वीरगञ्ज हेल्थ केयर अस्पताललाई ‘कोभिड अस्पताल’ बनाइयो

वीरगञ्ज– विरगञ्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाइएपछि कोरोना संक्रमणका बिरामीहरुलाई भर्ना गरिने भएको छ।

कोभिड अस्पताल बनाइएको हेल्थ केयर अस्पतालमा लक्षण देखिएका पर्साका कोरोना संक्रमितहरु भर्ना गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गर्ने गरी सम्झौता सम्पन्न भएकोले शनिबारदेखि नै लक्षण देखिएका संक्रमित हरुलाई भर्ना गरी उपचार व्यवस्थापन अघि बढ्ने बस्नेतले बताए।

‘जिल्लामा लक्षणसहितका कोभिड बिरामीहरूको बढ्दो संख्यालाई दृष्टिगत गरी एक निजी अस्पताल ‘वीरगञ्ज हेल्थ केयर’लाई कोभिड अस्पतालको रूपमा संचालन गर्ने गरी आज सम्झौता सम्पन्न भएको छ’, बस्नेतले भने, ‘अब आजदेखि नै लक्षणसहितका बिरामीहरूलाई उक्त अस्पतालमा भर्न गरी उपचार व्यवस्थापन अघि बढ्नेछ।’

यसअघि जिल्ला संकट व्यवस्थापन केन्द्र डिसिएमसीले वीरगंज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल बनाउन प्रदेश र संघ सरकारमा सिफारिस गरेपनि सम्झौता नभएका कारण कोभिड अस्पताल सञ्चालनमा आउन सकेको थिएन।

अस्पतालसित सम्झौता भएसँगै अस्पतालमा कोभिडका बिरामीहरुलाई भर्ना गर्न बाटो खुलेको हो। वीरगन्ज हेल्थ केयर हस्पिटलमा कोरोना संक्रमितको उपचारका लागि १ सय बेडको आइशोलेशन रहेको छ।

वीरगन्ज हेल्थ केयर हस्पिटलमा कोभिड अस्पताल सन्चालनका लागि स्वास्थ्यकर्मी र व्यवस्थापन नेपाल सरकार मातहत रहेको नारायणी अस्पतालले गर्ने निर्णय जिल्ला संकट व्यवस्थापन केन्द्र डिसिएमसीले गत साउन १५ गते नै गरेको थियो।

त्यस्तै वीरगन्ज हेल्थ केयर अस्पतालका अध्यक्ष डा.अबुल हैस अन्सारीले पनि जिल्ला संकट व्यवस्थापन समिति, पर्सालाई पत्र लेख्दै अस्पताललाई कोभिड-१९ अस्पतालमा रुपमा प्रयोग गर्न दिन तयार रहेको बताएका थिए।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू