विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख सञ्जेलमाथि सहकर्मीबाटै हातपात

माेरङ– विराटनगरस्थित श्रम तथा राेजगार कार्यालयका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि दुर्व्यवहार भएकाे छ। सञ्जेललाई शनिबार कार्यकक्षमै महिला कर्मचारीले दुर्व्यवहार गरेकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले उपसचिव सञ्जेलमाथि कार्यकक्षमै करारमा कार्यरत दुई महिला कर्मचारीले कुटपिट गरेकाे जानकारी दिए।

सञ्जेललाई कार्यलय सहयोगीका रुपमा कार्यरत मेनुका सापकोटा र नेत्र भट्टराईले कार्यालयको विषयलाई लिएर कुटपिट गरेको बताइएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको बताएका प्रहरी उपरीक्षक खड्काले कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारमा चोट लागेको छ। सञ्जेलको टेबलमा रहेका पन्चिंग मेशिन, पेपर वेट, फाइल बोर्ड लगायतले सञ्जेलमाथि प्रहार भएको प्रहरीको भनाइ छ।

श्रम कार्यालयमा कार्यरत कर्मचारीका अनुसार शुक्रबार करारका नायब सुब्बा निर्मलकुमार दाहाललाई काममा नआउन सञ्जेलले जानकारी गराएका थिए। केहीदिन अघि कार्यालयमा रहेको पानी तान्ने मोटर चोरी भएको थियो। सो घटनापछि सरकारी कर्मचारी तहमा कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेलले चारजना मध्ये दुई जना कार्यालय सहायकहरुलाई आलोपालो गरी २४ घण्टाको ड्युटी खटाएका थिए।

सोही विषयमा सञ्जेलसँग कर्मचारीहरुको विवाद बढ्दै गएको बताइन्छ। प्रहरीले पनि अनावश्यक ड्युटीमा लगाउँदै काममा पेलेर धेरै दुःख दिने गरेको र आफन्तलाई कामबाट निकालिदिएको रिसमा कुटपिट गरेको खुलेको जनाएको छ।

कुटपिटमा संलग्न दुवै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गालीगलौज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले पनि कुटपिट गरेको प्रहरीसमक्ष बताएका छन्। सधैं कार्यालयका कर्मचारीलाई कामको विषयमा सञ्जेलले धेरै तनाव दिने गरेको उनीहरुको आरोप छ।

कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ। घटनाका विषयमा पीडित सञ्जेलबाट भने प्रतिक्रिया आइसकेको छैन।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्