कीर्तिमानी ‘पार्कर’ दिनेश सुनारको अन्तर्राष्ट्रिय यात्रा

तस्बिर साैजन्यः दिनेश सुनार।

‘जब मैले सुरु गरेँ, खेलमा यति धेरै डुब्न थालेछु कि म यसकै लागि जन्मेको जस्तो लाग्न थाल्यो। आज, भोलि या पर्सि जति समय लाग्ला तर आफूले सोचेको बिन्दुमा म पुगेरै छाड्छु भन्ने आत्मविश्वास थियो मनमा। सायद आफूप्रतिको यही दृढ विश्वासले गर्दा होला आज म यहाँसम्म आइपुगेको हुँ’, यसो भन्दै गर्दा भावुक पनि देखिएका थिए उनी।

उनी अर्थात दिनेश सुनार। उनी आफूलाई ‘पार्कर’ भन्न रुचाउँछन्। गत माघमा उनले ट्राम्पोलिनमा ‘ब्याक समरसल्ट’ अर्थात उफ्रिन मिल्ने लचकदार रबरको सामग्रीमा उल्टो जम्प हानेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कीर्तिमान राखे। एक घन्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेर उनी यो विधाको रेकर्ड राख्न सफल भएका थिए।

तर उनले विश्व कीर्तिमान गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि गिनिज वर्ल्ड रेकर्डस्‌मा दिनेशले तीनवटा विधामा आफ्नो नाम दर्ता गराइसकेका छन्।

२०१७ मा उनले पहिलो पटक ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वान मिनेट’मा नाम दर्ता गराएका थिए।

यो रकर्डमा उनलाई एक मिनेटमा कम्तिमा १५ चोटी पर्खालको आडमा उल्टोबाट उफ्रिनुपर्ने च्यालेन्ज थियो तर उनले १८ पटक गरेर देखाएका थिए। उनका अनुसार यो रेकर्ड चाहिँ नयाँ रेकर्ड हो, रेकर्ड ब्रेक होइन।

२०१८ मा उनले दोस्रो पटक ‘द मस्ट ब्याकवार्ड समरसल्ट वाल इन ३० सेकेन्ड’मा नाम दर्ता गराएका थिए। यसमा उनले ३० सेकेन्डमा १६ पटक समरसल्ट गरेका थिए।

२०१९ मा उनले तेस्रो पटक ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन ३० सेकेन्ड’मा नाम दर्ता गराए। यसमा उनले ३० सेकेन्डमा १२ पटक पर्खालमा उल्टोबाट उफ्रिएका थिए।

खोटाङ जिल्लामा जन्मिएका दिनेश सुनार बाल्यकालदेखि नै चकचके स्वभावका थिए। गाउँकै पाखापखेरा र कान्लामा हाम फाल्दै गरेको कसरतले कुन बेला उनलाई पार्करमा पोख्त बनाएछ उनले पत्तो नै पाएनन्। नजानिँदो पारामा उनले यसको लय समाते र उनको प्रतिभा मौलायो पनि। जोखिमपूर्ण काम गर्न सायद कम नै मानिसले रुचाउँछन्, त्यसकै उदाहरण हुन् दिनेश पनि।

उनले फिल्महरु हेर्थे अनि त्यहाँ गरेको जम्प, स्टन्टहरु हेरेर बालुवामा गएर सिक्थे। उनले विस्तारै युट्युबमा अरु भिडियो पनि हेर्न थालेँ अनि आफूलाई अझ बढी सहज भएको महसुस गरे। पछि भिडियोहरु हेर्दै गर्दा पो थाहा पाए उनले यसलाई पार्कर’ भन्दो रहेछ भनेर।

पार्कर अर्थात उफ्रिँदै, कुद्‌दै अनि हाम फाल्दै विभिन्न कठिनाइ पार गरेर कुनै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने खेल।

खेल सिक्ने तथा खेल्ने क्रममा उनलाई धेरै पटक चोटपटक पनि लागेको थियो। उनले देव्रे खुट्टा भाँचिदा झण्डै चार महिना हस्पिटलमा रेष्ट पनि गरेका थिए।

उनले भने, ‘खुट्टा मर्किने भइरहन्छ। खेल नै त्यस्तै छ, अभ्यासका क्रममा कुन बेला के हुन्छ पत्तो नै हुँदैन। बालुवामा सिक्दा साथीहरुलाई बटुलेर खेल्न जान्थेँ। तर साथीहरुको परिवारमा त्यसको संगत नगर, त्योसँग हिँड्यो भने बिग्रिन्छ भन्ने गर्थे।’

छिमेकीको बालुवामा सिक्दा कतिपटक उनले कुटाइ पनि खाएका छन्।

दिनेशको बुवाआमाले पनि धेरैपछि थाहा पाए उनको क्षमताबारे। दिनेश थप्छन्, ‘साथीभाइहरुले यसले त निखिल उप्रेती जस्तो खत्रा उफ्रिन्छ भनेर गाउँमा हल्ला गरेका थिए।’

सबैले आग्रह गरेपछि एकदिन उनले स्कुलको छतहरुबाट ‘ब्याक फ्लिप’ गरे। त्यसपछि उनले हनुमान, पहलमान, उड्नेमान्छे जस्ता उपनाम पाए।

दिनेशका अनुसार खेल्दा बालुवाका कणहरु उनको गोजीमा आउँथ्यो, घरमा उनकी आमाले घर फोहोर बनाएको भनेर गाली गर्थिन् अनि कहिलेकाहिँ बुवाको कुटाइ खान्थे।

उनी कक्षा आठमा पढ्दा खोटाङको सापातेल गाविसमा भलिवल प्रतियोगिता भयो। भलिबल प्रतियोगिता हेर्न सशस्त्र प्रहरीका तत्कालिन महानिरीक्षक सनतकुमार बस्नेत त्यहाँ पुगेका थिए। त्यहाँ दिनेशले जिम्न्यास्टिकका आकर्षक ‘स्टन्ट’ प्रस्तुत गर्ने मौका पाए। महानिरीक्षक बस्नेतलाई दिनेशको प्रतिभाले प्रभावित गर्‍याे र उनले काठमाडौँ ल्याए दिनेशलाई।

सशस्त्र प्रहरीमा ल्याइसकेपछि बस्नेतले उनलाई डीएसपी प्रेम कुमार श्रेष्ठको जिम्मा लगाए। डीएसपी श्रेष्ठ त्यतिबेला खेलकुद इन्चार्ज थिए।

काठमाडाैँ आएर जिम्न्स्टिक हलमा पस्दा उनी अचम्ममा परे, नेपालमा जिम्न्यास्टिक ट्रेनिङ सेन्टर पनि रहेछ भनेर उनले बल्ल थाहा पाए।

पार्कर त छँदैछ, दिनेश नेसनल जिम्न्यास्टिक प्लेयर पनि हुन्। दिनेश थप्छन्, ‘पार्कर र जिम्न्यास्टिक मेरो लागि एक सिक्काका दुई पाटा जस्तै हुन्।’

सशस्त्र प्रहरीका तर्फबाट जिम्न्याष्टिकमा प्रथम दिनेशले प्रथम लुम्बिनी खेलकुद २०७१ मा स्वर्ण पदक जिते, सातौँ राष्ट्रिय खेलकुद २०७३ मा एक स्वर्ण र एक रजत जिते। साथै आठौँमा पनि जिम्न्यास्टिकमा स्वर्ण पदक जिते।

उनले २०१९ मा ‘इन्करेजमेन्ट’ अर्वाड पाए जुन जापानमा आयोजना भएको थियो। उनले अमेरिकाको सिनेटबाट पनि ‘एप्रिसियसन’ लेटरहरु पाएका थिए।

नेपालदेखि विश्व रेकर्डसम्मको उनको यात्रा पार्करले नै जुराइदिएको हो। विश्व रेर्कड राख्छु भन्दा उनलाई उडाउनेहरु पनि धेरै नै थिए। आफ्नो प्रतिभाले प्लेटफर्म नपाउन्जेल थुप्रै तीता वचनको सामना गर्नुपरेको गुनासो पोख्छन् उनी। कतिले त उनलाई पागल भने, कतिले विश्वका अन्य पार्कर खेलाडीसँग दाँज्न मिल्दैन भनेर तुच्छ वचन लगाए।

तर उनलाई विश्व रेर्कडमा नाम लेखाउन थानेश्वर गुरागाईँले (जसले २२ वटा विश्व रेकर्ड बनाएका छन्) सबै गाईडलाइन र प्रक्रियाबारे बताए। दिनेश थप्छन्, ‘पार्करलाई खेल नमान्ने मान्छेहरु पनि भेटेँ।’

तर त्यसकै जवाफ स्वरुप उनी अन्तर्राष्ट्रिय पार्कर खेलाडी भएका छन्। खेलमार्फत नै आफूलाई अब्बल सावित गरेर  उनले चार पटक कीर्तिमान कायम गरेका छन्। त्यसो त उनलाई आफ्नो रेकर्ड  ब्रेक गर्ने चाहना छ।

स्थापित खेलका खेलाडीहरुलाई समेत चुनौतीपूर्ण वातावरण भएको हाम्रो देशमा नाम नै नसुनेको खेल खेल्नु र त्यो खेलबाट गिनिज बुक अफ वर्ल्ड  रेकर्डमा चार पटकसम्म नाम लेखाउनु सराहनीय काम भएकाे भन्दै पहिले उनकाे आलोचना गर्नेहरु पनि अहिले उनकाे तारिफ गर्छन्।

बुबाआमाको गाली, छिमेकीको कुटाई या खेल्ने क्रममा लागेको चोट उनलाई केहीले पनि छेकेन। तर नेपालमा पार्करका लागि उचित प्लेटफर्म नभएकोमा गुनासो छ दिनेशको। दिनेशको सपना छ– नेपालमा पार्कर खेलको एकेडेमी बनाउने।

दिनेश भन्छन्, ‘नेपालमा एकेडेमी नै हुनुपर्छ अनि मात्र यो क्षेत्रमा लाग्नुभएका सबैलाई हौसला मिल्छ।’

दिनेशलाई अहिले बुवाकाे पनि सहयाेग छ। तर कहिलेकाहीँ, ‘यसमा भविष्य छैन, नामले मात्र बाँचिदैन पैसा पनि कमाउनुपर्छ’ भनेर सुनाउँछन्।

तर दिनेश भन्छन्,‘मर्दा कसैले पैसा लैजाँदैन। मेरो नामले गर्दा आज बुवाआमा ममाथि गर्व गर्नुहुन्छ। मेरो लागि त्यही नै हो ठूलो कुरा हो।’

दिनेश ‘अमेरिकाज् गट ट्यालेन्ट’मा पनि छानिएका छन्। देश सञ्चारसँगको कुराकानीमा उनले भने, ‘सन् २०२१ को सिजनमा फिचर हुने कुरा छ। भाग्य अनि आफ्नो मेहेनतले साथ दिए त्यहाँ पनि एउटा रेर्कड बनाउने छु।’

साथै हालसालै उनी नेपालको पहिलो इनर्जी ड्रिङक्स ‘वाओ’मा पनि ब्राण्ड एम्बेसडर भएका छन्।

साउन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्