इलाममा १७ जना सशस्त्र प्रहरीसहित प्रदेश–एकमा थप १९ जनामा कोरोना पुष्टि

मोरङ– प्रदेश एकमा थप १९ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएकाे छ। प्रदेश एककाे सामाजिक विकास मन्त्रालयका अनुसार १८ पुरुष र १ महिलामा कोरोना पुष्टि भएकाे हो।

मन्त्रालयका अनुसार झापाकाे विर्तामाेडमा दुई जना, इलामकाे इलाम नगरपालिकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो।

इलाममा संक्रमण पुष्टि भएका १७ जना सशस्त्र प्रहरी हुन्। यससँगै हालसम्म इलाममा सशस्त्र प्रहरी गणका २७ जनामा संक्रमण भएको छ। इलाममा संक्रमिको संख्या ५७ पुगको छ।

विराटनगरमा भने शनिबार संक्रमित नदेखिएकाे महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। बिहीबार र शुक्रबार दुई दिनको २ सय २० वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए। गएको दुईदिनमा वडा नम्बर १५ र १६ मा स्वाब संकलन गरिएको उनले जानकारी दिए।

यसैगरि शनिबार प्रदेश १ बाट २५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आइसोलेसन अस्पतालबाट २५ जना पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै सबैलाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ।

डिस्चार्ज हुनेमा झापाका ७, ओखलढुंगा र मोरङका समान ५, सुनसरी र धनकुटाका समान ३, सोलुखुम्बु र इलामबाट समान १ जना डिस्चार्ज भएका हुन्।

मन्त्रालयका अनुसार आज प्रदेशका विभिन्न जिल्लामा गरि १ सय ५१ महिला र ५ सय ५४ पुरुष गरी कुल ७ सय ५ जनाको पीसीआर परिक्षण गरिएको थियो। जसमा ६ सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्