जीवन दर्शन

हे युवा!

यो आलेख मैले युवाहरुका लागि लेखेको हुँ, त्यसैले यसमा पुस्तान्तरका केही मुख्य मुख्य बुँदाहरुलाई प्रष्ट्याउन चाहन्छु। अहिलेको युवा पुस्तालाई Generation Z भनेर व्याख्या गरिएको छ ।आजका युवा नै भोलिको नेता हुन्।

नेपाल अबिकसित सानो र गरीब राष्ट्र हो भनेर बस्ने छुट हामीलाई छैन । यो जनसंख्याको हिसाबले बिश्वका १९५ देशहरु मध्ये ४९ औं स्थानमा र क्षेत्रफलको हिसाबले ९३ औं स्थानमा छ । हामी सानो छैनौँ – बिश्वका आधा भन्दा बढी देशहरु हामी भन्दा साना छन् । हाम्रो उत्तर र दक्षिणमा बिशाल छिमेकी राष्ट्रहरु छन् । कुनैपनि हालतमा हामी उनीहरु भन्दा कमजोर हुन चाहँदैनौं ।

हरेक उमेर समुहका व्यत्तिहरुको आवश्यकता, चाहना, कामगर्ने ढङ्ग, बानीबेहोरा फरक फरक छन् । हामी सबैले आफ्नो जीवनका मूल्य मान्यताहरु के हुन् भनेर एकैछिन भएपनि घोत्लिनु आवश्यक हुन्छ । निरन्तरको बिचारले हामी परिष्कृत हुँदै जान्छौं ।

सोचौं –
– मेरा लागि सबैभन्दा प्रिय र मूल्यवान कुन गुण हो ?
– दबाबमा आउँदा पनि मैले छोड्न नचाहने मेरा कुन कुन धारणाहरु हुन् ?
– मेरा कुन कुन व्यवहारहरुले मेरो व्यक्तित्व झल्काउँछ ?

अंग्रेजीमा एउटा भनाइ छ- “Prepare the child for the road, but not the road for the child”

हामीले गहिरिएर सोच्न ढिलो भैसकेको छ – यस्तो प्रतिस्पर्धी विश्वमा हामी कस्ता नागरिक तयार पार्दै छौं ?

हाम्रा युवा मेहनती छन्, गरीखान तयार छन् । तर हामीले तिनको क्षमता अभिबृद्धि कसरी गरेका छौं ? सूचनाको प्रचूरता छन् सञ्चारका माध्यमहरुमा, तर सूचनाको गुणस्तर कस्तो छ ? के हामीले सही र उपयोगी सूचना सम्प्रेषण गरेका छौं ? के हाम्रा विद्यालय/महाविद्यालयहरुले युवाहरुको विश्लेषणात्मक क्षमता अभिबृद्धि गरेका छन् ? के हाम्रो शिक्षा प्रणालीले जीवनोपयोगी सीपहरुमा जोड दिएको छ ? के हामीले प्रतिस्पर्धामा अब्बल आउन सक्ने नागरिक तयार पारेका छौं ?

मानिसको दिमागमा धेरै न्युरोनहरु हुन्छन् । तिनीहरु एक आपसमा ‘साइन्याप्स’ का माध्यमबाट जोडिएका हुन्छन् । यी साइन्याप्सहरुमा बिद्युतिय इम्पल्स या रसायनिक तत्वले मानिसको भावनाहरु, ध्यान, सोच र कार्यलाई नियन्त्रण गरिरहेका हुन्छन् । लागुपदार्थको दुव्र्यसनले किशोर–किशोरीको दिमागलाई पूर्ण बिकास हुनबाट रोक्छ । किशोरावस्थामा हाम्रो पिटुइटरी ग्रन्थीले यौन हर्मोनहरु उत्पादन गर्न थाल्दछ । यिनको असरले किशोरहरुको शरीर र मनमा अनेकौं परिवर्तनहरु हुन्छन् । नयाँ अनुभवहरु गर्ने चाहना, खतराहरुसँग नडराउने र सोच बिचार नगरी झट्टै निर्णय गर्ने किशोरावस्थाका खास गुणहरु हुन् ।

