बढ्दो सम्बन्ध विच्छेद

दूरीले निम्त्याएको पारिवारिक र सामाजिक दुष्परिणाम

सांकेतिक तस्बिर।

वीरेन्द्रनगर– सम्बन्ध विच्छेद गर्नेहरुको ग्राफ बढ्दै जाँदा त्यसका कारण र परिणामहरुबारे पनि विश्लेषण हुन थालेका छन्।

सम्बन्ध विच्छेदका घटनालाई नजिकबाट हेर्दै आएका प्रहरी, कानुन व्यवसायी र न्यायाधीशहरु त्यसमा बढी घोत्लिन थालेका छन्। बढ्दो सम्बन्ध विच्छेदका कारण उनीहरुमा एक किसिमको चिन्ता र त्राससमेत रहेको पनि भेटिन्छ।

कर्णाली जस्तो विकट, विपन्नता र बेरोजागरीले भरिएको प्रदेशमा पनि सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएकाले उनीहरुको चिन्ता बढेको हो। यहाँ खासगरी रोजगारीका कारण श्रीमान्–श्रीमती भौतिक रुपमा अलग्गिनु पर्ने र त्यसको परिणाम सम्बन्ध विच्छेद हुने गरेको छ।

घटना  नम्बर १


माइती कैलाली टिकापुर, घर सुर्खेत चौकुने गाउँपालिका। सरस्वती (नाम परिवर्तन)का श्रीमान् रोशन (नाम परिवर्तन) रोजीरोटीका लागि भारत गएको केही वर्ष भएको थियो।

घर, खेतीपाती, बालबच्चाको हेरविचार र पढाइ लेखाइको जिम्मेवारीमा रहेकी सरस्वतीका श्रीमान् रोशनको भारतमा व्यस्तता बढ्दै गयो। यता सरस्वती र दैलेख घर भएका र एक पटक सम्बन्ध विच्छेद गरिसकेका खड्क (नाम परिवर्तन) नजिकिँदैे गए।

सरस्वती र खड्कबीचको सम्बन्ध झाँगिदै जाँदा सरस्वतीको घरमा उनका छोराछोरी अलपत्र पर्न थाले। सरस्वती गत असारमा ६ दिन परिवारको सम्पर्कबाट बाहिर रहिन्।

सरस्वतीका माइती पक्ष र प्रहरी मिलेर खोजी गर्दै जाँदा नेपालगञ्जको एक होटलमा सरस्वती र खड्क भेटिए। सरस्वती र खड्कलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा ल्याइयो। सरस्वतीका श्रीमान् रोशन पनि अत्तालिँदै भारतबाट आए।

महिला सेलका प्रमुख र प्रतिनिधिको रोहबरमा त्रिपक्षीय छलफल चल्यो। अन्ततः केटी पक्ष सरस्वतीको जिम्मा लिन बाध्य बने।

रोशन सरस्वतीसँग सम्बन्ध विच्छेद गर्ने निर्णय लिँदै प्रहरी कार्यालयबाट छुट्टिए। त्यसको भोलिपल्टै उनी सुर्खेत जिल्ला अदालत पुगेर सरस्वतीसँग सम्बन्ध विच्छेदका लागि प्रक्रिया अघि बढाए।

घटना नम्बर २


सुशिला (नाम परिवर्तन) सुर्खेतको एउटा गाउँपालिकाको न्यायिक समितिकी सदस्य हुन्। विदेशमा श्रीमान् अशोक (नाम परिवर्तन) रहेको र एउटा छोरा स्कूल जाँदै गरेको अवस्थामा सुशीला र सल्यानका विवाहित र प्रहरीबाट सेवा निवृत जगत (नाम परिवर्तन) सम्बन्धमा रहे।

केही वर्षपछि सुशिला र जगतको सम्बन्धमा टकराब आयो। कोरोनाका कारण अशोकले विदेशमा आफ्नो रोजगारी गुमाए। निर्धारित समयभन्दा अगावै उनी घर फर्किए।

