नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसँग अन्तर्वार्ता

ओलीबिरुद्ध एक सेकेन्ड पनि रोकिने अवस्था छैन तर हामी बहुमतको दम्भ देखाउँदैनौँ: अष्टलक्ष्मी शाक्य

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य

यति बेला नेकपाभित्रको विवाद कचल्टिएको छ। केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिन इतर पक्षले चर्को दबाब दिएपछि सुरु भएको विवादले पार्टी गोलचक्करमा फसेको छ।

आफूविरुद्ध निर्णय हुने अवस्था सिर्जना हुँदा अध्यक्ष ओलीले आइतबार एक पक्षीय रुपमा स्थायी समितिको बैठक स्थगित गरिदिएपछि शक्ति संघर्ष थप जटिल अवस्थामा पुगेको छ।

ओलीसँग छलफल गरेर स्थायी समितिको बैठक राख्ने निर्णय दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रचण्डलाई जिम्मेवारी दिए पनि दुई अध्यक्षबीच संवादसमेत सुरु भएको छैन।

स्थायी समिति बैठक नै अनिश्चित भएको अवस्थामा बुधबार १५२ जना दाहाल नेपाल पक्षले केन्द्रीय कमिटि बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएका छन्।

यस्तो अवस्थामा अब नेकपा कसरी अघि बढ्छ भन्ने विषयमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसँग देश सञ्चारका प्रकाश ढकालले कुराकानी गरेका छन्।

नेकपामा बैठक नै बस्न नसक्ने, विधान नै पालना नहुने अवस्था कसरी उत्पन्न भयो?

सबैभन्दा लोकतन्त्रिक विधि र विधानसम्मत चल्ने पार्टी भनेको कम्युनिष्ट पार्टी हो। हिजो फरकफरक कम्युनिष्ट पार्टी हुँदा पनि विधि विधानलाई पालना गरेर चलेको हो।

तर यति बेला लोकतान्त्रिक गणतन्त्रमा पार्टी सबैको सल्लाहमा विधिमा आधारित भएर चल्नुपर्ने भए पनि अहिले त एकले अर्कालाई नटेरेको, नमानेको हेपेको जस्तो भइरहेको छ।

पार्टीको विधान त एक किसिमले धुजाधुजा नै पारेर कुल्चिएर फ्याँकिएको अवस्था छ। यो अत्यन्त दुःख लाग्दो अवस्था हो। अहिलेसम्म म कम्युनिष्ट पार्टीमा लागेर यहाँसम्म आइपुग्दा धेरै नेतृत्वसँग संगत गरियो।

अहिले जस्तो बेथिति विधान मिचेर अघि बढेको कहिल्यै थिएन।

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य

पार्टी अध्यक्षकै कारण बैठक नै नचल्ने अवस्था त मैले अहिलेसम्म देखेकै छैन। बैठक डाकेर अध्यक्ष नै बेपत्ता हुने विषय वस्तुमाथि छलफल नगर्ने, बरु बाहिर जथाभावी बोल्दै हिँड्ने यस्तो अराजकता कहाँ सिक्नुभयो? हामीले बुझ्न सकेका छैनौं।

तपाईंहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा किन माग्नुभएको? व्यक्तिगत पूर्वाग्रह त होइन?

यो हाम्रो असन्तुष्टि मात्र होइन। तीन तहको सरकारमा हाम्रो पार्टी छ। यति बेला कसैलाई पनि फुर्सद नभई विकास निर्माण लाग्नुपर्ने हो। तर यति बेला सरकार ठप्पै छ। कोरोना महामारीले सरकारले प्रभावकारी भूमिका खेल्न सकेन, उल्टो भ्रष्टाचारमा डुब्यो, बाढी पहिरो गएको ठाउँमा सरकारको उपस्थिति कमजोर छ।

सरकारले सुशासन दिन सकेन, जनताको दुःख कष्टबारे हेर्न सकेको छैन। पार्टीका गतिविधि त ठप्पै अवस्थामा छ। तर पार्टी एकीकरण भएपछि दुई वर्षको अवधिमा केही पनि भएन। विधानमा तोकिएका विषय तत् रुपमा हुनुपर्नेमा केही पनि भएन, एकीकरणको प्रक्रिया अबरुद्ध भयो।

