अयुब खाँ-सी आइए,

अयुब खाँदेखि तिब्बत विद्रोहसम्म र राजा महेन्द्र-वीरेन्द्र

पाकिस्तानका सैनिक शासकहरू मध्ये सवैभन्दा कम विवादित र सम्भवत सवैभन्दा प्रभावशाली र सक्षम थिए-राष्ट्रपति जनरल मोहम्मद अयुब खाँ !

एक दशक भन्दा बढी समय पाकिस्तानको शासन सम्हालेका उनी राजा महेन्द्रका समकालीन थिए। सैनिक बिद्रोहबाटै सत्ताको बागडोर सम्हाल्न आएका थिए।

नेपालमा राजा महेन्द्रले लागू गरेको पंचायत व्यवस्था जस्तै बेसिक डेमोक्रेसी भनिने व्यवस्था उनले पाकिस्तानमा चलाएका थिए।

पञ्‍चायत व्यवस्थामाथि पाकिस्तानको बेसिक डेमोक्रेसी र इन्डोनेसियामा सुकार्नो द्वारा प्रतिपादित गाइडेड डेमोक्रेसीको बाक्लो प्रभाव रहेको थियो।

मे १ १९६०मा पाकिस्तानको पेसाबरबाट सोभियत सङ्घको आकाश क्षेत्र भित्र पसेर जासूसी गतिविधिमा संलग्न सिआइएको यु २ विमानलाई सोभियत सङ्घले खसालेर त्यसका पाइलटलाई बन्दी बनाएको थियो।

पछि सोभियत सङ्घका त्यस्तै गुप्तचर गतिविधिमा संलग्न व्यक्तिलाई अमेरिकाले रिहाई गर्ने शर्तमा अमेरिकी पाइलट पनि रिहा गरिएका थिए।

उक्त घटनाले दुई मुलुक वीचको सम्वन्धलाई अत्यन्त तिक्ततापूर्ण बनाएको थियो।

त्यस्तै कारणहरूबाट अमेरिकी राष्ट्रपति आइजनहावरको अन्तिम कार्यकाल र सोभियत शासक निकिता ख्रुश्चेभसँगको तनावमै बित्यो।राष्ट्रपति आइजन हावरकै कार्यकालमा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) को राजधानी ढाका नजिकको कुर्मीटोला सैनिक हवाई अड्डाबाट सिआइएले अमेरिकाको कोलोराडोमा प्रशिक्षित तिब्बती बिद्रोहीहरू (चलन चल्तीको भाषामा खम्पा विद्रोही)लाई विमानद्वारा तिब्बतमा पुर्याउने गरेको थियो।

हतियार र खाद्य सामग्री लगायत अन्य बन्दोबस्तीका सामानहरू पनि त्यसैगरी लगिने गरिएको थियो।१९६२मा चीनले भारतमाथि आक्रमण गर्नु अघि अमेरिका र सिआइएले आफ्ना त्यस्ता तिब्बत गतिविधिमा भारतलाई सहमत गराउन सकेको थिए।

हंगेरी लगायतका मुलुक माथिको सोभियत सैन्य हस्तक्षेपबाट नेहरू असन्तुष्ट थिए।चीनलाई सुरक्षा परिषदको स्थायी सदस्यता सहित राष्ट्र सङ्घमा ल्याउनु पर्ने कुरामा उनी अमेरिकी राष्ट्रपति लगायतका विश्व नेताहरूसँग वकालत गर्ने गर्दथे र चीनले आफ्नो मुलुकमाथि आक्रमण गर्नेबारे आफूले सोच्न सम्म पनि नसक्ने बताउँदै आएका थिए।

त्यसैले सिआइएको तिब्बत अभियानमा अमेरिका र पाकिस्तानवीच सहयोग र सहकार्य हुने गरेको थियो।राष्ट्रपति आइजनहावर पछि जोन एफ. केनेडी अमेरिकाको राष्ट्रपति भए।केनेडी भारतप्रति नरम दृष्टिकोण राख्थे।

भारतका ठूला प्रशंसक र विश्व अर्थतन्त्रका धुरन्धर ज्ञाता जोन केनेथ ग्याल्ब्रेथ भारतका लागि अमेरिकाका राजदूत थिए।

