्राचिन संरचना तथा मूर्त–अमूर्त सम्पदाकै कारण हो । त्यसविपरित व्यवसायिक मल बनाइन्छ र प्राचिन संरचना भत्काइन्छ भने यसलाई कसरी विकास भन्न मिल्छ र?’

पशुपति मन्दिरका भण्डारी केदारमान भण्डारीले कोषले ल्याएको गुरुयोजनाले पशुपतिको धार्मिक, साँस्कृतिक, पुरातात्विक एवम् आस्थामाथि प्रहार गरेकाले आफूहरु विरोधमा रहेको बताए । गुरुयोजना हेर्दा पशुपतिको प्राचिनतालाई ‘विनाश’ गर्ने उद्देश्य प्रष्ट रुपमा देखिएको दाबी भण्डारीको छ । कोषको अहिलेको नेतृत्व ‘कसैको’ प्रभावमा आएर पशुपतिको मौलिकता मास्ने खेलमा लागेको आशंका भण्डारीको छ ।