कोभिड–१९ विरुद्धको युद्धमा ट्रम्पको गतिविधि असहयोगी : डा. फाउची

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा कोरोना भाइरसविरुद्धको अभियानका शीर्ष सल्लाहकार डा. एन्थोनी फाउचीले महामारीविरुद्धको अभियानमा अमेरिका ‘गलत’ दिशा तर्फ लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जलामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क आवश्यक नरहेको सहितका गलत दाबी गरिएको भिडियो साझा गरेका थिए । सो कार्य कोभिड–१९ विरुद्धको लडाईँका लागि उपयुक्त वा सहयोगी नरहेको डा. फाउचीले बताएका छन् ।
ट्रम्पले साझा गरेको भिडियोमा मास्कको विरोध गर्नुका साथै वैज्ञानिक तथा स्वास्थ्यविज्ञले अस्वीकृति गरेको र कुनै पनि वैज्ञानिक प्रमाण नभएको औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने दाबी गरिएको थियो ।
सो भिडियोमा मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन कोभिड–१९ का लागि उपयुक्त हुने दाबी प्रस्तुत गरिएको थियो, जुन औषधिको ट्रम्प लामो समयदेखि प्रवक्ता रहँदै आएका छन् ।
तर डा. फाउचीले बिबिसीसँगको अन्तर्वार्ताको क्रममा गम्भीर चासो र चिन्ता व्यक्त गरेका हुन् । गएको सोमबार ट्रम्पसहिले ‘अमेरिकाज् फ्रन्टलाइन डक्टर्स’ नामक समूहले हाइड्रोक्सिक्लोरोक्वीनको समर्थन गरेर बनाएको सो भिडियो सेयर गरेका थिए ।
सो भिडियो हाल फेसबुक र ट्वीटरले हटाएका छन् । गलत सूचना दिएको भन्दै भिडियो हटाइए पनि १७ मिलियन भन्दा बढीले हेरिसकेका थिए ।
डा. फाउचीले भनेका, ‘मैले यो ट्वीट र रिट्वीट अहिलेसम्म बुझेको छैन र यसमा म सहभागी पनि छैन । तर जे ट्वीट वा साझा गरियो त्यो कोरोना भाइरसविरुद्धको युद्धका लागि सहयोगी पक्कै थिएन, म यो चाहिँ भन्न सक्छु ।’
उनले भने, ‘मास्क प्रयोग गर्न नपर्ने पक्षमा सुझाउने खालको भिडियोको पक्षमा म हुँदिन, किनकी हामी सबै मानिसले मास्क लगाउन् भन्ने चाहन्छौँ, यसो गर्दा संक्रमण धेरै हदसम्म रोक्न सकिन्छ ।’
डा. फाउची र राष्ट्रपति ट्रम्पबिचको सम्बन्ध राम्रो छैन । ट्रम्पले लगातार डा. फाउचीसहितका आफ्नै विज्ञहरुको सुझाव विपरित कोरोना भाइरसका सम्बन्धमा गलत र भ्रामक अभिव्यक्ति दिँदै आएका छन् ।
विश्वमै महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख २३ हजार ९ सय भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख ५० हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ ।
विश्वभर संक्रमितको संख्या एक करोड ६९ लाख ५० हजार भन्दा धेरै पुगेको छ भने त्यसमध्ये ६ लाख ६४ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।