१.१९६२को चीन-भारत युद्ध र अमेरिकी जंगी बेडा र विमानहरूको उपस्थिति

त्यसैले केनेडी सरकारले भारतलाई एक अर्व डलरको आर्थिक सहयोग गरेपछि अयुब खाँले सिआइएलाई आफ्नो भूमिबाट तिब्बत गतिविधि गर्नबाट रोक लगाएका थिए।राष्ट्रपति अयुब खाँले आफ्नो आत्म कथा “फ्रेन्ड्स नट मास्टर्स”मा आफ्नो त्यस्तो असन्तुष्टि पनि उल्लेख गरेका छन्।

पछिल्ला दिनहरूमा चीन र भारतवीच विवाद र तनाव बढ्दै गइरहेको थियो। शक्ति राष्ट्रहरूका उच्च सुरक्षा र गुप्तचर अधिकारीहरू चीनले भारतमाथि आक्रमण गर्ने सम्भावना देखिरहेका थिए।तर वामपन्थी पृष्ठभूमिका र चीनप्रति अत्यधिक सद्भाव राख्ने रक्षामन्त्री तथा भारतका दोस्रा सर्वाधिक शक्तिशाली व्यक्ति मानिने भी .के. कृष्णमेननका कुरामा नेहरू आँखा चिम्लिएर विश्वास गरिरहेका थिए।

ऊता चीन १९५९ देखिनै भारतमाथि व्यापक आक्रमणको तयारी गरिरहेको थियो।राष्ट्रपति आइजनहावरले अप्रिल १९५९ मा नै सि आइएलाई तिब्बत अभियान संचालन गर्ने अनुमति दिएका थिए।

यहाँ अर्को विचारणीय पक्ष के पनि थियो भने चीन सिआइएको तिब्बत अभियानमा नेहरू पनि संलग्न रहेको विश्वासमा आफ्नो भारत रणनीति तय गरिरहेको थियो, तर भारत नभएर पाकिस्तान त्यसमा संलग्न रहेकोबारे चीन सोच्नै सकिरहेको थिएन।

पाकिस्तान र भारतवीचको सम्वन्धको स्थितिमा चीनले पाकिस्तानलाई आफ्नो मित्र शक्ति मानिरहेको थियो।पूर्वी पाकिस्तानको भूमिबाट तिब्बतमा कुनै किसिमको विद्रोही गतिविधि सञ्‍चालन गरिरहेको छ, भारतमा रहेका केही तिब्बती शरणार्थीहरूलाई पनि उसले संलग्न गराइरहेको छ भन्ने जानकारी नेहरूलाई थियो तर त्यसमा भारत सरकारको कुनै संलग्नता नभएको बारे सिआइए सम्वद्ध व्यक्तिहरू र अन्य अमेरिकी विज्ञहरूले लेखिरहेका छन्।

चीनले भारत विरूद्ध आक्रमणको व्यापक तयारी गरिरहेकोबारे अत्यन्त दक्ष र सक्षम मानिने आफ्ना गुप्तचर विभाग प्रमुख भोलानाथ मल्लिक र अन्तर्राष्ट्रिय ख्यातिका भारतीय सेनाध्यक्ष जनरल के. एस. थिमैयाले नेहरूलाई जानकारी गराइरहेका थिए।सो विरूद्ध रणनीति निर्माण गर्न उनीहरूले बारम्बार आग्रह गरिरहे, तर नेहरूले सुन्दै सुनेनन्। त्यसलाई अस्विकार गरिरहे।

कृष्ण मेननको कुरामा लागेर उनले चीन हिमाल तरेर भारतमाथि आक्रमण गर्न आउन नसक्ने दावी नेहरूले गरिरहे।

अन्तत: रक्षामन्त्री कृष्णमेननको बारम्बारको अपमानपछि र प्रधानमन्त्रीले आफ्ना कुरा सुन्दै नसुने पछि १९६२को चीन-भारत युद्धको केही महिना अघि जनरल थिमैयाले राजिनामा गरे।

यिनै परिवेशमा जुलाई १९६१मा पाकिस्तानी राष्ट्रपति खाँ र अमेरिकी राष्ट्रपति केनेडी वीच वासिङ्गटनमा भएको वार्तामा अयुब खाँ ढाका नजिकको कुर्मीटोला सैनिक हवाई अड्डाबाट सिआइएलाई आफ्ना तिब्बत अभियान पूर्ववत संचालन गर्न दिन सहमत भए।