प्रि–फ्रन्टल कर्टेक्सले दिमागका अन्य भागहरुलाई पनि नियन्त्रण गर्दछ । हाम्रो दिमागले गर्ने जटिल कार्यहरु जस्तो आवेगको नियन्त्रण गर्नु, योजना बनाउनु, तर्क गर्नु, भविष्यको रुपरेखा प्रष्टसँग तयार पार्नसक्नु आदि कार्यका लागि प्रि–फ्रन्टल कर्टेक्स र यसले दिमागका अन्य भागहरुलाई दिने दिशा–निर्देशले काम गरेको हुन्छ । व्यक्तिहरु २४–२५ बर्ष नभएसम्म यी कुराहरु राम्ररी बिकास हुन सकेका हुँदैनन् । त्यसैले उनीहरु खतराजन्य व्यवहार पनि अँगाल्न सक्छन् । यो कुरा बुझेका किशोर–किशोरीले खतराजन्य व्यवहार गर्ने बिचार मनमा आउने बित्तिकै आफूलाई रोक्न केही हदसम्म भएपनि सकुन् भनेर म यो लेख्दैछु ।

नोबेल पुरस्कार बिजेता ड्यानियल काहेनम्यानले कसरी इम्पल्सहरुले मान्छेको “रेस्पोन्स”लाई प्रभाव पार्छ भनेर Thinking fast and thinking slow भन्ने पुस्तकमा बिस्तृत बर्णन गरेका छन् । हाम्रो दिमागले आपतकालीन अवस्थाहरुमा या पहिलाको अनुभवका आधारहरुमा झट्टै केही कुराहरुको निर्णय गरिहाल्छ ।

काहेनम्यानले अनुभव र सम्झनालाई छुट्याएर हेर्नुपर्ने आवश्यकता औंल्याउँछन् । मानिसले झट्ट सोच्ने कुराहरु गलत पनि हुन सक्छन्, तर धेरै मानिसहरुको झट्ट बोलिहाल्ने, गरिहाल्ने बानी हुन्छ। यो मानबमात्रको गुण हो । मानिसले जति धेरै अनुभबहरु सँगाल्न सक्छ, ती अनुभवहरुको आधारमा त्यति नै धेरै सही र बुद्धिमतापूर्ण निर्णयहरु गर्न सक्छ । मानिस–मानिस बीच, मानिस–प्रकृति बीच अन्तरक्रियाद्वारा मान्छे अनुभवहरुमा समृद्ध हुन्छ ।

काहेनम्यानले “बिहेभियोरल इकोनमिक्स” अर्थात् व्यवहारजन्य अर्थशास्त्रको सिद्धान्तमा पनि अनुभवका गहिराइले मानिसले उचित रुपमा खर्च गर्न सक्छ भन्ने दर्शाएका छन् । अर्थात् मानिसको झट्ट निर्णय गर्ने बानी हुने हुनाले गल्तीहरुको न्यूनीकरण गर्न विगतका अनुभवहरु सहायक हुन्छन् । साथै झट्ट निर्णय गर्दा गल्ती हुन सक्छ भन्ने ज्ञान भएमा अलि बढी बिचार र बिश्लेषण गरेर सही किसिमको अर्थिक निर्णयमा पुग्ने सुझाव दिन्छन् ।

अहिलेका युवा जनशक्तिमा डिप्रेशन (निराशा) या चिन्ता (anxiety) को मात्रा बिगतको तुलनामा बढी छ । सामाजिक सञ्जालको प्रयोगले एक किसिमको दबाब श्रृजना गरेको छ – राम्रो देखिनु पर्ने, रमाइलो गरेको देखिनु पर्ने, मीठो खाएको, ख्वाएको कुराहरु साटासाट गर्नुपर्ने, धेरै साथी बनाउनु पर्ने, धेरै लाइक र कमेन्ट चाहिने – यी सबैको होडबाजी त छँदैछ तर सही र गलत राम्रोसँग छुट्याउन नजान्दा धेरै युवा साइबर अपराधका शिकार समेत भएका छन् । चरित्र हत्या, आर्थिक नोक्सानी, यौन दुर्व्यवहार लगायतका जोखिमका कारण युवाहरु ठूलो दबाब खप्न विवश छन् । पुस्तान्तरका कारण उनका अभिभावकहरु या त यी प्रविधिका नकारात्मक पक्षप्रति त्यति जानकार छैनन् या उनीहरु आफ्ना सन्तानलाई मार्गदर्शन गर्न असफल भैरहेका छन् ।

