अलैँचीको मूल्य ओरालो लागेपछि चिन्तामा किसान

मंगलबारे– कुनै बेला एक लाख प्रतिमन बिक्री भएको अलैँचीको मूल्य निरन्तर ओरालो लागेको छ। पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारले बिक्री भएको अलैँची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो।

देशमा सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला इलाम हो तर यहाँ जति अलैँची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन्।

जिल्लाका किसानले उत्पादन गरेको नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा रहेको अलैँची भए पनि यस खेतीसँग लाग्ने किसानमा निराशा पैदा भएको छ।

अलैँचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका कारण अलैँची बिक्दैन कि भन्ने चिन्तासमेत बढ्न थालेको छ। खोला, खोल्सामा उत्पादन हुने ‘खोल्सीको कालो सुन’ भनेर चिनिने अलैँची सजिलो खेतीका रुपमा समेत पर्छ तर पहिला बढी मूल्यमा बिकेको वस्तु निरन्तर ओरालो लागेपछि स्थानीयवासी चिन्तित भएका हुन्।

दैनिक उपभोग्य वस्तुको भाउ दैनिक बढे पनि अलैँचीको भाउ घटेपछि चिन्ता बढेको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताए। बगानमा अलैँची बढ्न थालेपछि भाउ घटेपछि जुन जोसका साथ अलैँची लगाइएको थियो त्यो जोस हराउँदै गएको उनको भनाइ छ।

साउन अन्तिमदेखि अलैँचीको याम शुरु हुन्छ। तल्लो अर्थात् औल क्षेत्रमा साउन अन्तिममा नै अलैँची पाक्छ भने जिल्लाको माथिलो भेगमा कात्तिक अन्तिम सम्ममा मात्र अलैँची टिप्ने गरिन्छ।

पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैँची लाएका छन्। निरन्तर भाउमा गिरावट आएपछि चिन्ता छाएको माईजोगमाई गाउँपालिकाका हरि पोख्रेलले बताए।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्