सो बापत यदि चीनले भारतमाथि आक्रमण गरेमा पनि पाकिस्तानसँग परामर्श नगरी भारतलाई कुनै हातहतियार र सैन्य आपूर्तिको सहयोग नगरिने आश्वासन केनेडीले अयुब खाँलाई दिएको अमेरिकाका दक्षिण एसिया विज्ञ ब्रुस रिडेलले आफ्नो चर्चित पुस्तक ‘जेएफके’ज फर्गटन क्राइसिस’मा उल्लेख गरेका छन्।तर अक्टोबर १९६२मा चीनले भारतमाथि आक्रमण गर्‍यो।

भारतको नराम्रो पराजय भयो।त्यस अवस्थामा केनेडीले पाकिस्तानसँग कुनै परामर्श नगरी भारतलाई हात हतियार र अन्य बन्दोबस्तीका सामान मात्रै उपलव्ध गराएनन्, भारतको सहयोगार्थ अमेरिकी जंगी बेडालाई समेत बंगालको खाडीमा पठाए।

स्मरणीय छ, सो अघि नेहरूले केनेडीलाई पठाएको एउटा गोप्य पत्रमा चीनियाँ आक्रमणलाई सामना गर्न र भारतीय सैनिकहरूलाई युद्धक विमान चलाउने प्रशिक्षण प्राप्त नहुन्जेल अमेरिकी सैनिकहरू सहितको बम वर्षक र अन्य युद्धक विमानहरू पठाउन अनुरोध गरेकाबारे भारतकालागि तत्कालीन अमेरिकी राजदुत जे.के. ग्यालब्रेथ र अमेरिकाका लागि भारतीय राजदूत बी. के. नेहरूले आफ्ना सस्मरणहरूमा उल्लेख गरेका छन्।

उक्त विमान र सैन्य सामग्रीहरू पाकिस्तान विरूद्ध प्रयोग नगरिने आश्वासन समेत नेहरूले ती पत्रहरू मार्फत केनेडीलाई दिएका थिए।

तेस्रो विश्वका मुलुकहरू माझ अत्यन्त लोकप्रिय बन्दै गएका नेहरूलाई तेजोवध गर्न, दक्षिण एसिया र खास गरेर पाकिस्तानसँग नयाँ रणनीतिक सम्वन्ध स्थापना गरेर क्षेत्रमा आफ्ना लागि अनुकूल भूराजनीतिक परिवेश निर्माण गर्न र, तिब्बतको विद्रोह सम्वन्धी गतिविधिमा भारतीय संलग्नताको आशंकामा भारतलाई तह लगाउने उद्देश्यले चीनले गरेको सो आक्रमणमा अमेरिकी हस्तक्षेपको सम्भावना देखेपछि अक्साइ चीनको ज्यादै ठूलो रणनीतिक महत्वको भारतीय भूभाग आफ्नो नियन्त्रणमा राखी अरुणाचल प्रदेशमा आफ्नो नियन्त्रणमा आएको भूभागबाट एकतर्फीरूपमा चीन पछि हट्यो।

युद्ध रोकियो। अमेरिकी जंगी बेडा र विमानहरू यथा स्थानमा फर्किए।

२ . राजा महेन्द्र र नेपाल कनेक्सन
तिब्बती विद्रोहीहरूलाई सिआइएले पहिला पाकिस्तानी हवाई सेनाको अड्डाबाट सोझै तिब्बतमा पुर्याउने गर्दथ्यो र त्यहाँ उनीहरू आफ्ना गतिविधि सञ्चालन गर्दथे।

तर तिब्बती भूमिमा चीनियाँ सेनाको गतिविधि सक्रिय हुँदै विद्रोही तिब्बतीहरू विरूद्ध क्रूर दमन हुन र विमानबाट बम र गोलाहरू व्यापक स्तरमा प्रहार हुन थालेपछि नेपालको मुस्ताङ्ग क्षेत्रलाई सिआइए र तिब्बती विद्रोहीहरूले आश्रय स्थल, हतियार भण्डारण र हतियार तथा सेना वसार पसार गर्ने केन्द्रको रूपमा प्रयोग गर्न थाले।

