व्यङ्ग्य

काम अनुसारको दाम!

‘हामीकहाँ लोकतन्त्र चाहिँ आएकै हो र यसको स्वाद बेलामौका अनुसार सबैले पाएकै हो । कि कसो अम्मरे ? दुवै हातले चियाको तातो गिलास समात्दै धनेले भन्यो ।

‘यो त सबैलाइ थाहा छ नि देशमा लोकतन्त्र आएको छ र यसैको नाममा धेरैले यसैलाई भजाएर अनि सक्नेले छाती बजाएर खाएकै छ भनेपछि यो बारेमा कुरै गर्न परेन नि’, एक घुड्को चिया पिउँदै अम्मरेले भन्यो ।

‘हामीकहाँ छोटै समयमा धेरै तन्त्रहरु आए, जुन तन्त्र भने पनि सक्नेले मजाले खाए र यस्तै तन्त्रहरुको नाममा धेरैले ज्यान बनाउन पाए । जुन तन्त्र आए पनि खाने मन्त्र चाहिँ उही हो जनताको नाम भजाउ र सबैतिर मिलाएर मजाले बजाउ’, चिया खाइसकेर गिलास भुइँमा राख्दै हर्केले भन्यो । सबैजना गललल्ल हाँसे । आफ्नो कुरा सबैले मन पराएकोमा हर्के पनि दंग परेर हाँस्यो ।

‘खान पनि गाउँ तहका सामान्य पदाधिकारी र कार्यकर्तादेखि लिएर सबैभन्दा माथिल्लो तहसम्मका सबैले आफ्नो गक्ष्य अनुसार खाएर आफ्नो लक्ष्य हासिल गरेको देख्दा त हाम्रो देश त श्रोतले ओतप्रोत भएको रहेछ भन्ने नै ठहर्छ ।

सबै ठाउँमा मौका पाउने सबैले भागबण्डा गरेर खाएर बाँकी बचेको अलिअलि श्रोतबाट पनि केही विकास निर्माण भएको देखिएको छ भने पूरै श्रोत त्यस्ता कामहरुमा खर्च हुने हो भने त देश माथि उक्लिन र गरिब जनता नामको पगरी फुक्लिन खासै लामो समय नलाग्ने रहेछ हामीलाई ।

‘यो त श्रोतको मुहानबाटै चुहिने र माथि देखि तलसम्मका सबैजना आफ्नो क्षमता अनुसार कुहिने हुनाले यस्तो भएको हो नि’, चिया खाइसकेर पनि खाली गिलास हातमा लिएर खेलाउँदै ध्रुबेले भन्यो ।

‘अब हामीले यस्ता कुरा गरेर हाम्रा समस्याहरु टरेर जाला भन्दा झन् जोडले अगाडि सरेर आउला जस्तो देखिँदै छ त । यसो हेर्दा त आशा गर्ने ठाउँ सकिएका हुन् कि जस्तो पो लाग्छ मलाइ त’, चिया पसलको ढोकामा अडेश लगाएर उभिएको कल्याणले भन्यो ।

‘कस्को आशा गरेको र भर परेको थिइस् ए कल्याणे? हर्केले हाँस्दै सोध्यो ।

‘अरुको बारेमा त मलाइ त्यति थाहा पनि छैन तर आफूले कानुन पढेको हुनाले न्यायालयबाट चाहीँ केही होला भन्ने लागेको थियो । अहिले त्यहाँबाट भएका काम कारबाही र फैसलाहरु हेर्दा सुन्दा अचम्म लाग्छ’, अलि दिक्क मानेजस्तो गरेर कल्याणले भन्यो ।

‘कानुन पढेर वकिल बन्ने र आफूलाई कानुन व्यवसायी भन्ने तेरो सोच नराम्रो त होइन तर अब न्यायमूर्तिहरुले वकिलहरुले खाने पिउने झगडियाहरुलाइ आफैले मिलाएर र झगडियाहरुले चाहे अनुसारको न्याय दिलाएर फैसला गर्न थालेपछि वकिलले जति नै बल गरेपनि कानुन अनुसार मुद्दाको हल नहुने भएपछि तेरो पढाइको राम्रो फल आउला जस्तो लागेन है मलाइ त । हुँदाहुँदा यसपाली त प्रधान न्यायमूर्तिले नै मिठो मसिनो सूर्ति खाएजस्तो देखियो । खास कुरो त के कसो हो हामीलाइ थाहा हुने भएन । ठूलो केश हात लागेकोले सारै बेश तरिकाले निकै हँसिलो फेश हुनेगरि आर्थिक रेश सम्पन्न गरेजस्तो छ’, हर्केले फेरि हाँस्दै भन्यो ।

