विद्यालयहरुप्रति लापरबाह सरकार

वर्तमान परिस्थिति अर्थात कोरोनाका कारण निम्त्याएको विविध पक्षमा परेको असरसँगै शिक्षा क्षेत्रमा पनि प्रत्यक्ष असर परेको छ। यस क्षेत्रसँग प्रत्यक्ष सरोकार भएको पक्ष विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावक हुन्। कोरोनाका कारण शिक्षाका सानादेखि ठूला तहसम्म नै प्रत्यक्ष असर परेको छ। समाजमा फैलिएका शिक्षासम्बन्धि नकारात्मक हल्ला र सरोकारको विषय विद्यालय तह बन्न पुगेको छ। माथिल्ला तहमा स्वअध्ययनबाट नै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने हाम्रो सोचका कारण माध्यामिक तहभन्दा माथिल्ला तहमा खासै चासो देखिएको पाइँदैन। माथिल्ला तहमा एकाध विषयभन्दा बाहेक अरु विषय सिद्धान्त घोकेर पास गर्ने परिपाटी छ र पाठ्यक्रम पनि सोहीअनुसार नै छ। यस कारण पनि माथिल्ला तहका पढाइका विषयमा शिक्षासम्बद्ध व्यक्तिहरूले खासै चासो लिएका छैनन्। विद्यालय तहको पठनपाठनको विषयलाई चासोको रुपमा लिएपनि निर्णायक भूमिका भने कहीँ कतैबाट पनि निर्वाह भएको छैन।

विद्यालय तहको उमेर भनेको जीवनको आधार स्तम्भ हो। यो समयमा दिमागमा जे जति कुरा भरिन्छन् ती कुरा पछि प्रयोगमा ल्याउदै जाने र विवेकपूर्ण ढङ्गबाट अघि बढ्दै सामान्यीकरण गर्ने हो। सानो वीजलाई वृक्ष बनाउने क्षमताको वीजारोपक्षको समय पनि विद्यालय तह नै भएकाले विद्यालय तहको चासो बढ्नु स्वभाविक पनि हो। सतही हल्लाले निर्णयात्मक वातावरण निर्माण गर्न अझैँ सकिएको छैन। शिक्षा सम्बद्ध अधिकारीहरू यस परिस्थितिमा निजी तथा सरकारी विद्यालयलाई के कसरी हातेमालो गर्दै अगाडि बढाउने भन्ने कुरामा अलमलमा परेका छन्। समय सापेक्ष शिक्षाका रणनीति तथा मापदण्डहरू निर्माण गरी निश्चित मार्गनिर्देशन दिन नसक्दा शिक्षा क्षेत्र अलमलमा परेको छ।

विद्यालय सञ्चालकले आफ्नै जुक्ति बुद्धि लगाई सकेसम्म पठनपाठनको वातावरण सिर्जना गर्न खोजिरहेका छन्। यस्ता पठनपाठन भएका ठाउँमा पनि थुप्रै समस्याहरू छन्। शिक्षकले अनेक दुःख गरेर कोही टोल टोलमा गएर, कोही प्रविधिसँग पौठाजोरी खेलेर पठन पाठन गराइरहेका छन्। अभिभावक आफ्ना कामकाज नियमित प्रक्रिया लथालिङ्ग हुँदाको पीरमाथि आफ्ना बालबालिकाहरूको पठनपाठनमा परेको समस्याले चिन्तित छन्। बालबालिकालाई पनि पठनपाठनको सहज वातावरण नहुँदा र अभिभावक तथा शिक्षकको निर्देनमा पठनपाठन गर्नुपर्दा असहज भइरहेको अवस्था छ। साथै सरकारको शिक्षा सम्बन्धी ठोस मापदण्ड नतोक्दा कहिले पठनपाठन बन्द हुने कहिले खुल्ने भइरहेको छ। यसका कारण पठनपाठन प्रक्रिया निरुत्साहित हुनुका साथै शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालय प्रशासन समेत तनावमा रहेका छन्।

विद्यालय भदौ १ गतेदेखि खुलेपनि कक्षागत वा विषयगत उद्देश्य पूरा हुन सक्दैनन् त्यसैले आवधिक पाठ्यक्रम निर्माण गरी विषम परिस्थितिसँग सम्बन्धित जीवनयापनका सीपमूलक विषयवस्तुलाई समेटिनु पर्दछ।