त्यसबारे नेपाल सरकार वा राजा महेन्द्रसँग अमेरिकी सरकारले कुनै वार्ता र सहमति गरेको दस्तावेज भेटिएको छैन।
तर सिआइएको तिब्बत अभियानका प्रमुख केनेथ कोनबोई र अर्का सिआइए सम्वद्ध अमेरिकी सैनिक अधिकारी जेम्स मोरिसन लिखित पुस्तक ‘दी सिआइए’ज सेक्रेट वार इन तिब्बत’मा तिब्बती शरणार्थीहरूको स्वायत्त तिब्बत आन्दोलनमा राजा महेन्द्रको सहानुभूति रहेको उल्लेख गरिएको छ।

केही साक्ष र सन्दर्भहरूले त्यसलाई देहायअनुसार पुष्टि पनि गरेका छन्-
डिसेम्बर १९६०मा राजा महेन्द्रले वीपी कोइराला नेतृत्वको निर्वाचित सरकारलाई सैन्य वल प्रयोग गरी वर्खास्त गरेको र प्रधानमन्त्री कोइराला लगायत उनको सरकारका सवैजसो मन्त्रीहरू र नेताहरू कठोर नजरबन्दीमा रहेका बखत अर्थात राजा महेन्द्रको सैन्य हस्तक्षेपद्वारा निर्वाचित सरकारको विघटनको चार महिनामा नै प्रजातन्त्रको जननी भनिने बेलायतकी महारानी एलिजाबेथ द्वितीया नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।

स्मरणीय छ राजा महेन्द्रको बेलायतको राजकीय भ्रमण लगत्तै अर्थात उक्त भ्रमणको पाँचै हप्तापछि राजाले कोइराला सरकार विघटन गरेका थिए।बेलायतको राजकीय भ्रमण अघि राजाले अमेरिकाको लामो भ्रमण गरेका थिए।अमेरिकी संसद ( काङ्ग्रेस) लाई सम्वोधन गरेका थिए।

राजा महेन्द्रको बेलायत र अमेरिकाको भ्रमणमा तिब्बतमा चलिरहेको विद्रोह, नेपालको भारत र चीनसँगको सम्बन्ध जस्ता विषयमा कुराकानी र परामर्श भएन होला भनेर सोच्न सकिन्न।

त्यसमाथि शीत युद्ध चरम विन्दुमा पुगेको, सोभियत -अमेरिका सम्वन्ध अत्यत तनावपूर्ण रहेको र माओ र ख्रुश्चेभवीचको सम्वन्ध पनि ज्यादै तिक्ततापूर्ण रहेको बेलामा संसारको सबैभन्दा ठूलो प्रजातन्त्र र त्यस्तै ठूलो साम्यवादी मुलुकवीच अवस्थित सानो तर भूराजनीतिक अवस्थितिको हिसावले ठूलो महत्व राख्ने क्रान्तिकारी, महत्वाकांक्षी तर समाजवादी विचारको धार समातेका युवा प्रधानमन्त्रीको सोभियत नेता ख्रुश्चेभ माझको बढ्दो हार्दिकतालाई लिएर बेलायत र अमेरिका जस्ता मुलुकमा वीपीप्रति सन्देह बढ्नु अस्वाभाविक थिएन।

त्यसैले राजा महेन्द्रको बेलायत र अमेरिका भ्रमण र बेलायतकी महारानीको नेपाल भ्रमणको अवशरमा भएका केही गोप्य सहमति र समझदारीको मूल्यमा बेलायत र अमेरिकाले राजाको कदमलाई स्वीकारेको बुझ्न सकिन्छ।

त्यसै क्रममा अप्रिल १९६१मा सिआइएले त्यस्तो हातहतियारको पहिलो खेप मुस्ताङ्मा खसाल्यो।दोस्रो खेप डिसेम्बरमा खसाल्यो।सेप्टेम्बर -अक्टोबर १९६१मा मुस्ताङ्मा शिबिर बनाएर बसेका खम्पा विद्रोहीहरूले तिब्बतमा विभिन्न स्थानमा आक्रमण गर।

पूर्वी पाकिस्तानबाट नेपाल छिरेर मुस्ताङ्सम्म उडेर सेना तथा हतियार र अन्य सामग्री खसालेको कुरा नेपाल सरकारलाई जानकारी नहुने कुरा भन्न सकिन्छ,तर पत्याउन सकिन्न। भारतीय प्रेसमा पनि त्यसबारे व्यापक समाचारहरू आउन थालेका थिए।

भारत सरकारले नेपाल स्थित भारतीय राजदुत हरिश्वर दयाल र भारतस्थित नेपाली राजदुत नरप्रताप थापासँग सो बारे सोधनी गर्दा सो सम्वन्धमा नेपाल सरकारको तर्फबाट केही नबताइएको समाचार सहित उक्त अवस्थामा नेपालमाथि चिनियाँ सुरक्षा खतराबारे भारत अत्यन्त चिन्तित भएकोबारे न्युयोर्क टाइम्सले फेब्रुवरी ३, १९६२मा समाचार दिएको थियो।

भारत सरकार स्पष्टरूपमा त्यस्ता गतिविधि विरूद्ध रहेकोबारे भारतकालागि तत्कालीन अमेरिकी राजदुत ग्यालब्रेथले आफ्नो संस्मरण ‘अ लाइफ इन आवर टाइम्स : मेमोइर्स’ मा पनि उल्लेख गरेका छन्। चीनले नेपालको भूमिबाट भएको त्यस्तो गतिविधि विरुद्ध सेप्टेम्बर ११, १९६३मा औपचारिक रूपमा कडा प्रतिक्रिया दिएको थियो।

उक्त अवस्थामा नेपालको आन्तरिक सुरक्षा व्यवस्थामाथि पर्ने दवावलाई मध्यनजर गरेर नेपाल प्रहरीका प्रमुख तथा प्रहरी महानिरीक्षक पहल सिंह लामाले ब्रिटिस सरकारसँग सहयोगको लागि आग्रह गरेका र ब्रिटिस अधिकारीहरूले सो सम्बन्धमा उनले राजासँग परामर्श गरे नगरेकोबारे प्रश्न गर्दा पहिला उनले सो सम्वन्धमा राजा महेन्द्रलाई बिन्ती गर्दा राजाले प्रहरी प्रमुखको हैसियतमा मुलुकको हितमा के गर्दा उपयुक्त हुन्छ आफैँले विचार गरेर निर्णय गर्ने हुकुम भएको उल्लेख गरेकोबारे गोपनीय बृटिस दस्तावेजहरूलाई समेत उद्धृत गरेर साम कोवानले सेप्टेम्बर ११, २०१७मा ‘दी रेकर्ड’मा उल्लेख गरेका छन्।

राजा महेन्द्रको व्यक्तित्वलाई विचार गर्दा आफ्ना प्रहरी प्रमुखले त्यति महत्वपूर्ण कुरा राख्दा उनलाई त्यसो भन्ने अनुमति दिंदैनथ्यो।अर्को ट्रयाकबाट उनको बेलायत र अमेरिका जस्ता मुलुकसँग उक्त सवालबारे वार्ता र समझदारी भइरहेको र प्रहरी प्रमुखसँग त्यसबारे उनी खुल्न नचाहेको निष्कर्ष निकाल्न सकिन्छ।

नेपालको भूमिबाट चीन विरोधी सशस्त्र गतिविधि भैरहेको सन्दर्भ र त्यसको राजनीतिक, कूटनीतिक र रणनीतिक संवेदनशीलता र गम्भीरताबाट राजा महेन्द्र अनभिज्ञ रहनु सम्भव थिएन।तर त्यसबारे सरकारी तहबाट कुनै ठोस कदम र नीति अवलम्वन नगरिएको,सो बारे चीनसँग कुनै वार्ता नगरेको र अझ १९६२को युद्ध पछि कालापानी क्षेत्रमा भारतीय सैनिक शिविर स्थापनाकोलागि प्रतक्ष परोक्ष मन्जुरी दिएको सन्दर्भले राजा महेन्द्र शीतयुद्धकालीन अन्तर्राष्ट्रिय राजनीतिका अत्यन्त गम्भीर मर्मज्ञ, जोखिम साहश र निर्णय क्षमता भएका भएका राजनीतिज्ञ रूपमा देखिन्छन्।

३. निक्सन-किसिन्जर नेतृत्वमा अमेरिकाको तिब्बत र चीन नीतिमा आएको आएको आमूल परिवर्तन