‘एक दुईवटा अपवाद त जहिले पनि भइहाल्छ नि । एउटा फैसलालाइ लिएर सबै उस्तै र एउटै हो भन्न त मिल्दैन नि’, कल्याणले भन्यो ।

‘अब प्रधान न्यायमूर्ति जस्तो मान्छेको चित्तमा दया जागेपछि र अपराधीले पाएको सजाय बढी भएजस्तो लागेपछि कुरा सकिइहाल्यो नि । यति दयालु न्यायमूर्तिलाई त सबैले सम्मान गर्न पर्छ अनि मात्रै पैसावाल अपराधीहरुको समस्या टर्छ । यति कुरा पनि नबुझे जस्तो गरेर के कराइ रहेका तिमीहरु ?’ अम्मरेले चिया पसलको चुल्होबाट एउटा सानो अगुल्टो झिकेर त्यसमा ठोसेर चुरोट सल्काउँदै भन्यो ।

‘प्रधान न्यायालयका प्रधान न्यायमूर्ति हुनको लागि धेरै मानविय गुण र क्षमता हुन पर्छ भनेको सही रहेछ । उनी त दयाको खानी नै पो रहेछन् त । जस्तोसुकै ठूलो अपराध गरेको र त्यसैको आधारमा जेल परेको भए पनि त्यस्तालाई पनि अन्याय हुन नदिनु त उनको कर्तव्य नै हो नि । अब जघन्य अपराध गरेर आजन्म जेल परेका अपराधीहरुले धेरै पिर गर्न परेन र यो फैसलाले उनीहरुको अधिकार पनि रहेन । दयालु हुन पनि पाइने र राम्रै खुराक पनि खाइने यो तरिका चाहिँ मलाइ सारै राम्रो लाग्यो है’, ध्रुबेले भन्यो ।

‘आफ्नै श्रीमतीलाई मारेर टुक्राएर बोरामा प्याक गरेर मकवानपुरको लेकमा पुर्‍याएर भाग्ने र पछि फेरि कति जलेछ भनेर हेर्न त्यता लाग्ने क्रममा स्थानीयले समातेर बुझाएका सशस्त्रका डीआइजीलाई जिल्ला देखि पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसला त्रूटिपूर्ण भएकैले सजाय चर्को पर्ने ठहर गरेर प्रधान न्यायमूर्तिले सच्याएर अर्को फैसला गरेकोमा हामीले झर्को मान्न पर्ने केही पनि छैन । यस्ता फैसलाहरु त कति हुन्छन् कति । यस्तो भयो रे भनेर दुईचार दिन हल्ला हुन्छ त्यसपछि सेलाउँछ अनि फैसला गर्नेले आफूले गोप्य रुपमा बुझेको ब्रिफकेश खेलाउँछ । हामी जस्ता गफ गरेर आनन्द लिनेहरुले आजै बिर्सन्छौँ । कुरै सकियो’, धनेले भन्यो ।

‘त्यो अपराधी त प्रधान न्यायमूर्तिको चाडबाडमा कौडा खेल्ने पार्टनर हो रे नि त । अरुलाइ परेको मर्का त हेर्न पर्ने मान्छेले आफ्नै कौडा पार्टनरलाइ मर्का पर्दा चर्का कुरामात्रै गर्नुभन्दा फैसला नै गरिदिएपछि त्यो भन्दा ठूलो गुन के हुन्छ र’, अम्मरेले चुरोटको ठुटो चुल्होमा बलिरहेको आगोमा फाल्दै भन्यो ।

