गायिका तथा मोडेल ज्योति मगरसँग कुराकानी

‘मुखले ठूलो फ्यान हुँ भन्छन्, आँखामा प्यास छल्किरहेको हुन्छ’ (भिडियोसहित)

‘मुखले ठूलो फ्यान हुँ भन्छन्, आँखामा प्यास छल्किरहेको हुन्छ’ (भिडियोसहित)

ज्योति मगर। तस्बिर: बर्षा शाह

काठमाडौं- कलाकारिता क्षेत्रमा एक दशक पार गरेकी गायिका तथा मोडल ज्योति मगर बोल्ड रुपमा र सधैँ चर्चामा रहने कलाकार हुन्। यस क्षेत्रमा लामो समय बिताइसकेकी ज्योतिलाई फरकफरक नजरबाट हेर्नेको कुनै कमी छैन। उनले सामाजिक सञ्जालमा लेखेका कुरा उनले गायकको वा उनको पहिरनलाई लिएर विभिन्न खाले नकारात्मक चर्चा बढी मात्रामा भइ नै रहेको हुन्छ। तर त्यस्ता कुराले आफूलाई नराम्रो लाग्ने ज्योति बताउँछिन्।

उनले भनिन्- आफ्नो राम्रो कुराको चर्चा होस् भन्ने त मलाई पनि लाग्छ। तर के गर्नु संसार त अन्धो छ। मैले के नै गर्ने सक्छु र? मलाई थाहा छ नि म को हो भन्ने त। त्यसैले पनि म आफूसग जोडिएर आउने नकारात्मक कुरालाई वेबास्ता गर्दिन्छु।

उनीसँग गफिँदा आफूले लगाएका लुगाप्रतिका टिकाटिप्पणीमा पनि उनले चित्त दुखाइन्। भनिन्- मलाई लाग्दैन कि सबैले मलाई राम्रो भन्नु पर्छ। म रुकुम कार्यक्रममा जाँदा एक जना बूढी आमाले भन्नुभयो- तपाईँको म फ्यान हो। यो समाजमा महिलालाई हेर्ने नजर कति गलत छ। म चाहन्छु कि मेरो छोरीनातिनी ज्योति मगर जस्तो बनोस् भन्ने।

बुढीआमाले त्यसो भनेपछि ज्योति मगर दंग परिन्। १० जनामा ९ जनाले भनेको नराम्रो भन्दा ज्योति मगरलाई ती बुढीआमाले भनेको र अंकमाल गरेको सही लाग्यो।

उनले भनिन्- मेरो पुरुष फ्यान धेरै छन्, तिघ्रा हेर्ने, स्तन हेर्ने। तर मलाई कुनै पुरुषले यस्तो भन्नु भयो कि तपाईँसँग मेरो श्रीमतीलाई नजिक हुन दिन्नँ।

ज्योतिले प्रश्न गरिन्- किन त?

ती पुरुषले भने- तपाईँले महिलाहरुको बारे यथार्थ बोलिदिनु हुन्छ। यसकारण मेरो श्रीमतीको आत्मबल बढ्छ।

यसमा ज्योति दंग परिन्। उनले हाँस्दै भनिन्, ‘उहाँले यो भन्नु नै मेरो सफलता हो।’

यहाँ महिलालाई हेर्ने गलत नजरको त कुरा गरीसाध्यै छैन भन्छिन् ज्योति। आफ्नो बारे नराम्रो कुरा चर्चा हुँदा कसलाई पो राम्रो लाग्छ र?

तर त्यस्ता चर्चालाई वेवास्ता गरेर आफूलाई गाह्रो हुनेबाट बचाउने कोशिशमा सधैँ रहन्छिन् उनी।

कस्ता कस्ता ह्यारेसमेन्टका घटना भए त?

उनलाई धेरै प्रकारका ह्यारेसमेन्ट भए- भन्छिन् उनी।

मुखले भन्ने बेला ज्योतिजी म तपाईँको ठूलो फ्यान हूँ भन्ने तर आँखाबाट प्यास छल्किरहेको हुन्छ।

त्यस्ता व्यक्तिलाई उनी प्रश्न पनि गर्थिन्- ठिक छ, के मेरो ठाउँमा तपाईँको दिदीबहिनी वा छोरी हुँदा तपाईँ फ्यान हुन सक्नु हुन्छ?