सन् १९६५मा आइपुग्दा नपुग्दै मुस्ताङ्मा तैनाथ विद्रोहीहरू वीच रकम दुरूपयोग, भ्रष्टाचार, नेतृत्व प्रतिष्पर्धा, शत्रुता, मारकाट र प्रतिशोधहरूले गर्दा तिब्बतीहरूको विद्रोहमा छेद पसि
सकेको थियो।सिआइए अन्यौलको स्थितिमा थियो।

अमेरिकामा राष्ट्रपति केनेडीको हत्यापछि राष्ट्रपति भएका लिन्डन बी. जोन्सन सामाजिक, राजनीतिक र आर्थिक सुधारका धेरै क्षेत्रमा प्रवेश गरे।भियतनाम युद्धले पनि अत्यन्त गम्भीर चरित्र ग्रहण गरिरहेको थियो।

जोन्सनको कार्यकाल एक किसिमको राजनीतिक र रणनीतिक भूमरीमानै बित्यो।

अन्त्यमा आफ्ना बाँकी कार्यभार टुंग्याउने कि आफ्नो राष्ट्रपतिको निर्वाचन अभियानमा लाग्ने भन्ने सवालमा उनले आफ्नो उम्मेदवारी नै परित्याग गरे।त्यस अवधिमा तिब्बत पनि ओझेलमा पर्यो।

उता १९६८को अमेरिकी राष्ट्रपतिको निर्वाचन मूलतः विश्वमा तनाव शैथिल्य,शान्ति स्थापना, भियतनाम युद्ध समाप्ति र सोभियत सङ्घ र चीन सँगको सम्वन्ध सामान्यीकरणको विषयमा केन्द्रित रह्यो। रिचार्ड निक्सन राष्ट्रपतिमा निर्वाचित भए।

निक्सन र उनका उनका सुरक्षा सल्लाहकार र पछि विदेशमन्त्री हेनरी किसिन्जरको चीनसँग सम्वन्ध सुधार्ने क्रममा अमेरिकाले तिब्बती विद्रोहीहरूलाई त्यागिदियो। उनीहरूलाई अनाथ बनाएर छोडिदियो।

स्मरणीय छ माइकेल डनह्यामले आफ्नो पुस्तक ‘बुद्ध’ज वेरियर्स’मा उल्लेखगरे अनुसार चीन-अमेरिका सम्वन्ध सुधारमा माओको केवल दुई शर्त थिए -एउटा ताइवानसँगको कूटनीतिक सम्वन्धलाई अन्त्य गर्ने र, दोस्रो तिब्बत र मुस्ताङ्मा रहेका सम्पूर्ण विद्रोही तिब्बतीहरूसँगको अमेरिकाको सवै किसिमको सम्वन्धलाई समाप्त पार्ने।

निक्सन प्रशासन त्यसमा सहमत जस्तै भयो।त्यसैको परिणामस्वरूप १९७१मा सिआइएले दिल्लीमा भएको एउटा बैठकमा तिब्बती विद्रोहका प्रमुख नेतृत्व समूहलाई आफूहरुले अव उप्रान्त उनीहरूलाई कुनै सहयोग उपलव्ध गराउन नसक्ने जानकारी गरायो।

यो कुरा चीन सरकारले पनि थाहा पायो र सिआइएबाट खम्पा विद्रोहीहरूले कुनै पनि किसिमको सहयोगप्राप्त गर्ने सम्भावना नरहे पछि अन्तत चीनले नेपाललाई सीमावर्ती तिब्बती भूभागबाट चीनिया सेना र नेपाल पट्टि नेपाली सेनाले खम्पा विद्रोही विरूद्ध एकैसाथ आक्रमण गर्न दवाव दिनथाल्यो।

यहाँ एउटा अर्को स्थितिविकाशलाई उल्लेख गर्नु पनि आवश्यक देखिन्छ।सिआइएले परित्याग गरिएका खम्पा विद्रोहीहरूलाई इन्दिरा गान्धीको स्वीकृतिमा बंगलादेश युद्धमा पाकिस्तानी सेना विरूद्ध लडाइयो।

स्मरणीय छ, १९६२को युद्ध पछि आवश्यक पर्दा चीन विरूद्धको युद्ध र तिब्बत अभियानमा तिब्बती मूलका व्यक्तिहरूको सैन्य बटालियन खडा गर्ने उद्देस्यले नेहरूले अमेरिकी सैन्य र सुरक्षा विज्ञलाई भारतमा आमन्त्रण गरेकाथिए।