‘सँगै तासकौडा खेल्ने, सँगै जाँडरक्सी खाने र यसो लुकिछिपी रमाइलो गर्न सँगै जाने पार्टनरहरुको घनिष्टता त अचम्मैको हुन्छ नि । यिनीहरुले जति अरु कसैले पनि एकअर्कालाइ सहयोग गर्दैनन्’, धनेले हाँस्दै भन्यो ।

यस्ता कुराहरु जति सबै तँलाई नै थाहा हुन्छ । फैसला अनुसार त मर्नेको पनि निकै गल्ती रहेछ नि । मर्नेले निहुँ खोजेर मार्नेलाइ उक्साएको हुनाले भवितव्यमा घटना हुन पुगेछ । अब मान्छे मरिसकेपछि शवको व्यवस्थापन त गर्न परिहाल्यो र मार्ने मान्छे त्यसको लागि अघि सरिहाल्यो । यसमा त के गल्ती भयो र ? यत्तिमै जन्मकैद नतोकेर यसो एकदुई वर्ष सजाय दिएको भए पुग्नेमा कैद बढी भएको भन्ने प्रधान न्यायमूर्तिको चित्तमा लाग्नु र उनी त्यस्तो फैसला गर्न जाग्नु सही हो । त्यसमाथि उसका २० वर्ष नाघिसकेका नाबालक छोराहरुको लालन पालन र रेखदेख गर्ने अभिभावक नभएको कारणले पनि यो फैसला एकदम जायज छ रे’, ध्रुबेले भन्यो । सबैजना गलल्ल हाँसे ।

‘हाम्रो कल्याण पनि कानुन पढ्दै रहेछ । तेरो पनि भविष्य चाहीँ ज्यादै राम्रो छ । यस्तै माथि पुगिस् र यस्तै गतिला फैसला गर्न सकिस् भने नाम र दाम जाबो त कति कति’, अम्मरेले भन्यो ।

‘जिल्ला देखि प्रधान न्यायालयसम्म न्यायमूर्ति भएर बिक्न र त्यसमा गतिलो तरिकाले टिक्न ठाउँठाउँमा राम्रै थैली बुझाए पछि जस्तो शैली अपनाएर फैसला गरे पनि कसैले केही लछार्न र निहुँ खोजेर पछार्न सक्दैनन् रे नि त । न्यायमूर्तिहरुको पदपूर्ति पनि ठूला नेता र पार्टीहरुले लिलाम बढाबढमा बिक्रि गर्ने हुनाले आफूबाट जस्तो फैसला भए पनि न्यायमूर्तिहरुले कुनै फिक्री मान्न पर्ने रहेन छ । कल्याणले पनि यो कुरा बुझेरै कानुन पढेको त होला नि’, ध्रुबेले भन्यो ।

‘जिल्ला पुनरावेदन उच्च देखि प्रधान न्यायालय सम्मको न्यायमूर्तिमा छिर्न र प्रधान न्यायमूर्तिको जिम्मेवारी भिर्न पनि धेरै नै रकम तिर्न पर्ने हुनाले जतिसुकै क्षमतावान र बुद्धिमान भए पनि जस्तोतस्तो मान्छेले त्यहाँ पुग्ने सपना देख्नु त बेकारै जस्तो लाग्यो है मलाइ त’, अम्मरेले भन्यो ।

‘बुद्धि क्षमता हुँदैमा जो पनि पुग्ने भए त यस्तो हुँदै हुँदैनथ्यो नि । पहिले त पार्टीको नजिक हुन पर्यो । त्यसपछि माथिल्ला नेताहरुको नजिक हुन पर्यो । त्यसपछि उनीहरुले भनेजति बुझाउन र त्यहाँ पुगेपछि तपाईँहरुको निर्देशन अनुसार मात्रै काम गर्छु भनेर विश्वासिलो तरिकाले सुझाउन पर्यो । त्यहाँ छिरिसकेपछि र जिम्मेवारी भिरिसकेपछि पनि टिक्न र अझ माथिल्लोमा बिक्न अनि आफूलाई तगारो हुनसक्नेहलाई झिक्न पनि बेलाबेलामा मुख देखाउने र ब्रिफकेश टक्राउनेमा नाम लेखाउन कन्जुसी गर्न भएन । यस कर्मको लागि यस्तै कालजयी फैसलाहरु गरेर आफ्नाे धर्म निर्वाह गर्नै पर्यो । यसमा पार्टी, प्रभावशाली नेता, संवैधानिक परिषद, संसदीय सुनुवाई समिति देखि लिएर माथिल्लो तहका बिचौलियाहरुसम्मलाई बेलैमा समाउने कामको लागि खर्च भएको रकम उठ्ने गरि कमाउने कामको लागि पनि खर्च गर्नसक्ने झगडियाहरुको हित्तमा आफ्नो चित्त पुर्‍याउनै पर्‍याे।

