दोश्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन आगामी अक्टोबरमा

अनलाइन बैठकमार्फत् 'दोश्रो गैरआवासीय नेपाली ज्ञान सम्मेलन' घोषणा गदै एनआरएनए ।

काठमाडौँ – गैरआवासीय नेपाली संघले आगामी अक्टोबर ९ देखि ११ तारिखसम्म (२०७७ असोज २३–२५) ‘दोस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन’ आयोजना गर्ने भएको छ ।

नेपाल सरकारको सहकार्यमा हुने उक्त ज्ञान सम्मेलन कोभिड–१९ का कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गरी भौतिक रूपमा वा अनलाइनमार्फत् आयोजना गरिने संघले जनाएको छ । परिस्थिति समान्य बनेको अवस्थामा अक्टोबरमा काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा सम्मेलन आयोजना गरिने संघले जानकारी दिएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालीको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालमा भित्र्याउन संघले ज्ञान सम्मेलनमार्फत् पुलको काम गर्दै आएको बताए ।

“केही वर्ष अघिसम्म गैरआवासीय नेपालीको आर्थिक लगानी मात्र नेपालमा भित्रिने गरेको देखिन्थ्यो”, उनले भने, “आर्थिक लगानीबाहेक गैरआवासीय नेपालीको बौद्विक लगानीलाई समेत नेपालको विकास र समृद्धिसँग जोड्न ज्ञान सम्मेलन आयोजना हुँदै आएको छ ।”

दुई वर्षअघि भएको पहिलो ज्ञान सम्मेलनमार्फत् श्वेतपत्र जारी गरेर नेपाल सरकार तथा सरकार सम्बद्ध निकायहरूलाई बुझाइएको उल्लेख गर्दै अध्यक्ष पन्तले सम्मेलनमार्फत् तय हुने निर्णयहरू नेपालको विकास र समृद्धिका लागि उपयोगी भएको ठहर संघको रहेको बताए । यस पटकको सम्मेलनमा प्रस्तुत हुने विभिन्न विषयसँग सम्बन्धित कार्यपत्रहरूमा विश्वभरका विषय विज्ञसहित नेपालबाट समेत सम्बन्धित विषयका विज्ञलाई जोडिने उनको भनाइ थियो । यसबाट कार्यान्वयनमा समेत सघाउ पुग्ने विश्वास लिइएको छ ।

यसपटकको सम्मेलनमा कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् नेपालले अवलम्बन गर्नुपर्ने बाटोका सन्दर्भलाई लिएर विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा चारवटा शीर्षकमा पूरा सत्र र विभिन्न १५ शीर्षकमा गोष्ठी सत्रको आयोजना गरिने संघका महासचिव तथा सम्मेलनका संयोजक डा. हेमराज शर्माले जानकारी दिए । उनले सम्मेलन सम्पन्न गर्नका लागि संघका अध्यक्ष कुमार पन्तसहित अन्य पदाधिकारी रहेको व्यवस्थापन समिति, विज्ञ व्यक्तित्वहरूको स्टेरिङ कमिटी तथा सल्लाहकार समिति निर्माण गरेको बताए ।

त्यसैगरी संघको स्वास्थ्य समितिले आगामी सेप्टेम्बर १८ देखि २० तारिखसम्म (असोज २–४) विश्व स्वास्थ्य सम्मेलनको समेत आयोजना गरिने जनाएको छ । अनलाइनमार्फत् हुने सम्मेलनमा विश्वभर रहेका १०० भन्दा बढी नेपालीमूलका चिकित्सकहरूको सहभागिता रहने बताइएको छ ।

साउन १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्