वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

पर्सा- वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार बीरगञ्जको वयोद्धा अस्पतालमा मृत्यु भएकी बीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो।

वयोद्धा अस्पतालमा उपचार गराईरहेकी ती महिलाको ज्युदै रहेको बेला स्वाव संकलन गरि नारायणी अस्पतालमा परिक्षणको लागि पठाइएको थियो।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायका अनुसार शुक्रबार राति आएको ६४ जनाको पोजेटिभ रिपोर्टमा मृतक महिलाको पनि रिपोर्ट पोजेटिभ आएको हो।

मुटु र उच्च रक्तचापको बिरामी रहेकी महिलालाई अस्पतालको आईसियुमा भर्ना गरि उपचार गर्नेक्रममा मृत्यु भएको हो।उनी गत साउन १४ गते उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन्।

यसअघि गत बुधबार दुई जना र बिहीबार तीनजनाको एकैदिन कोरोना संक्रमणका कारण वीरगञ्जमा मृत्यु भएको थियो।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्