त्यस्तो बटालियन खडा गर्ने र अन्य बन्दोबस्त मिलाउन एक जना उम्दा सैनिक अधिकारी मेजर जनरल सुजन सिंह उबानलाई जिम्मेवारी दिइएको थियो। उनैको नेतृत्वमा तिब्बती शरणार्थी र खम्पा विद्रोहीहरूको सैनिक प्रशिक्षण कसैको दृष्टि नपुग्ने घना जङ्गलवीच अवस्थित देहरादुनको चक्रातामा भएको थियो।

उनै मेजर जनरल उबान (पछि विशेष सुरक्षा बलको महानिरीक्षक) ले इन्दिरा गान्धीको सहमतिमा विद्रोही तिब्बती सेनालाई बंगलादेश युद्धमा परिचालन गरेका थिए। जन्मजात नै छापामार युद्धमा प्रशिक्षित खम्पाहरूले पाकिस्तानी सेनालाई हायलकायल पारेको पनि माइकेल डनह्यामको पुस्तकमा उल्लेख छ।

‘आज बङ्गलादेश र भोली तिब्बत’ को नाराले उनीहरूलाई सो युद्धमा असाधारण साहश,शौर्य र बहादुरी प्रदर्शन गर्न प्रेरित गरेको थियो।बङ्गलादेश स्वतन्त्र भयो, तिब्बती विद्रोहीहरू पुनः उपेक्षित भए।

४. नेपाल र चीनको संयुक्त आक्रमण अभियानमा मारिएका वाङ्गदु र स्वायत्त तिब्बत आन्दोलनको विश्रान्ति

क्षेत्रीय भूराजनीतिक दृश्य पटलमा आएको परिवर्तन र अमेरिकाको चीनसँगको सम्बन्धमा हुने सुधारबाट विश्वव्यापीरूपमा अमेरिकालाई प्राप्त हुने रणनीतिक र राजनीतिक लाभको तुलनामा तिब्बतको स्वायत्तता र ताइवानको स्वतन्त्रताका सवालहरू स्वाभाविक रूपमा महत्वहीन देखिए।

१९७२को जनवरी ३१मा तिब्बत सवालमा अली बढी संवेदनशील राजा महेन्द्रको निधन भयो।

सिद्धान्त, विचार र मूल्यमा भन्दा भूराजनीतिक यथार्थ र राजनीतिक व्यवहारवादमा बढी विश्वास गर्ने उनका उत्तराधिकारी राजा वीरेन्द्रले आफू राजा हुनुभन्दा एक महिना अघि मात्रै पाकिस्तानको विभाजनबाट बंगलादेशको उदय भएको घटनालाई गम्भीर रूपमा ग्रहण गरेका थिए।

भारत र सोभियत सङ्घ वीचको सुरक्षा सन्धिको चरित्र बोकेको २० वर्षे शान्ति तथा मैत्री सन्धिले क्षेत्रमा सर्वशक्तिमान बनेको भारतको रणनीतिक दवावलाई सन्तुलनमा राख्न चीन सँगको सम्बन्धलाई विशेष महत्व प्रदान गर्नु पर्ने विशेष आवश्यकता राजा वीरेन्द्रले अनुभव गरेका थिए।

त्यसैले नोभेम्वर १९७२मा प्रधानमन्त्री किर्तिनिधि विष्ट र त्यसको एक वर्ष पछि डिसेम्बर १९७३मा राजा वीरेन्द्र आफैँ चीन भ्रमणमा गएका थिए।युवराजधिराजकै हैसियतमा पनि चीनको भ्रमण गरेर विशेष मित्रताको सम्वन्ध गाँसेका राजा वीरेन्द्रले १९७३को अन्त्य हुँदा नहुँदै तिब्बती विद्रोहीहरूलाई आत्म समर्पणगर्ने चेतावनी दिन लगाए।

तिब्बती विद्रोहीहरूले आत्मसमर्पण नगर्दा उत्पन्न हुने स्थितिको परिणाम भारत, नेपाल र दलाई लामाहरूका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका जटीलताहरूमा अनुवाद हुने र नेपालमा रहेका तिब्बती शरणार्थीहरूमाथि पनि त्यसको प्रतिकूल असर पर्नेबारे इन्दिरा गान्धीले दलाइ लामालाई आश्वस्त पारे पछि दलाई लामाले पनि तिब्बती विद्रोहीहरूलाई लक्षित गरेर टेप सन्देश पठाएका थिए।

