तानातानमा पूर्वमाओवादी नेताहरु, दाहालअघि ओलीसँग राति सामूहिक भेटे

केपी शर्मा ओली र पुष्पकमल दाहाल। फाइल तस्बिर।

काठमाडौँ – पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्यहरु तानातानमा परेका छन्।

पछिल्लो समय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका नेताहरुलाई प्रचण्डले पनि आफूसँगै राख्न कोसिस गरेका हुन्।

आफूप्रति सद्भाव राख्ने पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्यहरुसँग ओलीले सामूहिक छलफल गरेसँगै दाहालले पनि बोलाएर कुराकानी गरेका छन्।

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगिरहेका बेला ओलीले बुधबार राति बालुवाटारमा पूर्वमाओवादी तर्फका सात जना नेताहरुसँग सामूहिक छलफल गरेका थिए।

स्रोतका अनुसार उक्त भेटमा पूर्वमाओवादी तर्फका गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाफी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणि खनाल र मणि थापा सहभागी थिए।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्र उत्पन्न भएको विवाद सतहमा पुगेको छ। भेटमा ओलीको दुवै पदबाट राजीनामा मागिएको विषयमा छलफल भएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा मागिएको विषयलाई प्रतिवाद गर्न नेताहरुसँग आग्रह गरेका थिए। यसअघि पूर्वमाओवादी नेताहरुसँग ओलीले व्यक्तिगत रुपमा भेट गर्दे आए पनि बुधबार भने पहिलोपटक सामूहिक रुपमा छलफल गरेका हुन्।

बुधबार राति ओलीलाई भेटेको सूचना पाएपछि बिहीबार साँझ अर्का अध्यक्ष प्रचण्डले पनि तीनै नेताहरुसँग खुमलटार बोलाएर छलफल गरेका हुन्। आफू निकट मानिएका पूर्वमाओवादी नेताहरु नै ओलीको कित्तामा पुगेपछि दाहाल दबाबमा परेका छन्।

खुमलटारको भेटमा नेताहरु टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, चन्द्रप्रकाश खनाल, मणि थापा, देवेन्द्र पौडेल र जनार्दन शर्मा सहभागी थिए।

खुमलटारमा पनि दाहालले नेताहरुलाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा नेताहरुले पार्टी एकता जोगाउन अहिलेको अवस्थामा ओलीसँग मिलेर अघि बढ्न सुझाव दिएका छन्।

भेटमा सहभागी एक नेताले भने, ‘हामीले अहिले परिस्थितिमा पार्टी एकता जोगाउन ओलीजीसँगै मिलेर अघि बढ्न सुझाव दियाैँ। महाधिवेशनसम्म समिकरण बनाउन भन्दा मिलेर जान सुझाव दियाैँ।’

सार्वजनिक रुपमा पनि भट्ट, रायमाझी र थापाले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनु पर्ने धारणा राख्न थालेका छन्।

साउन १३ गते बोलाएको स्थायी कमिटी बैठक ओलीले एक पक्षीय रुपमा स्थगित गरेपछि अर्को बैठक अनिश्चि बनेको छ। दाहाल नेपाल पक्षका बहुमत सदस्यले स्थायी समिति बैठक राखेको बताए पनि विवादमा परेको छ।

साउन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्