‘राजतन्त्रबारे लामो बहस गराउँ भन्दा कसैले सुनेन’

तस्बिर: प्रभात खनाल

काठमाडाैँ– नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा जेष्ठ नेता केबी गुरुङले संविधानसभाकाे पहिलाे बैठकबाट राजसंस्था उन्मूलन गर्नुको साटो त्यसबारे लामाे बहस गराउने आफ्नाे चाहना र आग्रह असफल भएकाे खुलासा गरेका छन्।

देश सञ्चारसँगको अन्तर्वार्तामा नेता गुरुङले यस विषयमा हतार नगर्न र लामाे बहस गरेर जनअभिमत बुझ्न आफूले गरेकाे आग्रह कसैले नसुनेकाे बताए।

उनले भने, ‘तपाईंले देखिहाल्नु भाे, संसदमा कसरी नेपाली कांग्रेसकै नेताहरु स्टेजमा नाचे, त्याे गर्नु हुने थियो या थिएन, तपाईंहरु साेच्नुहोस्।’

करिब डेढ घण्टा लामाे अन्तर्वार्ताका क्रममा नेता गुरुङ ६ दशकभन्दा लामाे समयदेखि आफू आवद्ध रहेकाे नेपाली कांग्रेसमा देखापरेकाे विचलनप्रति भावुक देखिए भने माओवादीलाई अघि बढाएर मुलुकमा अरुको वर्चस्व स्थापित गर्न आफ्नै नेता गिरिजाप्रसाद कोइरालालाई यसका लागि उनले मुख्य दाेष दिए।

२०१५ सालमा नेपाली कांग्रेसको सरकार बने लगत्तैको एउटा प्रसँग सुनाउँदै उनले भने, ‘ सुवर्ण शमशेर, सामन्त थिए।’ उनले नै प्रधानमन्त्री विपीलाई भने, ‘सामन्तको जमिन लिएर भूमिहीनबीच वितरण कहिले गर्नुहुन्छ ?’

‘त्यस्तो पार्टी र त्यस्ता नेताबाट आजको यो अवस्थाबाट के आशा गर्ने ?’ उनले संकेतात्मक रुपमा भने।

उनले हुती नभएका नेताहरुको हातमा आफ्नो पार्टीको नेतृत्व रहेको पनि बताए।

हालै गोविन्दराज जोशी र पुस्करनाथ ओझालाई पार्टीबाट निष्काशन गरिएकोमा रिस र प्रतिशोधको राजनीतिले पार्टीलाई अघि नबढाउन राय दिए उनले पार्टी नेतृत्वलाई ।

साउन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्