निजी विद्यालयका केही इन्टरनेटको पहुँच पुगेका विद्यालयले अनलाइन माध्यमबाट शिक्षण गर्दै आइरहँदा चौतर्फी विरोध भयो। रहरले होइन कहरले भएपनि प्रविधि मैत्री वातावरण शिक्षामा भित्रिनु सुखद् कुरा हो। यसबाट पढाएको बुझिएन, यसको प्रभावकारिता केही छैन भन्नुभन्दा पहिले जतिको पहुँच जेमा छ त्यसलाई कसरी विद्यार्थी केन्द्रित बनाएर लैजाने भन्ने कुरा सोच्नु जरुरी छ। यस्ता अनलाइनका माध्यमबाट शिक्षण गर्दा राष्ट्रिय पाठ्यक्रम विकासले निर्धारण गरिए अनुसार कै पाठ्यक्रमका सबै उद्देश्य पूरा होस् भन्ने अपेक्षा राखिनु गलत हो। यसकालागि सरकारले आवधिक पाठ्यक्रम निर्माण गर्नु जरुरी छ।

विद्यालय भदौ १ गतेदेखि खुलेपनि कक्षागत वा विषयगत उद्देश्य पूरा हुन सक्दैनन् त्यसैले आवधिक पाठ्यक्रम निर्माण गरी विषम परिस्थितिसँग सम्बन्धित जीवनयापनका सीपमूलक विषयवस्तुलाई समेटिनु पर्दछ। समाजमा आउने परिवर्तनसँगै शिक्षाका पाठ्यक्रम पनि परिर्वन हुनु आवश्यक छ। हालको अवस्थामा कोरोना भाइरसका कारण जनजीवन तथा समाज परिवर्तन भएको छ। विद्यार्थीहरू विद्यालयमा उपस्थित नभई घरबाट नै पठनपाठन गर्नुपर्ने अवस्थामा कसरी बालबालिकालाई शिक्षण गर्ने वातावरण निर्माण गर्न सकिन्छ भन्ने कुराको मापदण्ड सम्बन्धित निकायले गर्नु अपरिहार्य छ।

यदि शिक्षासम्बन्धी आधिकारिक तहबाट निश्चित समयका लागि निश्चित शिक्षा सम्बन्धि मापदण्ड तोक्ने हो भने समाजका अनेकौँ विचारका लडाईमा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावक होमिनु पर्दैन थियो। शिक्षालाई वादविवादको विषय बनाएर अनेकौ तर्कवितर्क गर्दा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्कुल प्रशासनमा समेत तनाव सिर्जना हुन्छ जसले रचनात्मक कार्य गर्नमा बाधा पुर्‍याउँछ। यस्ता विविध वैचारिक द्वन्दबाट बच्न सरकारले निश्चित मापदण्ड तोक्नु आवश्यक छ । बन्दाबन्दी खुलेसँगै शैक्षिक संस्थाहरू पनि भदौ १ गतेबाट खोल्ने भनिएको छ तर विद्यालय खोलेर कसरी पठन पाठन सुचारु गर्ने भन्ने कुराको स्पष्ट मापदण्ड खुलाइएको छैन । सुरक्षित तवरले शैक्षिक संस्था खोल्ने भनिए पनि सुरक्षा भनेको स्यानिटाइजर र माक्सको भरमा मात्र बालबालिकालाई राख्नु हो त ? यो बालबालिकाका लागि कतिको व्यवहार उपयोगी छ । सबै बालबालिका मुखमा माक्स लगाएर दिनभर विद्यालयमा बस्न सक्छन् ? खाजा, पानी खाँदा उनीहरुले मास्कको व्यवस्थापन उचित ढङ्गबाट गर्न सक्छन् ? साथी साथीबिचको सामाजिक दुरीमा रहेर बस्न सक्छन् ? यस्ता कार्य गर्न बालबालिकालाई निकै कठिन हुन्छ । बालबालिकाको यस्तो मानसिक अवस्थामा अन्य वर्षकै पाठ्यक्रमका उद्देश्य पूरा गर्न खोजेको देखिन्छ ।

सरकारले विषम परिस्थितिलाई मनन गर्दै आवधिक पाठ्यक्रम परिवर्तन गरी पठन पाठनको निश्चित मापदण्ड तोक्नु आवश्यक छ ।

साउन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्