यो दुवै भ्रमणको परिणाम मुस्ताङ्मा शिविर खडा गरेर बसेका विद्रोही तिब्बती सेनामा पर्दै गएको थियो।स्थानीय जनताले पनि उनीहरूको उपस्थितिलाई रूचाउन छाडेको, उनीहरूको उपस्थितिले लोमान्थाङ् क्षेत्रका नारी र पुरुष समाजमा एक किसिमको आपसी विरोधको स्थिति उत्पन्न भएकोबारे सिआइएका तिब्बत मिसन प्रमुख समेत रहेका केनेथ कन्बोईले जेम्स मोरिससँग संयुक्त रूपमा लेखेको माथि उल्लेखित पुस्तक ‘दी सिआइएज सेक्रेट वार इन तिब्बत’ पुस्तकमा उल्लेख गरेका छन्।

के विचारणीय छ भने मुस्ताङ्मा विद्यमान मातृ सत्तात्मक समाजको चरित्र अझै देख्न सकिन्छ। त्यहाँका महिलाहरूमा तिब्बती लडाकुहरूप्रति विशेष आकर्षण रहेको बारेको कोन्बोई र मोरिसनको टिप्पणीलाई सो सन्दर्भमा हेरिनु आवश्यक देखिन्छ।

राजनीतिक, रणनीतिक र स्थानीय सामाजिक परिवेश समेत सबै परिस्थिति अत्यन्तै प्रतिकूल बन्दै गएको अवस्थामा कतिपय विद्रोहीहरूले आत्म समर्पण गर्नुभन्दा आत्म हत्यालाई रोजे।धेरैले आत्मसमर्पण गरे।

१९७४को हिउँद लगत्तै नेपाल तिब्बत सीमानाको वारिपारी नेपाली र चिनियाँ सेनाको संयुक्त अभियान शुरू भयो।चीनियाँ सेनाको एक टोली पनि मुस्ताङ् पसेर तत्कालीन शाही नेपाली सेनासँगै संयुक्त अभियानमा लागेको डनह्यामले उल्लेख गरेका छन्।

अन्तत नेपालमा आत्मसमर्पण गर्दा तिब्बतको स्वतन्त्रताको सपनाको पनि समर्पण हुने निष्कर्ष निकालेर विद्रोही तिब्बती नेता गे वाङ्गदु मुस्ताङ्बाट पश्चिम तर्फ हुँदै भारत छिर्ने उद्देस्यले आफ्नो घोडचडी सैन्य दलका साथै पश्चिम तर्फलागे।

नेपाली सेना र चीनियाँ सेना दुवैतिरबाट वाङ्गदुलाई हेलिकप्टरबाट पछ्याइरहेका थिए।टिङ्कर भन्ज्याङबाट भारत छिर्ने वाङ्गदुको योजना थियो। टिङ्कर पुग्न नदिने नेपाली र चिनियाँ सेनाको रणनीति थियो।

सोही क्रममा टिङ्कर भन्ज्याङ्बाट भारतीय सीमाना केही मिटर मात्रै बाँकी रहँदा नेपाली र चीनियाँ सेनाले दुवै तर्फको घेराउमा सेप्टेम्बर १५, १९७४मा वाङ्गदु परे र उनी मारिए।

स्वायत्त तिब्बतको विद्रोही तिब्बतीहरूको सपनाले विश्रान्ति पायो।अन्त्यमा एउटा विचारणीय सवाल भने उठेकै छ -चीन र अमेरिकाबीच पर्याप्त सम्वन्ध सुधार भैसकेपछि र अमेरिकाले तिब्बती विद्रोहीहरूलाई पूर्णत त्यागिदिए पछि मात्रै राजा वीरेन्द्रको पालामा आएर ती विद्रोहीहरू विरुद्ध चीनको पनि त्यस्तै कारवाहीलाई संयोजन गरेर नेपालले कठोर सैन्य कारवाही सञ्‍चालन गरेको देखिन्छ।

त्यसबाट नेपालको परराष्ट्र नीतिको अर्को पाटो प्रष्ट दृष्टि गोचर हुन्छ।

साउन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्