जिल्ला तहका न्यायमूर्ति देखि प्रधान न्यायमूर्तिसम्मले यसरी न्याय दिने र त्यस बापत नजराना लिने नगरे अरु विभिन्न ठाउँका जिम्मेवार पदाधिकारीहरु देखि लिएर माथिल्ला नेताहरुसम्मको गर्जो नटर्ने र सबैको अपूर्व मिलाप भएपछि यस्ता फैसला गर्नेहरुको कसैले केही नहर्ने हुनाले यस्ता चर्चित फैसलाहरु नगर्ने सवाल नै आउँदैन । जल्नेहरु जल्दै गर्छन, चल्नेहरु चल्दै गर्छन, चित्त नबुझाएर ढल्नेहरु ढल्दै गर्छन् र मिलाएर बाली लगाउनेहरुका फल्ने फसलहरु फल्दै गर्छन् । मैले बुझेको कुरो यहि हो’, धनेले भन्यो ।

धनेले भनेको ठीकै हो । यिनले पनि प्रधान न्यायालयमा न्यायमूर्तिको रुपमा छिर्ने र त्यो जिम्मेवारी भिर्ने तयारीमा आफ्नो विरोधमा लाग्न सक्ने सबैलाई मिलाउने सिलसिलामा सबैको मुख सिलाउने प्रयास गर्दा संसदीय सुनुवाई समितिका एकजना माननीयले ज्यादै विरोध गरेकोमा बालुवाटार देखि सबै मुख्य मुख्य ठाउँहरुले आ–आफ्नो भाग बुझिसकेको हुनाले अब एकदुईजना कराएर र हातमा आउने भाग खान डराएर केही काम छैन भन्ने सन्देशको डण्डा पठाएर तिनलाई ठण्डा पारेका थिए रे भनेर अहिले तिनले सुनाउँदै हिँडेका देखिन्छन् । मौकालाइ चिन्न र कामको मान्छे किन्न नसक्ने ति आदशवादी माननीय अहिले माननीय छैनन् । त्यो बेलामा ब्रिफकेश बुझ्नेहरु माननीय र अझ माथिल्ला पदमा पुगेर यस्तै ब्रिफकेश बुझ्ने कर्मलाइ आफ्नो धर्म अनुसार निरन्तरता दिँदै सबैको मर्मलाई चिनेर शान र मानसहित झण्डा र डण्डा हल्लाउँदै हिँडिरहेका छन् । दुईचार दिन मुखको तितो फाल्ने र पत्रपत्रिकामा लेखाएर विरोधमा कदम चाल्नेहरुको मुख टाल्ने काम भएपछि यस्ता नचाहिँदा काममा हात हाल्ने कष्ट पनि कसैले गर्दैनन् । त्यसपछि कुरा सकियो’, अम्मरेले भन्यो ।

‘लौ सबैकुरो तिमीहरुलाई नै थाहा रहेछ । बिहान चिया पसलमा बस्यो यस्तै कुरा गरेर देशै चलाउँछौ र सबैलाइ ढलाउँछौ हगि तिमीहरु ? तिमीहरु बस्दै गर म चाहीँ हिँडे भन्दै आफ्नो पैसा तिरेर कल्याण बाटो लाग्यो ।

‘ए कल्याणे पख न, हामी पनि जान्छौँ । उसले पढेको विषयवालालाई भन्यो भनेर रिसाएको होला । काम अनुसारको दाम सबैले लिन्छन् भन्न खोजेका मात्रै हौँ है हामीले ’, अम्मरेले भन्यो ।

सबैजना उठे अम्मरेले बाँकी सबैको चियाको पैसा तिर्यो । सबै हिँडे । चिया पसल सुनसान भयो ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्