उनलाई त्यस्ता फ्यानहरु हुँदा खुशी लाग्दैन।

‘मलाई मात्र होइन, कहिँ न कहिँ, हरेक महिलाले  ह्यारेसमेन्टको सामना गरेको हुन्छ।’

एक पटक चितवनमा उनी बसेको कोठामा ढोका ढकढक गरेर एकजना पुरुष आए। तर उनी कोठाबाट जाँदै गएनन्। अन्तत: उनले प्रहरीमा नै खबर गर्नुपर्‍यो। प्रहरीले ती पुरुषलाई उनको कोठाबाट उठाएर रातभरि लगेर थुनेछ।

‘नराम्रो त लाग्यो, तर अर्को के उपाय हुन सक्छ र?’

उनले थपिन्- सामाजिक सञ्जालमा आउने विभिन्न किसिमका कुरा त तपाईँहरुलाई थाहा छ नै। त्यो बाहेक पनि धेरै किसिमका छन्। कहिले कुनै कार्यक्रममा आयोजकले पनि ह्यारेसमेन्ट गरिरहेको हुन्छन्। महिला कलाकारलाई विभिन्न किसिमले सामना गर्नुपर्छ।

ह्यारेसमेन्टलाई कसरी रोक्छिन् ज्योति?

तपाईँहरु साँच्चिकै मेरो फ्यान हुनुहुन्छ भने पहिला आफ्नो दिदीबहिनी, छोरी, श्रीमतीलाई ज्योति मगरजस्तो हुँदा पनि सहयोग गर्नुहोस्।   

उनले भनिन्- आफूलाई गरिएको ह्यारेसमेन्टको सामना गर्नु गाह्रो कुरो हो। यसले सबैलाई गाह्रो बनाउँछ। म पनि सुरुमा त राम्रो तरिकाले कुरा गरेर नै त्यसलाई सल्टाउने कोसिश गर्छु। अब त्यसो गर्दा पनि भएन भने अलि कडा भए बोलेर व्यवहार गर्छु। त्यसपछि पनि भएन त कानुनी प्रक्रियामा जानुबाहेक अरु उपाय छैन।

यद्यपि उनले अहिलेसम्म कसैलाई थप्पड लगाएकी छैनन्।

‘म जुन कुरा  भइरहेको छ, त्योभन्दा अझ नबिग्रियोस् भनेर समाल्न नै चाहन्छु। किन कि कुनै ह्यारेसमेन्ट गर्नेलाई थप्पड हानिएला तर त्यस्तो व्यवहार गर्नेले पनि कुनै कदम नचाल्ला भन्ने त हुन्न नि? तर कुनै बेला यसलाई चाहिँ छोड्नु हुन्न, यसले गरेको गलत हो, यसलाई हान् भन्दा हानेको पनि छु। तर सामान्यतया कुरा बढी नबिग्रयोस् भनेर नै सामना गरिरहेको हुन्छु। केही सिप नलागे कानुनी रुपमा अगाडि बढ्ने हो।’

आफूलाई डिप्रेसन हुने र कहिलेकाहिँ राम्ररी ननिदाउने पनि ज्योतिको अनुभव छ। ‘म अझै पनि राम्रोसँग निदाउन सक्दिन। म कुनै बेला अलि नराम्रो तरिकाले पनि डिप्रेसनमा गएको थिएँ। निकै गाह्रो हुन्छ। मेरी आमा, भाइ, परिवार सबै सम्झन्छु। म नै यस्तो भयो भने उनीहरुलाई के हुन्छ जस्तो लाग्छ अनि आफूलाई सम्हाल्छु। अझ भन्ने हो भने यो क्षेत्रमा रहेका महिला कलाकारलाई यस्तो बढी नै हुन्छ।’