अहिलेका युवा जनशक्तिमा डिप्रेशन (निराशा) या चिन्ता (anxiety) को मात्रा बिगतको तुलनामा बढी छ । सामाजिक सञ्जालको प्रयोगले एक किसिमको दबाब श्रृजना गरेको छ – राम्रो देखिनु पर्ने, रमाइलो गरेको देखिनु पर्ने, मीठो खाएको, ख्वाएको कुराहरु साटासाट गर्नुपर्ने, धेरै साथी बनाउनु पर्ने, धेरै लाइक र कमेन्ट चाहिने – यी सबैको होडबाजी त छँदैछ तर सही र गलत राम्रोसँग छुट्याउन नजान्दा धेरै युवा साइबर अपराधका शिकार समेत भएका छन् ।

महिला र किशोरीहरुका चुनौतिहरु अझ बढी छन् । सदियौं देखि दबाइएका हामी अझैं हाम्रो हक–अधिकारको लडाई लड्न बाध्य छौं । टेलिभिजनका कार्यक्रमहरुमा अन्तर्वार्ताहरु दिने – समाजलाई दिशानिर्देश गर्नेहरु प्राय: पुरुषहरु छन् । महिलाहरुलाई देश विकासका मुद्दाहरुमा बोल्ने स्थान पाउन गाह्रो छ – पाइहाले पनि पुरुष सञ्चालकहरुले बीचैमा रोकिदिन्छन् अथवा कुरा काटिदिन्छन् । तालिम प्राप्त र अनुभवी पत्रकारहरुलाई पनि महिलाको बिचार सुन्ने धैर्य छैन । महिलाहरुलाई हल्का–फुल्का मनोरञ्जनात्मक र घरायसी मुद्दाका कार्यक्रमहरुमा मात्रै स्थान प्राप्त छ।

कोरोना संक्रमणले हाम्रो स्वास्थ्य क्षेत्रका कमिकमजोरी उदाङ्ग पारिदिएको छ ।

हाम्रो शिक्षा क्षेत्रका कमिकमजोरी कसरी मुल्याङ्कन गर्ने, कसरी सुधार गर्ने ? हाम्रा शिक्षित, अर्धशिक्षित बेरोजगार युवाशक्तिको व्यवस्थापन कसरी गर्ने ?कोरोना महामारीले विश्व अर्थतन्त्र धराशायी बन्दै छ । हाम्रा बैदेशिक रोजगारीमा गएका धेरै युवा बेरोजगार भई घर फर्कने छन् । देशभित्र रोजगारीका अवसरहरु धेरै कम छन् । पर्यटन व्यवसाय चौपट हुँदैछ । निर्माणको गति पनि सुस्त छ, उद्योग धन्दा खासै विकसित भएका छैनन् । सबैले कृषिलाई प्राथमिकतामा राखेको बुझिन्छ तर कृषिमा सरकारको लगानि झारा टार्ने किसिमको छ । सरकारी अनुदान लक्षित समुहसम्म पुग्न सकेको छैन । बीउबीजन, मलखाद, सिंचाइ आदि सबैमा समस्या छ । यी सबैको जसोतसो जोहो गरेपनि उत्पादित खाद्यान्न, तरकारी, फलफूल आदिका लागि कमजोर बजार व्यवस्थापन, अपर्याप्त ढुवानी र भण्डारणको समस्याले गर्दा किसानहरुले लाभ लिन सकेका छैनन् ।

प्राविधिक शिक्षा हासिल गरेका मध्यम वर्गका बहुसंख्यक युवा कृषि कर्ममा लाग्न चाहँदैनन् । उनीहरुले आफ्नो ज्ञान र सीप प्रयोग गरी केही ‘इनोभेटिभ’ कामहरु, अनलाइन व्यापार आदि गरेका छन् तर तिनको संख्या नगण्य छ । धेरैजसो युवा थप पढाई गर्न या काम खोज्दै युरोप, अमेरिका र अष्ट्रेलिया तर्फ पाइला सार्दै छन् ।

नेपालको शिक्षा नीतिका कमिकमजोरी उल्लेख गरिरहँदा विश्वका विकसित युवा तर्फ पनि म ध्यान दिंदैछु । अहिले बिभिन्न देशमा हिंसाले प्राथमिकता पाएको छ, अभिभावक डराएका छन् । सामाजिक सम्पर्कहरु पहिलेको तुलनामा कम छ – बालबालिकाले साथीभाइसँग खेलेर सिक्ने धेरै चारित्रिक गुणहरु जस्तै नेतृत्व, सहकार्य, द्वन्द व्यवस्थापन आदि सिक्ने अवसरबाट बालबालिका बञ्चित हुँदैछन् । आफ्नो प्रत्यक्ष सुपरिवेक्षण बिना बालबालिकालाई खेलकुदमा एक्लाएक्लै पठाउन अभिभावक डराउँछन् । यौन हिंसा, अपहरण आदिका घटनाहरुमा अत्यधिक बृद्धि भएको छ ।

बालबालिका सामाजिक सञ्जालको लतले गर्दा गहिरिएर पढ्ने, बुझ्ने, बिश्लेषण गर्ने क्षमता गुमाउँदैछन् । छिनछिनमा आइरहने “नोटिफिकेशन” ले उनीहरुको ध्यान भङ्ग गर्छ, इन्टरनेटमा एक पछि अर्को पेजमा गइरहँदा छिटो छिटो थुप्रै जानकारी लिन्छन्, तर ती जानकारीलाई गहिरिएर बुझ्न उनीहरुसँग समय उपलब्ध हुँदैन, र उनीहरुको दिमागले पनि ध्यान दिएर पढ्ने बुझ्ने बानी गुमाउन थालेको छ ।

“द प्लेग” भन्ने पुस्तकमा अल्बर्ट कामुको एउटा कहावत पढेको थिएँ जसमा भनिन्छ “Stupidity has a knack of getting its way ” अर्थात् मूर्खतासँग आफ्नो बाटो पहिल्याउने क्षमता छ । त्यसैले मूर्खताको बिस्तार हुनुअघि नै युवाहरु जागृत हुनु अत्यावश्यक छ । भबिष्यमा आउने हाम्रा सन्ततिहरुप्रति हामी उत्तरदायी हुनुपर्छ । यसैले युवाहरुमा मेरो अपिल छ आफ्नो नेतृत्व क्षमता बिकास गर्नुहोस् ।

हामी स्वतन्त्र मानव हौं, त्यसैले हाम्रा मानब अधिकारहरु छन् । तर मूर्खता, संक्रमण, रोगब्याधी, लालच आदि हाम्रो समाजमा रहेसम्म हामी पूर्ण स्वतन्त्र हुन सक्दैनौ।सानो भाइरसले हामीलाई महिनौ घरमा बन्द गराइदियो । मूर्खतापूर्ण साना निर्णयहरुले कति परिवारले बर्षौ सम्म पीडा खप्ने हुन्, त्यो हेर्न बाँकी नै छ । त्यसैले सचेत र चरित्रवान युवाशक्ति अगाडि नबढेसम्म हाम्रो मानब अधिकारहरु जोखिममा छन् ।

हाम्रो घर जस्तो सुकै सानो भएतापनि हामी चिटिक्क सिंगार्न रुचाउँछौं, केटाकेटीको शिक्षादिक्षा, लालनपालनमा जतिसक्यो बढी ध्यान दिन्छौं – आफ्नो जीवनको गुणस्तर उकास्न सामाजिक सम्बन्ध बिस्तार गर्छौं, आध्यात्मिक चिन्तन गर्छौं, काम गर्छौं, पढछौं र सिकेका ज्ञानगुनका कुराले हाम्रो आफ्नो परिवारको र समाजको बिकासमा योगदान गर्छौं । छिमेकीको इर्ष्या गरेर या हिनताबोध गरेर आफ्नो घर परिवारको उन्नतिप्रति बिमुख हुँदैनौं ।