स्थायी कमिटीको बैठक उहाँले बोलाउनुभएको होइन, हामी २० जनाले हस्ताक्षर गरेर बुझाएपछि बल्लबल्ल बोलाउनुभएको हो। बैठकका एजेण्डा राम्रै थिए छलफल नै भएन। उहाँकै आपत्ति जनक अभिव्यक्तिपछि हामी राजीनामा माग्ने अवस्थामा पुगेका हौं जसले एजेण्डा मोडिएर तनाव सुरु भयो।

भिडियाे:

उहाँले बैठकमा उठेका कुराको जवाफ बाहिर दिँदै हिँड्ने होइन, बैठकमै आएर छलफल गर्ने हो। तर उहाँले त अर्का अध्यक्षले असहमति जनाउँदा जनाउँदै अनिश्चित समयका लागि बैठक स्थगित गर्नुभयो।

तर पनि हामीले बैठक राखेर अध्यक्षको निर्णय अनुचित भएको ठहर गरौं। अध्यक्ष प्रचण्डलाई छलफल गरेर अर्को बैठक राख्न आग्रह गरेका छौं। उहाँले आएर बैठकमा बसेको भए यति लामो समय तनाव हुने थिएन।

उहाँलाई पार्टीको कुनै मतलब भएन, एकलौटी स्वेच्छाचारी ढंगले चल्न मा मात्र खोज्नुभएको छ। अहिलेसम्म यस्तो व्यवहार र शैली भएको नेता देखेको छैन। उहाँले कम्युनिष्ट आचरण, व्यवहार सबै त्यागिसक्नुभएको छ।

ओलीलाई राजीनामा दिन भनेपछि अब प्रधानमन्त्रीको उम्मेद्वार को हो त?

विकल्पको बारेमा छलफल गर्ने हो। त्यसबारेमा छलफल सुरु भएकै छैन। पहिला त उहाँ बैठकमा आउनुपर्‍यो, छलफल गर्नुपर्यो। त्यस्तो अवस्थामा हामीले दुवै पदबाट राजीनामा दिने विषयमा सोच्न सकिन्छ। हामी पनि एकोहोरो त छैनौँ नि। हामीले एक व्यक्ति एक पदको एजेण्डा उठाउँदै आएका छौं।

विवाद समाधानका लागि भनेर उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्तावबाट समाधान निकाल्न सकिँदैन?

त्यो प्रस्ताव ठूलो कुरा भएन। बैठकमा आउनुपर्‍यो, वामदेव कमरेडले राख्नुभएको प्रस्ताव, अरु प्रस्तावमा छलफल गर्न सकिन्छ। पार्टीमा सबै जना एक व्यक्ति एक पदमा जाने, सबै नियुक्तिहरु एकलौटी ढंगले गरिरहनुभएको छ।

पार्टीको अध्यक्षले आफ्ना गुटलाई मात्र च्याप्न मिल्दैन। मिलेर छलफल गरेर जाऔँ भन्ने प्रस्ताव नाजायज होइन। पार्टीको निर्देशनलाई मानेर जाऔँ भन्ने उहाँको कुरा छ। तर त्यसका लागि बैठकमा आएर छलफल गर्नुपर्‍यो।

आइतबारको बैठकमा तपाईंहरु ३१ जना उपस्थिति भएपछि निर्णय गर्न किन नसकेको? बहुमत र विधिको निर्णय मान्नुपर्छ भन्दै आए पनि निर्णय गर्न त सक्नुभएन?

हामीसँग बहुमत छ तर दम्भ राखेका छैनौं। छलफल गर्दै जाँदा सहमति भएन भने निचोड निकालने विधि त्यही हो। तर हामी सर्वसहमति चाहन्छौं।

पार्टीलाई जोगाएर लिएर जान्छौं। अलिकति पनि फुटको संकेत आउनु हुँदैन भनेर हामीले संयमता अपनाएकै हो। पार्टीको विधि, प्रक्रिया र आर्दशबाट हामी चलेका छौं। हामीले विधान उल्लंघन गरेका छैनौं।

नैतिक धरातललाई बिर्सिएका छैनौं। यसैलाई अध्यक्ष केपी कमरेडले कमजोरी ठान्नुभयो। बहुमतको संयमता र जवाफदेहीतालाई उहाँले कमजोरी ठान्नुभएको छ। त्यसैमाथि खेलेर उहाँले चुनौती दिइरहनुभएको छ।

अब के गर्नुहुन्छ त?

