सुन्धारामा प्रहरीबीचबाट ‘सुन’को झोला फ्याँकेर स्कर्पियो फरार प्रकरण: यस्तो छ नालिबेली

काठमाडौं– काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले तीन दिनअघि सुन्धारामा प्रहरीको घेराबीच ‘सुन’को झोला फ्याँकेर स्कर्पियो फरार भएको घटना सबै छर्लङ्ग भएको र त्यसमा संलग्न सबै जनाको पहिचान भएको दावी गरेका छन्। यस प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन्। दुई जना मुख्य अभियुक्त फरार रहेको उनले जानकारी दिए।

महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले हालसम्म भारत गुजरातका निलेश सकिया, देवानसिंह पटेल, कौशल पटेल, र विजय पटेललाई पक्राउ गरेको छ।

यसैगरि ट्याक्सी चालक सन्दीप गुरुङ, उमेश श्रेष्ठ तथा दुई जना प्रहरी प्रशन्न श्रेष्ठ र बहादुरसिंह कठायत पक्राउ परेका छन्। चाँदीमा सुनको जलप लगाउने मनिष मलिक पनि पक्राउ परेका छन्।  प्रशन्न र बहादुरसिंह दुवै जवान हुन्। उक्त ‘सुन’को मालिक भनिएका राजु भण्डारी भनिने इल्ताफ हुसेन र सन्जय पटेल भने फरार छन्।

गत मंगलबार बिहान सुन्धारामा झोला फ्याँकेर उपत्यकाका सुरक्षा निकायलाई जिल्याँउदै उम्किएको बा ६ च ५५१९ नम्बरको स्कर्पियो बिहीबार दिउँसो ललितपुरको नख्खिपोटस्थित निर्माणाधिन घरको कम्पाउन्डमा छोपिएको अवस्थामा फेला परेको थियो। प्रहरीले सुन भनेर सुराकी पाएको उक्त झोलामा आधा केजी सक्कली सुन र साढे १४ केजी सुनको जलप लगाइएको चाँदी तथा दुई वटा चाइनिज पेस्तोल बरामद भएको थियो।

लगत्तै काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि स्कर्पियोले कमलादीस्थित नबिल बैंक अगाडि सुनको झोला फ्याँकेर स्कर्पियो फरार भएको बताएको थियो। तर स्कर्पियो पक्राउ नपरेपछि घटना शंकास्पद रहेको भन्दै महानगरीय प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

‘गुमराह’मा वृत प्रमुख र काठमाडौं प्रमुख, जवानले जिल्याए


कमजोर अप्रेसन गरेको भन्दै दरबारमार्ग प्रमुख रञ्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्। उनलाई प्रहरी एकेडेमीमा सरुवा गरिएकाे छ। देवानसिंह पटेल र कौशल पटेल दाजुभाइ हुन्। उनीहरु सुन व्यवसायी पनि हुन्। जलप लगाउने काममा पनि संलग्न छन्। साढे १४ केजी चाँदीमा जलप लगाइएकोबारे उनीहरु जानकार दिए। इल्ताफ हुसेन र सन्जय पटेलको कारोबारबारे उनीहरु जानकार थिए।

जलप लगाइएको उक्त चाँदी र सुन काठमाडौं बाहिर लगिँदैछ भन्नेबारे उनीहरुलाई जानकारी थियो। लाजिम्पाटमा केही समय काम गरेका प्रहरी जवान बहादुरसिंहसँग कौशलको चिनजान थियो।

कौशलले त्यसबारे बहादुरसिंहलाई जानकारी गराए। बहादुरसिंहले दरबारमार्गका घुमुवा जवान प्रशन्नलाई बताए। प्रशन्नले दरबारमार्ग वृत प्रमुख दाहाललाई जानकारी गराए। ठूलो परिमाणको सुन आउँदैछ भनेपछि डीएसपी दाहालले अप्रेसनलाई गोप्य राख्न खोजे। मंगलबार बिहान कमलपोखरीको एक अपार्टमेन्टबाट उक्त गाडी निस्कँदैछ भन्ने सूचना प्रहरीलाई थियो।

डीएसपी दाहालसहितको  टोली गाडी आउन सक्ने सम्भावित बाटोमा बस्न  मेरियट होटलको नजिकै बस्यो। कठायत र प्रशन्न कमलपोखरीतिर बसे। कमलपोखरी क्षेत्र दरबारमार्ग वृतको क्षेत्रमा पर्दैन थियो। अर्काको क्षेत्रमा गएर बिना जानकारी अप्रेसन गर्न दरबारमार्ग वृतलाई गाह्रो थियो। आफ्नो क्षेत्रमा गाडी आएपछि नियन्त्रणमा लिने तयारी डीएसपी दाहालको थियो।