महिला कलाकारलाई कहिलेकाहिँ गरिने व्यवहारले पनि डिप्रेसन हुने उनी बताउँछिन्। ‘मलाई पनि कुनै बेला नराम्रोसँग डिप्रेसन भयो, अहिले पनि छ। तर आफूलाई सम्हाल्छु। एकदमै गाह्रो हुँदा मेरा केही महिला साथी नै छन्। जोसँग मैले कुराहरु सेयर गर्छु र आफूलाई गाह्रो भयो भन्छु।’

आफूले विश्वास गरेको साथीहरुसँग कुराहरु सेयर गर्नुपर्छ जस्तो लाग्छ उनलाई। एक अर्कोलाई सेयर गर्दा पनि धेरै हलुको हुन्छ।

महिलालाई त समाजमा गरिने विभिन्न खाले कुराले गर्दा डिप्रेसनमा पुर्‍याइन्छ भन्छिन् उनी। ‘उसले लाउने पहिरन खानेकुरालाई त छोडिदैन। मानिसको मानसिक अवस्था राम्रो हुन एकदमै जरुरी छ। त्यसैले पनि हामीले साथीहरु वा नजिकको कसैलाई सेयर गर्नुपर्छ।’

केही समयअगाडि उनले सामाजिक सञ्जालमा कसैलाई गाह्रो छ भने हामी कुरा गरौँ भनेर लेखेकी थिइन्। उनले देशसञ्चारलाई भनिन्- त्यो दिन मैले केही साथीहरुसँग कुरा पनि गरेँ, उहाँहरुको कुरा पनि सुनेँ र आफ्नो पनि सुनाएँ। उहाँहरुले मलाई भन्नु भयो- तपाईले त यस्ता कुराहरु भोग्नु भएको रहेछ। झन् हामीले त नभोग्ने कुरै भएन। कतिले कुरा गरेर मन हलुका भएको पनि भन्नु भयो। खासमा भन्ने हो भने कहिँ न कहि मेरो आत्मबल बढाउने मलाई डिप्रेसनबाट निकाल्ने मेरा फ्यान नै हुनुहुन्छ जस्तो लाग्छ।’

कुनै फ्यानको म्यासेजले उनलाई धेरै खुसी लाग्छ। ‘सुसाइड गरुँ जस्तो लागेको थियो तर तपाईँको अन्तर्वार्ता हेरेर बाँच्ने इच्छा जागेर आयो।’

ज्योति भन्छिन्- अब भन्नु त योभन्दा ठूलो कुरा के हुन सक्छ ?

विभिन्न खाले चर्चा परिचर्चामा रहे पनि ज्योति आफूलाई अरुको अगाडि भने खुशी नै देखाउन रुचाउँछिन्।

देशसञ्चारसँग उनले भनिन्- म अरुको अगाडि रुन चाहन्न। मलाई लाग्छ मेरो आँसु मूल्यवान छ। किन म यो स्वार्थी संसारको अगाडि आँसु झारुँ? यो समाजमा महिलालाई विभिन्न कारण देखाएर ह्यारेसमेन्ट गरिन्छ, डिप्रेसनमा पुर्‍याइन्छ।

उनी भन्छिन्, तपाईँहरु साँच्चिकै मेरो फ्यान हुनुहुन्छ भने पहिला आफ्नो दिदीबहिनी, छोरी, श्रीमतीलाई ज्योति मगरजस्तो हुँदा पनि सहयोग गर्नुहोस्।

थप्छिन्- तपाईँको सोचको कारण पनि तपाईँको दिदीबहिनी, श्रीमती, छोरीले धेरै कुराको चाहना हुँदा पनि सम्झौता गर्नु परेको हुन सक्छ। खुलेर भन्न नसकेको हुन सक्छ। मुखले मात्र होइन, महिलालाई आफ्नो व्यवहारबाट पनि सम्मान गरेको अनुभूति गराउनु होस्। त्यस्तो गर्‍यो भने समाजमा परिर्वतन यसै हुन्छ। म जस्तो बोल्ड ज्योतिको आवश्यकता पर्दैन।

भिडियो हेर्नुहोस्:

साउन १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू