ट्रम्प फेरि अप्रमाणित र जोखिमयुक्त औषधि हाइड्रोक्सिक्लोरोक्वीनको पक्षमा

विश्व स्वाथ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य विज्ञहरु तथा वैज्ञानिक अनुसन्धान विपरित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्नु पर्ने पक्षमा वकालत गरेका छन् ।
ट्रम्पले लगातार हाइड्रोक्सिक्लोरोक्वीको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट जोगिने वा संक्रमण निको हुने बताउँदै आएका थिए । उनले केही समयअघि संक्रमणबाट जोगिनका लागि आफूले सो औषधि खाएको पनि बताएका थिए ।
तर अमेरिकाकै स्वास्थ्य विज्ञ, डब्लुएचओ तथा वैज्ञानिक अनुसन्धानहरुबाट मलेरियाविरुद्धको औषधि कोरोना भाइरसविरुद्धको उपचारमा प्रभावकारी नहुने देखिएको छ ।
यसको प्रयोगले कोरोना भाइरसबाट संक्रमितमा मुटु सम्बन्धी समस्या आउन सक्ने र कतिपय अवस्थामा मृत्युदर बढ्न सक्ने भन्दै परीक्षण बाहेकका अवस्थामा प्रयोगमा रोक लगाएको छ ।
र पनि ट्रम्पले पुनः कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गर्नु पर्ने र सो औषधि प्रभावकारी हुने बताएका छन् । आफूले सुझाएका कारण कोभिड–१९ को उपचारमा होइड्रोक्सिक्लोरोक्वीनको प्रयोग अस्वीकार गरिएको आरोप ट्रम्पले लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरले ट्रम्पका जेठो छोराले हाइड्रोक्सिक्लोरोक्वीको प्रशंसा गरी बनाएको भिडियो पोस्ट गर्न प्रतिबन्ध लगाएको भोलिपल्ट उनको यस्तो भनाई आएको हो ।
अहिलेसम्म भएका अनुसन्धानमा हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसका संक्रमितलाई फाइदा गर्ने प्रमाण भेटिएको छैन । नियामकहरुले यसको प्रयोगले मुटु सम्बन्धी समस्या आउन सक्ने भन्दै चेतावनी दिने गरेका छन् ।
अनुसन्धान प्रतिवेदनमा यो औषधिको प्रयोगले मुटुको चालमा गम्भीर समस्या आउन सक्ने तथा अरु स्वास्थ्य समस्याहरु पनि हुने देखिएपछि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गएको महिना हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग नगर्न सावधान गराएको थियो ।
उसले कोरोना भाइरसबाट संक्रमितको उपचारमा आकश्मिक रुपमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग पनि बन्द गर्न भनेको थियो । डब्लुएचओले अहिलेसम्म कोभिड–१९ को उपचारमा यसले सहयोग गर्ने भन्ने कुनै प्रमाण नरहेको बताएको छ ।
तर ट्रम्प अझै पनि सोही औषधिमा अड्किएका छन् । ट्रम्पले पहिलोपटक गएको मार्चमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग कोभिड–१९ का बिरामीलाई दिनु पर्ने बताएका थिए । मंगलबार ह्वाइट हाउसमा ट्रम्पले पत्रकारसँग भने, ‘जब मैले केही सुझ्याउँछु, उनीहरु–हुँदैन यो प्रयोग नगर भन्छन् ।’
७३ वर्षका ट्रम्पले गएको मे मा आफूले हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका थिए । मंगलबार उनले १४ दिनसम्म हाइड्रोक्सिक्लोरोक्वीन खाएको र त्यसको कुनै साइडइफेक्ट्स नदेखिएको बताए । उनले फेरि एकपटक कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी रहेको घोषित गरे ।
हाल प्रतिबन्धित भिडियोमा डाक्टरहरुले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोभिड–१९ को उपचारका रुपमा दाबी गरिएको छ र संक्रमण रोक्नका लागि मास्कको प्रयोग गर्नु नपर्ने उल्लेख छ ।
सो भिडियो क्लीप ८४ मिलियन फलोअर्स भएको ट्रम्पको ट्वीटर एकाउन्टमा पोस्ट भएको थियो । यस्तै फेसबुकमा सो भिडियो १७ मिलियन भन्दा बढी पटक हेरिएको छ । त्यसबारे सोधिएको प्रश्नमा ट्रम्पले भिडियोमा देखिएका व्यक्तिहरु ‘अति सम्मानित डाक्टरहरु’ रहेको बताए ।
मंगलबार नै सरुवा रोग सम्बन्धी अमेरिकाका शीर्ष डाक्टर एन्थोनी फाउचीलाई सोधिँदा उनले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रभावकारिता प्रमाणित नभएको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ४३ लाख भन्दा बढी रहेको छ र त्यसमध्ये एक लाख ४९ हजार भन्दा धेरैको ज्यान गएको छ ।