हाम्रो आवाज पनि सुन्नुहोस्- २१

सुस्त श्रवणको कमजोरीलाई जित्दै कठीन बाटो हिँड्दै छु

कक्षा ७ पढ्दासम्म मेरो दुबै कान ठिक थियो। जब म ८ मा पुगेँ, फोहोर पानीमा पौडी खेल्दा कानमा पानी पस्दा पनि ख्याल नगरेको कारणले पछि कान इन्फेक्सन भएर मेरो श्रवण शक्ति बिस्तारै घट्दै जान थाल्यो। ‘जसरी रुखका पातहरु सुक्छन् त्यसरी नै बाबुको कानका नसाहरु सुकेछन्। अहिले केही नगरौँ अझै सुन्ने क्षमता घट्यो भने हेरिङ एड लगाउनुपर्छ,’ डाक्टरले भने।

म सानैदेखि मामाघरमा बस्थेँ। त्यसैकारण मैले अंग्रेजी माध्यमको स्कूलमा पढ्न पाएको थिएँ। सानैदेखि पढाइमा निकै मेहनत गर्ने बानी भएको कारणले मैले एसएलसी परीक्षा ८७.२५% मा उत्तीर्ण गरेँ।

कानको समस्याले सामाजिक, कग्निटिभ (cognitive) र अन्य थुप्रै कुराहरुमा बाधा पुर्‍याए पनि मैले पढाइप्रतिको मेरो लगनशीलतालाई कत्ति पनि कम हुन दिइन। कक्षा ११ र १२ मा मैले साइन्स पढेँ। प्लस टु देखिनै म स्वअध्ययन (Self-study) मा निर्भर हुन थालेको थिएँ।

श्रवण शक्तिसँगै गुमाएका धेरै कुराहरू छन् जुन गुमाउने बानी परेसँगै समय अनुसार मस्तिष्कबाट पनि हराउँदै गए। बाल्यकालका प्रिय मित्रहरू आजकल बोल्न दुःख मान्छन्। कारण म श्रवण शक्ति कम भएको मान्छे अनि त्योमाथि मान्छेहरू ठूलो मान्छे बन्नेवाला भएर बोल्न छाड्यो भन्ने पनि सोच्छन्।

बिस्तारै म साथीभाइको हुलमुलबाट टाढिदै गएँ। प्लस ‌२ सकाएपछि म एमबिबिएसको प्रवेश परीक्षाको लागि काठमाडौँ आएँ। दुईवटा प्रवेश परीक्षामा असफल भए पनि तेस्रो पटकमा मैले छात्रबृतिमा नै नाम निकाल्न सफल भएँ। दोस्रो पटक परीक्षा दिँदा मैले अपाङ्गता परिचय पत्र बनाएको थिएँ। तर अपाङ्गता कोटा भए पनि मैले त्यसको आधारमा भने फाइदा लिन सकिन। कारण म बोर्डिङ स्कुलबाट एसएलसी दिएकोले १२ पछिको यात्रा निकै दुःखदायी थियो।

डिप्रेसन (depression), घबराहट (nervousness) र सामाजिक चिन्ता (Social Anxiety) को सिकार हुँदै मैले साढे दुई वर्षको अथक प्रयास पछि स्नातक पहिलो वर्षमा पाइला टेकेँ। यी सबै मानसिक तनाब भोग्नुमा सुस्त श्रवण हुनुको ठूलो भुमिका छ।

पहिलो वर्षदेखि नै लेक्चर हलमा सरले पढाएको नसुन्दा निकै नरमाइलो महसुस हुन्थ्यो। यसरी पहिलो र दोस्रो वर्ष स्वअध्ययनमै बिताएँ। मजस्तै अरु थुप्रै होनहार विद्यार्थीहरु म सँगै पढ्थे। उनीहरुसँग बोलचाल र घुलमिल भने धेरै हुन्थेन। एक्लोपना महसुस भएपनि मलाई एक्लै रहने बानी परिसकेको थियो। पहिलो वर्षको अन्तिमतिर मलाई तेस्रो वर्षका सिनियर दाइहरुको चन्दा सहयोगद्वारा हेअरिङ एड उपलब्ध गराइदिनुभयो। आवाज केही बढी सुन्दा खुशी लाग्थ्यो तर कुरा बुझाइ (Word recognition) बाट भने अहिलेसम्म पनि सन्तुष्ट छैन।

अहिले म तेस्रो बर्षमा अध्ययन गर्दैछु। पढाइको क्रममा बिरामीको कुरा सुन्न र बुझ्न नसक्दा मलाई साह्रै खिन्न लाग्छ। अझै त्यस माथि अस्पताल को होहल्ला (background noise)। अन्लाइन क्लासमा कतिपय पढाइहरु अर्थहीन नै बित्छन्। स्वअध्ययनले मात्रै मेडिकलबाट पाउनुपर्ने सबै योग्यता हासिल गर्न सकिँदैन भन्ने कुरामा म अवगत नै छु। त्यसैले कोरोना भाइरस चाइनामै हुँदा मैले जसरी भएपनि एउटा कानमा कक्लियर इम्प्लान्ट गर्ने निधो गरेको थिए तर पछि यसका लागि प्रक्रियाहरु ठप्प हुँदै गए।

श्रवण शक्तिसँगै गुमाएका धेरै कुराहरू छन् जुन गुमाउने बानी परेसँगै समय अनुसार मस्तिष्कबाट पनि हराउँदै गए। बाल्यकालका प्रिय मित्रहरू आजकल बोल्न दुःख मान्छन्। कारण म श्रवण शक्ति कम भएको मान्छे अनि त्योमाथि मान्छेहरू ठूलो मान्छे बन्नेवाला भएर बोल्न छाड्यो भन्ने पनि सोच्छन्। यस्ता धेरै कुराहरुलाइ खासै ख्याल भने राख्ने गरेको छैन अथवा भनौं ख्याल नगर्ने बानी बसिसक्यो।

मेरो नाम संगीत छन्त्याल हो। मेरो जन्मघर बाग्लुङ को बुर्तिबाङ हो। म अहिले २२ बर्षको भएँ। भविष्यमा राम्रो डक्टर बन्ने सपना बोकेर आफ्ना कम्जोरीहरुलाई सक्दो प्रयास गरी ढाकछोप गर्दै म मेडिसिन क्षेत्रको कठिन बाटो हिँड्दै छु। पछि नाक, कान र घाँटी (ENT) बिशेषज्ञ बन्ने ठुलो रहर छ। ताकि श्रवण शक्ति गुमाएका कयौं मानिसहरुको जीवनमा परिवर्तन ल्याउन सकुँ।

(छन्त्याल एमबिबिएस तेस्रो वर्षको सुस्त श्रवण विद्यार्थी हुनुहुन्छ।)

यो पनि पढ्नुहोस्

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्