‘१५ केजी सुन’को झोला फ्याँकेर स्कर्पियो फरार प्रकरण: के जवानले डीएसपीलाई ‘घुमाएका’ थिए?

काठमाडौं– गत सोमबार राति ११ बजेर ३५ मिनेटमा जवान प्रसन्न श्रेष्ठले फोन गर्दै प्रहरी नायब उपरीक्षक-डीएसपी रन्जन दाहाललाई भनेका थिए, ‘ सर, एउटा पक्का सूचना आएको छ। भोलि बिहान अवैध सुन बोकेको गाडी हाम्रो क्षेत्रमा आउँदै छ।’

महानगरीय प्रहरी वृत दरबारमार्गका प्रमुख दाहाल आफ्नो युनिटका सादा पोसाकका ‘घुमुवा’ जवानले भनेको कुराले उत्साही भए। भोलि बिहान फोन गर्छु भन्दै प्रसन्नले फोन राखे। मंगलबार बिहानै रन्जनलाई फोन गर्दै प्रसन्नले भने, ‘गाडी साढे ७ बजे मेरियट होटलको बाटो हुँदै आउने भनेको छ। म कमल पोखरीतिरको बाटोमा बस्छु।’

डीएसपी रन्जन केही प्रहरीसहित बिहान ७ बजे मेरियट होटल क्षेत्रमा गएर गाडी रुँगेर बसे। सवा ८ बजे मोटरसाइकलमा आत्तिँदै आएका प्रसन्नले रन्जनलाई भने,’ सर, गाडी फुत्कियो। कृष्ण पाउरोटी कटिसक्यो।’ रन्जनले प्रसन्नलाई तत्काललै गाडीलाई पछ्याउन निर्देशन दिए। प्रसन्न गाडीतर्फ हानिए। रन्जन अन्य प्रहरीलाई लिएर केहीबेरमा गाडी खोज्दै हिँडे।

सुन्धारामा पुग्दा डीएसपी रन्जनले आफ्नै युनिटका एक जवान बहादुरसिंह कठायत झोला बोकेर उभिइरहेका थिए। घटनाबारे उनले जानकारी लिए। केहीबेरमा प्रसन्न पनि त्यहाँ आइपुगे। त्यसपछि मात्र रन्जनले घटना र गाडी उम्किएकोबारे काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीलाई जानकारी गराएका थिए। सुनको झोला फ्याँकिएको भनिएको ठाउँ जनसेवा प्रहरी वृतको क्षेत्रमा परेकाले विना जानकारी अर्काको क्षेत्रमा आएर गरेको अप्रेसनले समस्या ल्याउन सक्ने कारणले घटनास्थल परिवर्तन गरी कमलादी भनिएको हुन सक्ने अधिकारीहरु बताउँछन्।

‘प्रसन्नले डीएसपी रन्जनलाई सुरुवातदेखि नै गुमराहमा राखेको देखिन्छ। एकातर्फ डीएसपीलाई पनि जानकारी दिई राखेजस्तो, अर्कोतर्फ गाडीबारे गलत सूचना दिएको देखिन्छ’, महानगरीय प्रहरी कार्यालय रानीपोखरीद्धारा गठित छानबिन समितिका एक सदस्य भन्छन्।

छानबिन समिति स्रोतका अनुसार प्रसन्नलाई कमलपोखरीको एक अपार्टमेन्टमा सुन बोकेको गाडी पार्किङ गरिराखेको जानकारी सुराकीले दिएका थिए। प्रसन्न आफैँले त्यहाँ पुगेर हेरेका पनि थिए। यसबारे डीएसपी दाहाललाई जानकारी गराइएको थिएन।

उनलाई बिहान साढे ७ बजे मेरियट होटलको बाटो भएर गाडी आउँछ मात्र भनिएको थियो।  गाडी राखेको ठाउँ कमल पोखरी प्रहरी वृतको क्षेत्रमा पर्ने भएकाले गाडीलाई आफ्नै क्षेत्रमा आएपछि मात्र योजनाअनुसार काम गर्ने तयारी प्रसन्नको भएको छानबिन समितिका अधिकारी बताउँछन्। कमलपोखरीमा  प्रसन्नबाहेक बहादुरसिंह कडायत पनि छन् भन्ने डीएसपीलाई थाहा नभएको समितिका ती अधिकारी बताउँछन्।

