नेपालगञ्ज– समुदायमा कोरोना फैलिन थालेपछि स्थानीय प्रशासनले बाँकेमा आइतबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ।

बिहीबार एकैपटक २७ जनामा कोरोना देखापरेपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आपतकालिन बैठकले उक्त निर्णय गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना देखापरेकाले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी रहने जानकारी दिए।

नेपालगञ्जको व्यस्त बजार त्रिभुवनचोकको मिठाई पसल र सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालयमा गरी एकैदिन २७ जनामा कोरोना देखापरेपछि स्थानीय प्रशासन झस्किएको छ।

भारतबाट फर्किएका र क्वारेन्टिनमा बसेका व्यक्तिलाई मात्रै कोरोना देखिने गरेकोमा पछिल्लो दिनमा नेपालगञ्जमा घरमा बसेका, पसलमा काम गर्ने, सरकारी कार्यालयका कर्मचारी, एनजिओकर्मीमा कोरोना देखापरेको छ।

साउन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्