यता सुशिला र जगतको सम्बन्ध दुश्मनीमा परिणत भइसकेको थियो। सुशिला ‘यो संसारदेखि अब म छैन, छोराको राम्रो हेरविचार गर्नु, जगतका कारण यो संसारबाट बिदा लिएको हुँ’ भन्दै आफ्ना श्रीमान् अशोकको मोबाइलमा सन्देश पठाएर बेपत्ता भइन्।

सुशिलालाई खोज्न अशोकले प्रहरीको सहारा लिए। प्रहरीले भेरी नदीदेखि अनेकौँ ठाउँमा खोजतलास गर्‍याे। अन्ततः सुशिला सुर्खेतको एक होटलमा एक्लै भेटिन्। त्यसपछि सुशिलालाई प्रहरीले ल्याएर एक दिन हिरासतमा राख्यो।

भोलिपल्ट दुवै पक्षका मानिसहरु जम्मा भए। प्रहरीले सकेसम्म मिलापत्र गराउने उद्देश्यसहित उनीहरुलाई सोधपुछ गर्‍याे। सुशिला र जगतबीच प्रहरी कार्यालयकै प्रतिक्षालयमा निकैबेर चर्काचर्की चल्यो।

त्यसबाट उनीहरु पहिले सम्बन्धमा भएको र अहिले छुट्टिएको भन्ने बुझ्न प्रहरीलाई त्यति कठिन भएन। सुशिलाका श्रीमान् अशोक र जगतकी श्रीमती तनावग्रस्त अवस्थामा पुगे।

अन्ततः सुशिलासँग अशोकले सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगे। सुशिलालाई माइती पक्षको जिम्मा लगाइयो। सुशिलाले आफूमाथि जगतले यौन शोषण गरेको आरोप लगाएकी छिन्।

जगत भने त्यसको कुनै प्रमाण नभएको भन्दै पन्छिए। उनले सुशिलाले आफूलाई तिर्नुपर्ने पैसा नतिर्नका लागि आफूमाथि झुटो आरोप लगाएको दाबी गरेका छन्।

घटना नम्बर ३


सोही गाउँपालिकामा शोभा (नाम परिवर्तन) का श्रीमान् धर्म (नाम परिवर्तन) जागिरका सिलसिलामा इलाममा बस्छन्।

आफ्ना छोराछोरी र घर सम्हाल्दै आएकी शोभाको सोही गाउँकै दीपक (नाम परिवर्तन)सँग सम्बन्ध रहन पुग्यो। त्यसबारे शोभाका परिवारका सदस्य र गाउँलेहरुले थाहा पाए। यही साउनको पहिलो साता शोभाकै घरमा दिपक बसेको अवस्थामा भेटिए। शोभा र दीपक दुबैलाई समातेर प्रहरीको जिम्मा लगाइयो।

प्रहरीले मिलापत्रका लागि गरेको प्रयास असफल भयो। अन्ततः शोभा र धर्मले नै सम्बन्ध विच्छेद गर्ने निर्णय लिँदै प्रहरी कार्यालयबाट बाहिरिए।

यस्ता घटनाहरुलाई हरेक दिन मिलाउने र पीडितलाई जाहेरीलगायत कागजात तयार गर्न लगाइरहेकी जिल्ला प्रहरी कार्यालय, महिला सेलकी प्रमुख डिला बिक अहिलेको समाज निकै उच्छृङ्खल बन्दै गएको र सम्बन्धमा विश्वास, सम्मान र माया हराउँदै जाँदा यस्ता घटना बढ्दै गएको बताउँछिन्।

उनी भन्छिन्, ‘हामीले सुरुमा महिलाले स्वतन्त्रताको अधिकार पाएनौँ भन्यौँ। अहिले पनि स्वतन्त्रताबाट बञ्चित कयौँ महिला छन्। तर स्वतन्त्रताको दुरुपयोग गर्ने महिलाको संख्या पनि बढ्दै गएको छ। त्यसको परिणामले सम्बन्धविच्छेद बढ्दो छ।’