हाम्रो देशपनि हाम्रो घर जस्तै हो । हामी निराश हुनुपर्ने अबस्था पनि छैन । मेरो आमाको पुस्तामा बाल बिबाह सामान्य थियो, महिलाहरुको काम भान्छामा सीमित थियो, तर अहिले मेरो पुस्ताका धेरै महिला पढेलेखेका छन् । देश बिकासमा योगदान गर्छन् । नेपालीको औसत आय धेरै बढेको छ, स्वास्थ्यका सूचकहरु सुधारिएका छन्, बिकास निर्माणको काम भएका छन्, हामी संसार भरी भ्रमण गर्न सक्ने भैसकेका छौं, प्रबिधिमा हाम्रो सहज पहुँच भैसकेको छ, हाम्रा सामाजिक, सांस्कृतिक मूल्य मान्यताहरु सुदृढ/संगठित हिसाबले अगाडि बढाइएका छन् ।

यी सबै हुनका लागि हामीले ठूला राजनीतिक छलाङ्गहरु मारेका छौं । १०४ बर्षको जहानिया राणातन्त्र हट्यो, २४० बर्षदेखि नेपालको नेतृत्व गर्ने राजतन्त्रले जनभावनाको कदर गर्न नसक्दा राजनीतिक नेतृत्व अब जनताको हातमा आइपुगेको छ । जनताद्वारा जनताको सरकार बनेको छ । यसले नेपाली जनताको सर्वाङ्गीण बिकास गर्ने, देशको भौगोलिक र सामाजिक अखण्डता कायम राख्दै सबैलाई समान अवसर उपलब्ध गराउने वाचा गरेको छ । हामी आफैंले बि.सं. २०७२ मा नेपालको सम्बिधान बनाएर लागु गरेका छौं । हाम्रा नेताहरुले देशको राजनीतिक संघर्षमा ठूलो योगदान गरेका छन्, हाम्रो राजनीतिक घटनाक्रमले ती कुराहरुको पुष्टि गर्छन् ।

तर यति हुँदा हुँदै पनि देशको अबस्था सन्तोषजनक छैन ।नेताहरुले संघर्ष गरे तर संघर्षको उपलब्धि संस्थागत गर्न सकेका छैनन् । जनताको पीडा प्रति समानुभूति गर्न सकेका छैनन् । मद, मोह, मात्सर्य, जस्ता दुर्गुणमा चुर्लुम्म डुबेका छन् ।उचित नेतृत्व दिनका लागि संघर्षको इतिहास भएर मात्र पुग्दैन । कार्यकुशलता, क्षमता, त्याग र समर्पणको भावना हुनुपर्छ ।

नेताले जन–भावना बुझ्नु पर्छ, जन आवश्यकताको सहि पहिचान गर्न सक्नुपर्छ । जनतालाई सुरक्षा र गुणस्तरयुक्त जीवन बाँच्न सक्ने वातावरण बनाउनु पर्दछ । बर्तमानका आवश्यकताहरु उपलब्ध गराउँदै भबिष्यको तयारी गर्न सक्षम हुनु पर्दछ ।

मैले रुपान्तरणकारी नेतृत्वको बारेमा पढ्दा बुझेको थिएँ- “Leaders and followers make each other to advance to a higher level of moral and motivation.” खोक्रो नारा मात्र नभएर साँच्चै हाम्रो देशको समृद्धि चाहने हो भने त नेताले उच्चकोटीको नैतिकता प्रदर्शन गर्न सक्नुपर्ने हो, जनतालाई उत्प्रेरणा दिन सक्नुपर्ने हो ।

नेपालका युवाले आफैसित प्रश्न गर्नुपर्ने छ –हामी कहाँ चुक्यौं, किन चुक्यौं ? कोरोनाको महामारीसंग जुध्ने बेलामा दल बिभाजन गर्ने बिधेयक ल्याएर गाइजात्रा देखाउन सक्ने नेतृत्व चयन गर्ने हामी जनताले – आफ्नो जिम्मेवारी बोध गर्ने कि नगर्ने ?चुनाबमा भोट हालेर आफ्नो प्रतिनिधित्व गर्न पठाउँदा जनताले लोकतन्त्रको “by the people, of the people” अर्थात् आफ्नो प्रतिनिधि मार्फत शासन गर्न पठाएर जिम्मेवारी पूरा गरे भन्ठान्छन् भने त्यो गलत हुनेछ ।