गाडी उम्किएकोबारे डीएसपी दाहाललाई जानकारी दिन आउँदा बहादुरसिंहले प्रसन्नकै साथी उमेश श्रेष्ठलाई लिएर गाडी लखेटेको ती अधिकारीको भनाइ छ। अप्रेसनमा गम्भीर लापरबाही गरेको भन्दै दाहाललाई दरबारमार्ग प्रहरी वृतका प्रमुखको जिम्मेवारीबाट हटाइएको छ। यसअघि प्रहरी महानिरीक्षक सचिवालयमा रहेका डीएसपी दाहाल संगठनभित्र इमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्छन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख ज्ञवालीले यो घटना सबै छर्लङ्ग भएको र त्यसमा संलग्न सबै जनाको पहिचान भएको दावी गरेका छन्। यस प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन्। दुई जना मुख्य अभियुक्त फरार रहेको उनले जानकारी दिए।

महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले हालसम्म भारत गुजरातका निलेश सकिया, देवानसिंह पटेल, कौशल पटेल, र विजय पटेललाई पक्राउ गरेको छ।

यसैगरि ट्याक्सी चालक सन्दीप गुरुङ, उमेश श्रेष्ठ तथा दुई जना प्रहरी प्रशन्न श्रेष्ठ र बहादुरसिंह कठायत पक्राउ परेका छन्। चाँदीमा सुनको जलप लगाउने मनिष मलिक पनि पक्राउ परेका छन्।  प्रशन्न र बहादुरसिंह दुवै जवान हुन्। उक्त ‘सुन’को मालिक भनिएका राजु भण्डारी भनिने इल्ताफ हुसेन र सन्जय पटेल भने फरार छन्।

गत मंगलबार बिहान सुन्धारामा झोला फ्याँकेर उपत्यकाका सुरक्षा निकायलाई जिल्याँउदै उम्किएको बा ६ च ५५१९ नम्बरको स्कर्पियो बिहीबार दिउँसो ललितपुरको नख्खिपोटस्थित निर्माणाधिन घरको कम्पाउन्डमा छोपिएको अवस्थामा फेला परेको थियो। प्रहरीले सुन भनेर सुराकी पाएको उक्त झोलामा आधा केजी सक्कली सुन र साढे १४ केजी सुनको जलप लगाइएको चाँदी तथा दुई वटा चाइनिज पेस्तोल बरामद भएको थियो।

लगत्तै काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि स्कर्पियोले कमलादीस्थित नबिल बैंक अगाडि सुनको झोला फ्याँकेर स्कर्पियो फरार भएको बताएको थियो। तर स्कर्पियो पक्राउ नपरेपछि घटना शंकास्पद रहेको भन्दै महानगरीय प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

देवानसिंह पटेल र कौशल पटेल दाजुभाइ हुन्। उनीहरु सुन व्यवसायी पनि हुन्। जलप लगाउने काममा पनि संलग्न छन्। साढे १४ केजी चाँदीमा जलप लगाइएकोबारे उनीहरु जानकार दिए। इल्ताफ हुसेन र सन्जय पटेलको कारोबारबारे उनीहरु जानकार थिए।

जलप लगाइएको उक्त चाँदी र सुन काठमाडौं बाहिर लगिँदैछ भन्नेबारे उनीहरुलाई जानकारी थियो। लाजिम्पाटमा केही समय काम गरेका प्रहरी जवान बहादुरसिंहसँग कौशलको चिनजान थियो।

कौशलले त्यसबारे बहादुरसिंहलाई जानकारी गराए। बहादुरसिंहले प्रशन्नलाई बताए। प्रशन्नले दरबारमार्ग वृत प्रमुख दाहाललाई जानकारी गराए।

यसरी उम्कियो स्कर्पियो 

मोटरसाइकलले आफूलाई ओभरटेक गर्दै अघिपछि गरिरहेका स्कर्पियोभित्रकाले बुझिसकेका थिए-हामीलाई प्रहरीले लखेट्दै छ। स्कर्पियो इल्ताफले हाँकिरहेका थिए भने पछाडिपट्टी थिए सञ्जय र निलेश।