पछिल्लो समय पुरुषले पनि सम्बन्ध विच्छेदका उजुरी दिने क्रम बढेको छ। त्यसमा वैदेशिक रोजगारमा पुगेर आएका पुरुष बढी भएको अदालत स्रोत बताउँछ।

उनका अनुसार सम्बन्ध विच्छेदका कारण थुप्रै छन्। तर पछिल्लो समय माथि उल्लेखित प्रतिनिधिमूलक घटनाहरु धेरै हदसम्म कारण मानिएका छन्।

वास्तवमा अदालतमा पर्ने मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका भएको देखिन्छन्। सुर्खेत जिल्ला अदालतबाट प्राप्त विवरण अनुसार गत आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्म उक्त अदालतमा दर्ता भएका १ हजार ६ सय ९ मुद्दामध्ये ३ सय २७ मुद्दा सम्बन्ध विच्छेदका रहेको देखिन्छ।

विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ को जेठसम्म दर्ता भएका ३ सय २७ सम्बन्ध बिच्छेदका मुद्दामध्ये १ सय ८४ फर्छ्याैट भइसकेका छन्। १ सय ४३ मुद्दा बाँकी रहेको अदालतको विवरणमा उल्लेख छ।

अधिवक्ताहरु भने महिलामा आएको चेतना र कानुनको उपभोग गर्नुपर्ने कारणले पनि सम्बन्ध विच्छेदका घटना बढेको बताउँछन्।

तर यसका लागि महिलाहरु पनि जिम्मेवार रहेकोमा उनीहरुको चिन्ता छ। उनीहरुको भनाइमा पछिल्लो समय पुरुषले पनि सम्बन्ध विच्छेदका उजुरी दिने क्रम बढेको छ। त्यसमा वैदेशिक रोजगारमा पुगेर आएका पुरुष बढी भएको अदालत स्रोत बताउँछ।

स्रोत भन्छ, ‘धेरै ठाउँमा महिलालाई अन्याय भएको छ। तर पछिल्लो समय विदेशमा दिनरात नभनी श्रीमान्‌ले कमाएको पैसा खेर फाल्ने र हिनामिना बनाउने काममा श्रीमती संलग्न भइरहेका छन्। साथै विदेशमा श्रीमान् रहेको मौका पारेर अर्को पुरुषसँग सम्बन्ध जोड्ने क्रम पनि बढेको छ।’

यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसका आधारमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने कानुनी प्रावधान थियो ।

यस्तै श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि श्रीमतीले मुद्दा दायर गरे पनि अदालतबाट मेलमिलापका लागि एक वर्षको समय तोकिने गरिएको थियो।

तर अहिले श्रीमतीबाट पीडित पुरुषहरू सम्बन्ध विच्छेदका लागि आफै अदालत धाउन थालेका छन्। जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य आवेशमा आएर सम्बन्ध विच्छेदको निर्णय लिने क्रम बढेको सुनाउँछन्। वास्तविक पीडितहरु पनि समाजमा बढ्दै गएको उनको भनाइ छ।

उनका अनुसार श्रीमान्‌को विभिन्न खाले हिंसाका कारण महिला सम्बन्ध विच्छेदमा अग्रसर रहेको देखिन्छ भने पछिल्लो समय पुरुष पनि श्रीमतीका कारण पीडित भएको भन्दै सम्बन्ध विच्छेदका लागि अदालत आउने गरेका छन्।

डा. आचार्य भन्छन्, ‘वास्तवमा समाज अनुशासनहीन बन्दै गएको छ। एकातिर महिला पीडित हुनेक्रम घटेको छैन भने अर्कोतिर महिलाका कारण पुरुष पनि पीडित बन्न थालेका छन्। यी दुबै समस्या समाज विकासका बाधक हुन्। सम्बन्ध विच्छेदको निर्णय त्यसकै उपज हो।’

साउन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्