दाङ – ‘भत्ता बुझेर गहना लगाउँछु भन्ने पनि छैन । कपडा किन्छु भन्ने आशा गरेकी छैन । मलाई एक गास खान पाए पुग्छ’ बिर्समाली घर्तीले हाँस्दै आफ्नो कुरा सुनाइन् ।

८० वर्षीया बिर्समालीलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझ्ने ठूलो धोको छ । भत्ता बुझेको रकमबाट ठूलै काम गर्छु भन्ने त्यस्तो केही छैन । बाँच्दासम्म औषधि किनेर खान पाइयो भने त्यहीनै ठूलो कुरा हुने उनले बताइन्।

आफू सरह उमेर भएका छिमेकी सबैले भत्ता बुझ्छन् । तर, उनी भत्ता बुझ्ने कागज बनाउन समेत गाउँपालिका आउन सकिनन् । नेपाल–भारत सीमा क्षेत्र राजपुर–७ भौवा नाकामा घर छ । गाडी चल्ने कुरै भएन । हिँडेर आउने समेत राम्रो बाटो छैन । बिर्समाली हिँडेर आउन सक्ने अवस्था थिएन । यसपाली त छोरा छोरीले बोकेरै गाउँपालिका ल्याईपुर्‍याए । नाका क्षेत्रका उमेर पुगेका जेष्ठ नागरिकले सरकारले दिएको सामाजिक सुरक्षा भत्ता बुझ्नबाट समेत वञ्चित रहेको यो एउटा उदाहरण हो ।

हाडै हाड र नसा देखिने गरी दुब्लिएको शरीर । छाला चाउरी परेर मुजै मुजा परेको अनुहार । हिँडडुल गर्न मुस्किलले पाइला सर्छन् । त्यसमा पनि दमको रोग छ । बेला बेला छाती चर्किएला झैँ दुख्छ । बिर्समाली भत्ता खोज्दै गाउँपालिका आईपुगेकी हुन् । नियमले जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता ७० वर्ष पुगेपछि पाइन्छ । एकल महिलाको हकमा उमेरको हदवन्दी थिएन ।

श्रीमान् बितेको २८ वर्ष नाघिसकेको छ । बिर्समालीले न उमेर ७० वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता बुझ्न पाइन् । न एकल महिलाले पाउने भत्ता नै । जेष्ठ नागरिकले पाउने सुविधा अनुसार भत्ता बुझ्न पाएको भए अहिले दश वर्ष पुग्थ्यो । तर, बिर्समालीले एक पटक पनि भत्ता बुझेकी छैनन् ।

६ महिना अघि मात्रै उनी कान्छो छोरालाई साथमा लिएर राजपुर गाउँपालिकाको कार्यालय गंगदी पुगिन् । नागरिकताको प्रतिलिपी बुझाइन् । एउटा अनुसूचि फारम पनि भरिन् । अनि बल्ल उनको नाम सामाजिक सुरक्षा भत्ता पाउने सूचिमा चढ्यो । साउने झरीमा बिर्समालीको मन थामिएन । झरी र पहिरो छिचोल्दै भौवा नाकाबाट उनी गाउँपालिका आईपुगिन् । गाउँपालिका आउन एक दिन लाग्यो ।

‘भत्ता खै ? ल्याउ’ गाउँपालिकाका कर्मचारीसँग कुरा गर्दै थिइन् बिर्समाली । गाउँपालिकाका प्रशासन प्रमुख महेश थापाले वडा कार्यालयमा सम्पर्क गरे । वडासचिवको जवाफ आयो‘रेकर्ड भेटिएन्’ ।

फारम भरेर नाम चढेको भए सूचना शाखाबाट जानकारी पाइन्छ । नागरिकतासहित त्यो शाखामा पुगे । अनी कम्प्यूटरमा खोज्दा भत्ता भेटियो । चैत, बैशाख, जेठ र असार महिनाको गरी १२ हजार रुपैयाँ बैंकमा जम्मा भएको देखियो । ‘दुईवटा खोला छन् । तरेर जंग्रहवा बजार आउँछ । त्यहाँ बैंक छ । अनl भत्ता पाईन्छ’ प्रशासन शाखा प्रमुख थापाले सम्झाउँदै भने । तर, बिर्समाली, उनका छोरा, छोरी अलमलमा परे ।

‘यहाँ त पहिलो पल्ट आएको हुँ । खै कता पर्छ बैंक । कसरी पुग्नेहोला’बिर्समालीका छोरा खिमबहादुर घर्तीले भने ‘एक दिन अघि आएर उता कत-कता खोज्दै हिँड्यौं ।’ बिर्समालीको समस्या गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले सुनिरहेकी थिइन् ।

‘खोला नाकाबाट आउनुहुन्छ । कहाँ जाने, के गर्ने पत्तो हुन्न । ए बावु (एम्बुलेन्स चालक) यहाँ आमा र उहाँ सँगै आएकाहरुलाई जंग्रहवा लगेर छोडिदेउ है’ यादवले अह्राउँदै भनिन्, ‘काम सकिएन भने मेरै घरमा बस्ने व्यवस्था छ । जगंह्रवामा धनपती यादवको घर कुन हो भनेपछि बताईदिन्छन है ।’

बिर्समालीले बैंकबाट पहिलो पटक १२ हजार रुपैयाँ भत्ता थापिन् । उनको भत्ता प्राप्तिको एउटा ठूलो संघर्ष यहाँ पूरा भयो । तर, बिर्समाली जस्ता अझै सामाजिक सुरक्षाको पहुँचमा नपुगेका धेरै जेष्ठ नागरिक छन् ।

साउन १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्