म्याग्दीका बाढीपहिरो पीडितका लागि मोना अस्ट्रेलियाको १५ लाख सहयोग

सिड्नी – म्याग्दी घर भई अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूको संगठन म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) ले म्याग्दीका बाढी तथा पहिरो पीडितहरूको पुनर्वासका लागि १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।

मोना अन्तर्राष्ट्रियको खातामा जम्मा गरिने उक्त रकमलाई एकद्वार प्रणालीमार्फत् मोनाको राहत तथा पुनर्वास अभियानका लागि खर्च गरिने अर्थ सङ्कलन अभियानका संयोजक हिक्मत श्रेष्ठले शुक्रबार सिड्नीमा आयोजित एक कार्यक्रममा जानकारी दिए ।

‘मोना आइईसीले नेपालको प्रशासन तथा जनप्रतिनिधिसँग सहकार्य गरेर दुई चरणको सहयोग सम्पन्न गरिसकेको छ । अझै पनि केही चाहिएको खण्डमा हाम्रो टोली तयारी अवस्थामा छ । पीडितहरूले आफूलाई राहतभन्दा पनि पुनर्वासको व्यवास्था गरियोस् भन्ने चाहना व्यक्त गरेकाले हामी सबै म्यादेलीहरू एकीकृत भएर एकद्वारा प्रणालीमार्फत् मोना आइईसीको मातहतमा पुनर्वास कार्यक्रमलाई सफल बनाउन अघि बढ्ने निर्णय गरेका छौं’, कार्यक्रममा संयोजक श्रेष्ठले भने ।

मोना अस्ट्रेलियाका कोषाध्यक्ष दिनेश खत्रीले बाढीपहिरो पीडितका लागि मोना अस्ट्रेलियाले पुनर्वासका लागि १५ लाख रुपैया सङ्कलन भएको जानकारी दिए ।

‘एक सय ३० जना दाताहरूबाट १३ हजार सात सय एक अस्ट्रेलियन डलर उठेको छ । त्यसमा मोना अस्ट्रेलियाको तर्फबाट दुई लाख रुपैयाँ थपेर तथा जलजला परिवारबाट प्राप्त एक हजार पाँच सय अस्ट्रेलियन डलर जोडेर जम्मा भएको १५ लाख रुपैयाँलाई मोना आइईसीको मातहतमा पठाउने निर्णय गरेका छौं’, कोषाध्यक्ष खत्रीले भने ।

कार्यक्रममा मोना अस्ट्रेलियाका उपाध्यक्ष सुसन श्रेष्ठ, महासचिव इन्द्र थापामगर लगायत मोना अस्ट्रेलियाका सदस्यहरूको उपस्थिति रहेको थियो ।

मोना अस्ट्रेलियाका अध्यक्ष एवम् मोना आइइसीका कोषाध्यक्ष पारिवारिक कामका लागि नेपालमा रहेकाले मनसुनको समाप्तिसँगै पुनर्वासका लागि प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

यसका अलावा अस्ट्रेलियामा रहेका जलजला समाज, म्याग्दी समाज बन्डावर्ग, म्याग्दी सेवा समाज मुन्डुबेरा तथा मराङ टचले पनि बाढीपहिरो पीडितका लागि राहत तथा पुनर्वास अभियानमा आर्थिक सङ्कलन जुटाएका छन् ।

गत असार २५ गतेदेखि परेको अविरल वर्षाका कारण ठूलो बाढी र पहिरो जाँदा म्याग्दी जिल्लाका विभिन्न भूभागमा गरी हालसम्म ३२ जनाभन्दा बढी बेपत्ता भएको तथा सयौं परिवार घरबारविहीन भएका छन् ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्