उहाँकै शैलीअनुसार त हामीसँग बहुमत छ भनेर गर्ने हो भने एक सेकेण्ड पनि पर्खिने अवस्थामा छैनौं। बहुमतको दम्भ देखाउने हो भने प्रस्ताव स्थायी र केन्द्रीय कमिटीबाट पारित गराउन सक्छौं।

तर त्यसो गर्दैनौं, पार्टी बलियो र एक जुट भएकै हेर्न चाहन्छौं। अहिले एमाले दर्ता गरिएको छ। त्यो आवश्यकता हो र? यतिबेला न एमाले आवश्यक छ, न माओवादी नै। नेकपालाई बोकेर अघि बढ्ने बेला हो।

नेकपाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जोडिनुभएको छ। पार्टीका हरेक बैठक अघि र पछि उहाँले चासो राख्दै आउनुभएको छ। यो स्वभाविक हो र?

यो विषयमा बैठकमा जोडसँग उठेको छ। कुनै पनि सदस्यलाई राम्रो लागेको छैन। यसको विरोध गरेका छौं। राष्ट्रपति भनेको देशको अभिभावक हो, उहाँले पार्टीको लोभ गरेर हुँदैन। पार्टीको भागबण्ड र लोभमा फस्ने होइन।

अर्कोतर्फ नेताहरुले पनि उहाँलाई ठाउँ दिनुहुँदैन। पटक पटक राष्ट्रपति कार्यालय जानु बेठीक छ। नेताहरुलाई बोलाइबोलाइ छलफल गर्ने उहाँको काम होइन।

राष्ट्रपति गणतन्त्रको प्रतीक हो, उहाँले पार्टीको गुटलाई नभई देशलाई हेर्नुपर्छ। पार्टीको जस्तो मात्र राष्ट्रपति हुनुभएको छ। उहाँले आफ्नो गरिमा जोगाउनका लागि यस्ता काम गर्न बन्द गर्नुपर्छ। आफ्नो ओजनमा बस्नुपर्छ।

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य

स्थायी समिति असफल भइरहँदा हिजो केन्द्रीय कमिटीको बैठक समेत आह्वान भएको छ। त्यसले निकास दिन सक्ला?

केन्द्रीय कमिटी भनेको दुई महाधिवेशनबीचको सर्वोच्चको निकाय हो। अहिले हामी महाधिवेशनको तयारी गरिरहेका छैनौं। यो जटिलतामा केन्द्रीय कमिटीका सदस्य हेरेर मात्र बस्नु पर्छ भन्नु ठीक होइन।

एक चौथाई सदस्यले माग गरेपछि बैठक बोलाउनुपर्छ, आलटाल गर्न पाइँदैन। केन्द्रीय कमिटी बैठक अघि स्थायी कमिटी समापन हुनुपर्छ। केन्द्रीय कमिटीमा जाँदा सुव्यवस्थित रुपमा प्रस्तावसहित जानुपर्छ। त्यहाँबाट समझदारीका साथ निकास निकाल्नुपर्छ।

उहाँहरु स्थायी कमिटी, केन्द्रीय कमिटी केही पनि चाहिँदैन, सचिवालयबाटै निकास निकाल्नुपर्छ भनिरहनुभएको छ। अहिलेको समस्या भनेको सचिवालयले निकालेको समस्या हो, त्यो आवश्यक छैन। स्थायी कमिटीमा नयाँ र पुराना दुवै पुस्ताका नेताहरु हुनुहुन्छ। त्यसले निकास निकाल्न सक्छ।

स्थायी कमिटी नै असफल भएको अवस्थामा केन्द्रीय कमिटीमा जाँदा विभाजनको आधार खडा हुन्छ भनेर ओली पक्षीय नेताहरुले भनिरहेका छन्। के साँचै विभाजनमा लानै खोजिएको हो त?

के विभाजन गर्ने मनसाय उहाँहरुको छ र? पार्टी यतिबेला विभाजनको ‘वि’ पनि उच्चारण गर्न चाहँदैनौं। बल्ल बल्ल यति ठूलो विशाल पार्टी बनेको छ। यो पार्टीलाई छियाछिया पारेर अघि बढ्ने कुरा कसले सोच्न सक्छ? कसैको मनसाय छैन।

यो सरासर गलत सोच हो। कसैलाई लागि रहेको छ भने मनबाट झिकेर फालिदिनुहोस्। नेकपामा सयौं हजारौं कार्यकताको रगत पसिना बगेको छ। दुख कष्ट गरेका कार्यकर्ताले थेगेको छ। जसले केही पनि पाएको छैन उनीहरुलाई सबैभन्दा बढी माया छ जसले हामीलाई खबरदारी गरिरहेका छन्।

साउन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्