काठमाडौं प्रहरी प्रमुख ज्ञवाली भन्छन्, ‘प्रहरीले लखेटिरहेको थाहा पाएपछि इल्ताफले झोला लिएर बाहिर निस्कन सञ्जयलाई भनेछन् तर सन्जय नमानेपछि निलेश निस्किएछन्।’

सुन्धारास्थित शहिदगेट अगाडि रहेको बस स्टेनमा पुगेपछि स्कर्पियोबाट निलेश झोला लिएर निस्किएका थिए। निलेशलाई ओरालेर स्कर्पियो त्रिपुरेश्वरतिर मोडियो। बहादुरसिंह र उमेशले निलेश र उनको झोला लिएर ओभरब्रिजमाथि उक्लिए। प्रशन्न भने स्कर्पियोलाई लखेटिरहेका थिए।

‘ओभर ब्रिजमाथि पुगेपछि बहादुरसिंहले निलेशलाई भगाएको देखिन्छ। उनले उमेशको गोजीमा एक केजी ‘सुन’ राखेर उनलाई पनि त्यहाँबाट भगाउँछन्। त्यसपछि बहादुरसिंहले फोन गर्दै सामान भेटियो भनेपछि स्कर्पियो लखेटिरहेका प्रशन्न पनि फर्कन्छन्’, एसएसपी ज्ञवालीको दावी छ।

ज्ञवालीका अनुसार त्यसको तीन चार मिनेटपछि मात्र डीएसपी दाहाल त्यहाँ आइपुगेका थिए भने त्यसको केही मिनेटमा दाहालले आफूलाई जानकारी गराएका थिए। ‘काठमाडौं प्रहरी परिसरले घटनाबारे थाहा पाउँदा स्कर्पियो सानेपाबाट बाहिर निस्किसकेको रहेछ’, ज्ञवालीको दावी छ।

काठमाडौं प्रहरी परिसरको टोलीले घटना  भएकै दिन प्रहरीलाई सुनबारे सूचना दिने कौशल पटेललाई पक्राउ गरेको थियो। बुधबार नवलपरासीबाट निलेश सकिया, देवानसिंह पटेल र विजय पटेल पक्राउ परेका थिए। छानबिन टोलीको प्रारम्भिक अनुसन्धानबाट बिहीबार प्रहरी जवानद्वय प्रशन्न र बहादुरसिंहलाई नियन्त्रणमा लिइएको थियो।

शुक्रबार उमेशको कोठाबाट सुनको जलप लगाइएकाे एक केजी चाँदी बरामद भएको छ। बिरामी ल्याएर फर्किरहेका ट्याक्सी चालक सन्दीपले थानकोटबाट निलेश सकिया, देवानसिंह पटेल र विजय पटेललाई लिएर गएको बुझिएको छ।

काठमाडौं प्रहरी प्रमुख ज्ञवालीले सुनको सूचना दिने पटेल दाजुभाइ र प्रहरीका जवान मिलेर सुन गायब बनाउन खोजिएको बताउँछन्।

‘सूचना दिने पटेल दाजुभाइ र अप्रेसनमा खटिएका प्रहरी जवानको नियत खराब देखियो’, ज्ञवालीले भने।

सुन फ्याँकेर फरार भएको स्कर्पियोमा अरु के–के थियो भन्नेबारे प्रहरीले केही खुलाउन सकेको छैन। तर बिहीबार नख्खिपोटबाट खाली गाडीमात्र बरामद भएको थियो।

सुन पक्राउ पर्दा के हुन्छ प्रहरीलाई फाइदा 

प्रहरीले बरामद गरेको सुन राजस्व अनुसन्धान विभागलाई बुझाउँछ। कानुन अनुसार सुनको सुचना दिने व्यक्तीले परिमाणको बजार मुल्यको १५ प्रतिशत तर पाँच लाख रुपैयाँ नबढ्ने गरि कमिसन पाउँछन्। यता पक्राउ गर्ने प्रहरी ‘प्रतिवेदक’ले परिमाणको बजार मुल्यको २० प्रतिशत कमिसन पाउने व्यवस्था छ।

 

साउन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू