सिँडी छोएर बगेको बागमतीको पानी धमिलो छ । उर्लेर बगेको बागमतीले गेरु बस्त्र, केही टीका, धागो, चुरा र सिन्दुर पनि सँगै लग्यो । किनारबाट ती सामग्री बिसर्जन गरेका व्यक्ति जीवनको यात्रा टुंग्याएर अन्तिम सत्यको बाटो तय गर्दै गरेका व्यक्तिको भौतिक शरीर नजिक गए।
प्राण त्याग गरेको शरीर बागमतीको पानी गोडाले छुने गरी सेतो कपडा ओढाएर राखिएको छ । मृत शरीरको शिरमाथि शिवलिंग छ, त्योमाथि माथि जलधारा । विधि पूर्वक शिवलिंगमाथिको जल मृत व्यक्तिको मुखमा चढाए । केही थप प्रक्रियापछि कात्रो (सोला) मा राखेर फूलमालाले सजाइएको चितामा नजिक लगे ।
चितामा पार्थिव शरीर राखे, दागबत्ती दिए । बिस्तारै चितामा चिनिएका दाउरा हुँदै आगो शरीरमा सल्कियो । केही समय अघिसम्म शिवलिंगलाई शीरमा पारेर निदाएका जस्तो देखिएका ती बृद्धको शरीर अब खरानी र धुवाँ हुँदै गयो ।
‘दाइ अब वैकुण्ठ जानु भो, मुक्ति पाउनु भयो यो जन्म–मृत्युको चक्रबाट’, चिता नियालिरहेका अधवैँसेले भने । अरु केहीले पनि एकटकले दन्किरहेको चिता हेरिरहे । केही निस्किँदै थिए । केही गफमा व्यस्त थिए ।
यो दृष्य पशुपतिनाथ मन्दिरको पूर्व ढोकाको तल बागमती किनारमा बुधबार अपराह्न देखिएको हो । दैनिक यस्तै घटनाको साक्षी बग्ने बागमती र उभिएको आस्थाको केन्द्र पशुपति बन्दै आएको छ। मलामी आएकाहरुले ती अधवैँसेले जस्तै जल्दै गरेको चिता हेरेर वैकुण्ठ बासको विश्वास व्यक्त गर्दै आएका छन् र गरिरहने छन् पनि ।
कारण, ब्रह्मनालको जल पाएपछि मुक्ति मिल्छ भन्ने विश्वास। हिन्दु सनातन् धर्ममा विश्वास गर्नेहरुका लागि ब्रह्मनाल जीवनपछिको मुक्त मार्ग हो। आर्य तीर्थ हो । ब्रह्मनालको जलले प्राणलाई योनीको चक्रबाट मुक्ति दिलाउँछ भन्ने आस्था र विश्वास प्राचीन कालदेखि रहँदै आएको छ ।
ब्रह्मनाल
पशुपतिनाथमा चठाइएको उत्तर तर्फको जलधारा आउँछ ब्रह्मनालमा । यसमा तीन तिर्थको जल आउने विश्वास रहेको साँस्कृतिक अध्येता डा. गोविन्द टण्डनले जानकारी दिए ।
‘बागमती, पशुपतिनाथको उत्तर तर्फको जलधारा र गुहेश्वरीको जल मिसिएर ब्रह्मनालामा आउँछ भन्ने विश्वास छ’, डा. टण्डनले भने, ‘पशुपतिनाथबाट आउने अर्घ्य जल, बागमतीको जल र गुहेश्वरीको जल एकै ठाउँमा मिसिने विश्वास भएकाले यसलाई आर्य तिर्थ पनि भिनिन्छ। यो आर्य तिर्थको पानी अन्तिममा पाउने व्यक्तिले मुक्ति प्राप्त गर्ने विश्वास छ।’
सनातनकाल देखि चल्दै आएको परम्परा अनुसार पशुपतिनाथको उत्तरतर्फको जलधारा जताततै लगेर नाग्नु हुँदैन, उल्लंघन गर्नु हुँदैन । सोही कारण सो जलधारा ननाघ्ने किसिमले व्यवस्था मिलाइएको डा. टण्डनले बताए। उनले भने, ‘त्यहि कारण पशुपतिनाथ वा शिवजीको मन्दिरको अर्थ परिक्रमा गरिन्छ। पूरा परिक्रमा हुँदैन। अर्घ्य जल नाघ्नु हुँदैन भन्ने विश्वास सनातनकालदेखि रहँदै आएको छ।’
पशुपति क्षेत्रका बासिन्दा, सम्पदाविद तथा धर्मशास्त्रका जानकारहरुले हिन्दू दर्शनका अनुयायीहरुका लागि पशुपति र त्यहाँको जल आउने प्राचीन ब्रह्मनाल जीवनकाल र जीवनपछिको कालका लागि अति महत्वपूर्ण रहेकाले यसमाथिको कुनै पनि किसिमको प्रहार या प्रहारको प्रयास स्वीकार्य नहुने बताएका छन् ।
जीवनपछिको मुक्ति वा परलोक बासका लागि ब्रह्मनालको महत्व विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको भन्दै पशुपति क्षेत्रको साँस्कृतिक पक्षबारे अध्ययन गरेका डा. टण्डनले भने, ‘ब्रह्मनाल शव अटाउने संरचना मात्रै होइन, त्यसको महत्व पशुपतिबाट सीधै आएको अर्घ्य जल हो । सो जल प्राचीनकालदेखि सोही स्थानमा छ।’
उनले अहिलेको संरचना पनि १६–१७ औँ शताब्दीको रहेको जानकारी दिए। उनले भने, ‘अहिले ढुंगाको शिवलिंगसहितको सिँढी युक्त शव राख्ने स्थान र त्यसमाथि अर्घ्य जल आउने व्यवस्था मल्लराजा लक्ष्मिनरसिंह मल्लले बनाएको उल्लेख बनाएको पाइन्छ । प्रताप मल्लका पिताले लक्ष्मिनरसिंह मल्ले सो घाट बनाएका हुन्।’
त्यसपछि विभिन्न कालखण्डमा सिँढी थप्ने, वरपर थप मन्दिरहरु बनाउनेका भए पनि ब्रह्मनाल सनातनकालदेखि सोही स्थानमा रहेको अध्येताहरुले बताएका छन्। पशुपतिनाथको पूर्व ढोकाको सीधा तल बागमती किनारमा रहेको ब्रह्मनालमा आउने अर्घ्य जललाई अन्यत्र मोड्न नमिल्ने र त्यस्तो गर्न खोजिए सदाकालदेखि रहँदै आएको सर्वसाधारणको आस्थामाथि प्रहार हुने डा. टण्डनले बताए।
‘आस्था पनि सम्पदा हो, यसको संरक्षण हुनु पर्छ’
पशुपति क्षेत्रका बासिन्दा, सम्पदाविद तथा धर्मशास्त्रका जानकारहरुले हिन्दू दर्शनका अनुयायीहरुका लागि पशुपति र त्यहाँको जल आउने प्राचीन ब्रह्मनाल जीवनकाल र जीवनपछिको कालका लागि अति महत्वपूर्ण रहेकाले यसमाथिको कुनै पनि किसिमको प्रहार या प्रहारको प्रयास स्वीकार्य नहुने बताएका छन्।
हालै पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरी मन्त्री परिषदमा पठाएको गुरुयोजनामा ब्रह्मनाल सम्भव भएसम्म भस्मेश्वरमा निर्माण गर्ने उल्लेख गरिएका कारण विवाद भएको छ। सो गुरुयोजनामा सम्पदाविदले गम्भीर आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तथा सरोकारवाला सबैसँग छलफल गर्न आदेश दिएको छ ।
पुरातात्विक क्षेत्रको विकासका लागि गुरुयोजना बनाउँदा स्थानीय सरोकारवालासँग पुरातत्व विभागसँग बृहत छलफल हुनु पर्नेमा कोषले त्यस्तो गरेको पाइएको छैन। सम्पदाविदको आपत्ति र मन्त्रालयले छलफल गर्न भनेपछि मात्रै कोषले अहिले गुरुयोजनामाथि सम्बन्धित पक्षसँग छलफल भइरहेको बताएको छ।
तर स्थानीय सम्पदाकर्मी तथा जनप्रतिनिधि, काठमाडौँ क्षेत्र नम्बर ४ (क) बाट बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्राचीन ब्रह्मनालमाथि नै फरक दृष्टि राखेर कोषले तयार पारेको गुरुयोजना कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
उनले भने, ‘ब्रह्मनालसँग हाम्रो पुस्तौँदेखि आस्था जोडिएको छ। हाम्रो मुक्तिको विश्वास जोडिएको छ। यी सबै अमूर्त सम्पदा हुन्, यसको पनि संरक्षण हुनु पर्छ । कुनै पनि मूल्यमा ब्रह्मनाल सार्न दिने कुरामा टसमस हुने छैनौँ।’
विकास वा सुधार विरोधी आफूहरु नरहेको तर प्राचीनता नै मेटिने गरी र आस्था विपरीत हुने गरी ब्रह्मनाल सार्ने वा अन्यत्र निर्माण गर्ने पक्षमा कुनै पनि हालमा समर्थन नहुने वैद्यले बताए ।
धर्म–संस्कृतिविद वासुदेव कृष्णशास्त्रीले प्राचीन देवालय निर्माणसँग सम्बन्धित प्राचीन वास्तु शिल्पशास्त्र अनुसार पुशपतिका देवालयहरुको निर्माण भएकाले त्यस विपरित हुने कुनै पनि निर्माणलाई निर्माण मान्न नसकिनले बताए।
उनले भने, ‘ब्रह्मनाल पशुपतिको प्रारम्भदेखिको हो। यससँग पशुपतिको पहिचान जोडिएको छ। पशुपतिको अर्घ्यको पानी सीधै आर्यघाटमा जान्छ । त्यसलाई पाइप लगाएर वा अन्य उपायबाट अन्त लैजान मिल्दैन। यो कार्य पशुपतिको मुल मर्यादा विपरित हुन्छ ।’
यसैगरी पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिवसमेत रहेका डा. गोविन्द टण्डनका अनुसार पशुपतिबाट निस्कने जल भस्मेश्वरसम्म लैजान सम्भाव छैन। उनले भने, ‘पशुपतिको चरणबाट आउने जल जीवनको अन्तिमकालमा प्रसाद स्वरुप लिन पाए वैकुण्ठ बास हुने र पुर्नजन्मको चक्रबाट मुक्ति मिल्ने विश्वास छ। त्यही भएर शव ब्रह्मनालमा लगिन्छ। तर अहिलेको अवधारणामा भनिएको जस्तो पशुपतिको चरणबाट आएको जल भस्मेश्वरमा लैजाने सम्भव नै छैन।’