अपार्टमेन्टबाट गाडी निस्किएपछि कठायत र प्रशन्न त्यसको पछिपछि लागे। उनीहरुसँग प्रशन्नका साथी ‘सिभिलियन’ उमेश पनि थिए। उता डीएसपी रञ्जन गाडी कुरिरहेका थिए। केहीबेरमा प्रशन्नले गाडी निस्किएकोबारे दाहाललाई जानकारी गराए। मोटरसाइकलले आफूलाई ओभरटेक गर्दै अघिपछि गरिरहेका स्कर्पियोभित्रकाले बुझिसकेका थिए-हामीलाई प्रहरीले लखेट्दै छ। स्कर्पियो इल्ताफले हाँकिरहेका थिए भने पछाडिपट्टी थिए सञ्जय र निलेश।

काठमाडौं प्रहरी प्रमुख ज्ञवाली भन्छन्, ‘प्रहरीले लखेटिरहेको थाहा पाएपछि इल्ताफले झोला लिएर बाहिर निस्कन सञ्जयलाई भनेछन् तर सन्जय नमानेपछि निलेश निस्किएछन्।’

सुन्धारास्थित शहिदगेट अगाडि रहेको बस स्टेनमा पुगेपछि स्कर्पियोबाट निलेश झोला लिएर निस्किएका थिए। निलेशलाई ओरालेर स्कर्पियो त्रिपुरेश्वरतिर मोडियो। बहादुरसिंह र उमेशले निलेश र उनको झोला लिएर ओभरब्रिजमाथि उक्लिए। प्रशन्न भने स्कर्पियोलाई लखेटिरहेका थिए।

‘ओभर ब्रिजमाथि पुगेपछि बहादुरसिंहले निलेशलाई भगाएको देखिन्छ। उनले उमेशको गोजीमा एक केजी ‘सुन’ राखेर उनलाई पनि त्यहाँबाट भगाउँछन्। त्यसपछि बहादुरसिंहले फोन गर्दै सामान भेटियो भनेपछि स्कर्पियो लखेटिरहेका प्रशन्न पनि फर्कन्छन्’, एसएसपी ज्ञवालीको दावी छ।

ज्ञवालीका अनुसार त्यसको तीन चार मिनेटपछि मात्र डीएसपी दाहाल त्यहाँ आइपुगेका थिए भने त्यसको केही मिनेटमा दाहालले आफूलाई जानकारी गराएका थिए। ‘काठमाडौं प्रहरी परिसरले घटनाबारे थाहा पाउँदा स्कर्पियो सानेपाबाट बाहिर निस्किसकेको रहेछ’, ज्ञवालीको दावी छ।

काठमाडौं प्रहरी परिसरको टोलीले घटना  भएकै दिन प्रहरीलाई सुनबारे सूचना दिने कौशल पटेललाई पक्राउ गरेको थियो। बुधबार नवलपरासीबाट निलेश सकिया, देवानसिंह पटेल र विजय पटेल पक्राउ परेका थिए। छानबिन टोलीको प्रारम्भिक अनुसन्धानबाट बिहीबार प्रहरी जवानद्वय प्रशन्न र बहादुरसिंहलाई नियन्त्रणमा लिइएको थियो।

शुक्रबार उमेशको कोठाबाट सुनको जलप लगाइएकाे एक केजी चाँदी बरामद भएको छ। बिरामी ल्याएर फर्किरहेका ट्याक्सी चालक सन्दीपले थानकोटबाट निलेश सकिया, देवानसिंह पटेल र विजय पटेललाई लिएर गएको बुझिएको छ।

काठमाडौं प्रहरी प्रमुख ज्ञवालीले सुनको सूचना दिने पटेल दाजुभाइ र प्रहरीका जवान मिलेर सुन गायब बनाउन खोजिएको बताउँछन्।

‘सूचना दिने पटेल दाजुभाइ र अप्रेसनमा खटिएका प्रहरी जवानको नियत खराब देखियो’, ज्ञवालीले भने।

सुन फ्याँकेर फरार भएको स्कर्पियोमा अरु के–के थियो भन्नेबारे प्रहरीले केही खुलाउन सकेको छैन। तर बिहीबार नख्खिपोटबाट खाली गाडीमात्र बरामद भएको थियो।

सुनधारामा भएकाे घटनालाई प्रहरीले कमलादीमा भएको भनेर देखाउनुको पछाडि दरबारमार्ग वृतले आफ्नो क्षेत्रभन्दा बाहिर गएर अप्रेशन गरेकाले त्यसाे गरेको हुनसक्ने अधिकारीहरु बताउँछन्।

साउन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्