पशुपति गुरुयोजनाबारे मन्त्री भट्टराई भन्छन् ‘सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने छ’

काठमाडौँ – पशुपति क्षेत्रको ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्वर्द्धन गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

मूर्त–अमूर्त सम्पदाको संरक्षण तथा सम्वर्द्धन गर्नुको साटो त्यसविपरित प्राचीनता मास्ने र आस्थामाथि प्रहार गर्ने गरी पशुपति क्षेत्र विकास कोषले गुरुयोजना ल्याउन लागेको भन्दै सम्पदाविद र स्थानीय बासिन्दाले विरोध गरिरहेका बेला मन्त्री भट्टराईले सबै सम्पदाको संरक्षण हुने उल्लेख गरेका हुन् ।

उनले ट्वीट गरेर पशुपति क्षेत्रका स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने बताउँदै व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने उल्लेख गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने छ ।’

पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरी मन्त्री परिषदमा लगेको गुरुयोजना संसदीय समितिमा आएपछि सम्पदाविदले आपत्ति जनाएका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले सरोकारवालासँग छलफल गर्न आदेश थिएको थियो ।

कोषले पुरातत्व विभागसँग पनि परामर्श नगरी तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल सम्भव भएसम्म भस्मेश्वरमा निर्माण गर्ने, व्यापारिक मल बनाउनेसहितका कुरा उल्लेख छ । त्यसको विरोधमा प्रदर्शन भइरहेको छ भने कोषले सबै सरोकारवालासँग छलफल गरिरहेको दाबी गर्दै आएको छ ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्