बेलायती लेखक इ एम फोस्टरले भनेका थिए “आइ डु नट बिलिभ् इन बिलिफ्” । उनले भनेको “बिलिफ्”ले धर्म, राजनीतिक दर्शन, संगठित समुहहरुको बिचारधारा आदिलाई समेत हुन्छ । उनले “विश्वास”लाई मानसिक माड या गुँदको संज्ञा दिँदै भनेका छन्, यसको कम प्रयोग जाती हुन्छ । व्यक्तिगत सम्बन्धको आदर गर्ने उनी सहनशीलता, मिलनसारिता र सहानुभूतिलाई मानिसको मुख्य गुण मान्छन् । सम्बन्धको न्यानोपनामा आड भरोसा हुन्छ ।

लोकतन्त्रले प्रत्येक व्यक्तिको र उसका राम्रा गुणहरुको उच्च मुल्यांकन र प्रयोग गर्न सक्छ । पूर्ण स्वतन्त्रता र आलोचना गर्न पाउन लोकतन्त्रका बिशेषताहरु हुन् । संसदलाई गफ गर्ने थलो जसरी मान्छेहरुले हेर्ने भएतापनि यहाँ भएका गफहरुले विशेष महत्व राख्छन् – यी चारैतिर प्रसारित भई जनचेतना जगाउने र सरकारलाई खबरदारी गर्ने काम गर्छन् ।

हामीले बिचार गर्नुपर्छ हामीले पठाएका जनप्रतिनिधिहरुले गरेको शासन “for the people” भयो कि भएन ? जनताको आवश्यकता सम्बोधन गर्न नसक्ने सरकार जनताको सरकार हुन सक्दैन । त्यो त निरंकुश या एकदलिय शासन जस्तो मनमौजी सरकार भयो । जवाफदेहिता बिहिन । महाकाली पारी आएर देश छिर्न नपाएका जनताको दुःख र पीडा प्रति असम्बेदनशील, आफ्ना आसेपासेका अनैतिक कार्यप्रति बेखबर या तिनको ढाकछोपमा लिप्त ।

यो शासन ब्यबस्था नेपाली जनताको हो । नेपालको सम्बिधानको प्रस्ताबनामा नै लेखिएको छ- हामी सार्वभौम नेपाली जनता, …………………. संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, बिकास र समृद्धिको आकांक्षा पुरा गर्न सम्बिधान सभाबाट पारित गरी यो सम्बिधान लागु गरेका छौं  ।

नेपाली जनता स्वयम् पनि यसका सफलता, असफलताहरु प्रति निर्लिप्त रहन सक्दैन । राष्ट्र प्रमुख जनताको प्रतिनिधि मात्र हो । उसकै भरमा मात्रै बसेर आफ्ना आवाजहरु मुखरित नगर्ने हो भने हामीले आफ्नो जिम्मेवारी राम्ररी बहन गरेको ठहरिन्न । आ–आफ्ना घर, समाज, कार्यालय, व्यापार, व्यवसाय, देश संचालन सबैतिर सक्षम नेतृत्वको खाँचो छ । बौद्धिक क्षमता बिकास गरौं, नैतिक र आध्यात्मिक मार्गद्वारा सच्चरित्रताको परिचय दिंदै इमान्दारी पूर्वक देश बिकासमा समर्पण होऔं ।

यस्तै कामनाका साथ कवि अगम सिंह गिरिका प्रेरणादायक कविताका केहि हरफहरु द्वारा यो आलेखको बीट मार्न चाहन्छु.

मेरा एउटै–एउटैदिन
सकारात्मक सपना बोकेर आऊन्
जीवनको शाश्वत परिपूर्णता लिएर
मेरो बचाइलाई
अर्थ दिन आऊन्
हजार व्यर्थक्षणहरूको
लङ्गडो उपस्थितिलाई हुत्याएर
मेरो सबल अस्तित्वको
अर्थपूर्णता फुकाल्न आऊन्।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्