प्रधानमन्त्री ओली ‘की प्लेयर’ बामदेवको घरमै

काठमाडौँ-  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न मंगलबार साँझ उनको निवास भैँसेपाटी पुगेका छन्। प्रधानमन्त्री ओली सहभागी हुन अस्वीकार गरेको नेकपाको अर्को प्रभावशाली खेमा दाहाल-नेपालको बहुमत रहेको अनौपचारिक स्थायी समिति सदस्य बैठकमा मंगलबार दिउँसो मध्यमार्गी प्रस्ताव राखेर उपाध्यक्ष गौतमले बहुमत सदस्यहरुको मुड फेरिदिएका थिए।

प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य पनि छन्। स्रोतका अनुसार करिब ७ बजे गौतम निवास भैँसेपाटी पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ पारिवारिक भेटघाटमा समय बिताएका छन्।

नेकपाभित्रको गहिरिँदै गएको विवादबीच उपाध्यक्ष गौतम ‘की प्लेयर’ बनेका छन्। उनले मंगलबारको अनौपचारिक स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई पाँच वर्षसम्म पदबाट नहटाउने गरी मध्यमार्गी प्रस्ताव प्रस्तुत गरेका थिए।

नेकपाभित्रको शक्ति सन्तुलनमा बामदेवले प्रभावशाली भूमिका खेल्ने गरेका छन्। केही महिनाअघि बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको ‘क्षेप्यास्त्र’पछि नेकपाभित्रको शक्ति सन्तुलनमा गहिरो धक्का पुगेको थियो।

 

साउन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्