आइसोलेशनबाट फर्केका युवाले गरे आत्महत्या

सांकेतिक तस्बिर

जनकपुरधाम- आइसोलेशनबाट फर्किएका एकजनाले आत्महत्या गरेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरन्दहाका विशेश्वर यादवले प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट घर फर्केको करिब दुई हप्तापछि शुक्रवार आत्महत्या गरेका छन्।

भारत राजस्थानको जोधपुरबाट कोरोना संक्रमणको कारण फर्केका विशेश्वर नेपाल प्रवेश गरेपछि नगरपालिकाले व्यवस्थापन गरेको गाडी चढेर परशुराम तलावस्थित विद्यालयमा सञ्चालित क्वारेन्टाइनमा बसेका थिए।

क्वारेन्टिनमा बसेका विशेश्वरमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा राखिएको थियो। कोरोनाको लक्षण नदेखिएकोले करिब १० दिन पछि आइसोलेसनबाट होम आइसोलेसनमा पठाइएको थियो।

घर पुगेको करिब दुई हप्तापछि शुक्रबार साँझ क्वारेन्टिनस्थलको छेउमै रहेको रुखमा उनी झुन्डिएको अवस्थामा फेला परे। आइसोलेसनबाट घर पठाइए पनि कोरोना लागेको भन्दै घर समाजबाट तिरस्कृत भएपछि विशेश्वरले आत्महत्या गरेको जनाइएको छ ।

आइसोलेसनबाट फर्किए पनि अन्ति मपटक स्वाब परीक्षण नभएको भन्दै उनलाई घर बाहिर नै राखेर परिवारका सदस्यहरूले पातमा खाना दिइरहेको स्थानीयले बताए । घर र समाजबाट तिरस्कृत भएपछि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल यादवले कोरोना संक्रमण पुष्टि भइसकेपछि मानसिक दबाबका कारण विशेश्वरले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

प्रादेशिक अस्पतालस्थित कोभिड १९ विशेष अस्पताल जनकपुरका संयोजक डा. जामुन सिंहले विशेश्वरमा कुनै लक्षण नदेखिएपछि होम आइसोलेसनमा बस्न सुझाव दिँदै घर पठाइएको बताए।

आइसोलेसनमा बस्दा उनमा कुनै लक्षण नदेखिएकोले सरकारले जारी गरेको गाइडलाइनअनुसार लक्षण नदेखिएको संक्रमितलाई पिसिआर जाँच गरिएको डा. सिंहले बताए।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए। धनुषामा गत आर्थिक वर्षमा मात्र १ सय २९ जनाले आत्महत्या गरेका छन्।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू