स्थानीय लकडाउनको पहिलोदिन सुनसान विराटनगर

 

मोरङ – कोरोना भाइरस संक्रमणको बढेसँगै विराटनगर महानगरपालिकाले लागु गरेको स्थानीय लकडाउनका कारण शनिबार बिहानै देखि बजार तथा चोक सुनसान छन् ।

महानगरपालिकाले शुक्रबार घोषणा गरेको १४ दिने लकडाउनको पहिलोदिन शनिबार बिहानैदेखि कडाइ गरिएको छ । घर बाहिर निस्कन, हिँडडुल गर्न, बजार–पसल खुुल्ला राख्न, सवारी साधन सञ्चालन गर्न, सामूहिक रुपमा भेटघाट गर्न र मास्क नलगाइकन हिँड्न पूर्ण रुपमा रोक लगाइएको मेयर भीम पराजुलीले जानकारी दिए ।

लकडाउनका क्रममा खाद्यान्न, तरकारी, फलफुल, औषधि पसल, दूध, पानी, ग्यास–इन्धन, अक्सिजन, वारुणयन्त्र, एम्बुलेन्स, आइसिपीबाट आउने सवारी, सरसफाई, सञ्चार बाहेकका अन्य सम्पूर्ण सेवामा रोक लगाइएको उनले बताए । संक्रमण फैलावटको ‘सर्कल ब्रेक’ गर्नका लागि विकल्प नभएकाले ‘लकडाउन’ गरेर पूर्ण रुपमा कार्यान्वयन गराउनै पर्ने बाध्यात्मक अवस्था आएको मेयर पराजुलीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहानदेखि महानगरको भीडभाड हुनेदेखि मुख्य सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले लकडाउन उल्लंघनको अवस्था नदेखिएको र हालसम्म कारवाहीको स्थिति नआएको जानकारी दिए ।

हालसम्म महानगरमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ सय ८ पुगिसकेको छ । महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले लकडाउनले संक्रमण नियन्त्रणमा लिन सहयोग गर्ने बताउँदै योसँगै पीसीआर परीक्षण दायरा बढाउनेतर्फ महानगर लक्षित भएको जानकारी दिए ।

शुक्रबार सम्पन्न जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउनका क्रममा उल्लंघन गर्ने, मास्क नलगाई हिड्ने वा सेनेटाइजर प्रयोग नगर्नेलाई एक महिनासम्मको कैद सजाय गर्ने निर्णय गरेको थियो ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू