लक्षण देखिएका संक्रमितको संख्या बढ्दै छ, आइसियू र भेन्टिलेटरमा पनि चाप

एक सर्वसाधारणको स्वाब संकलन गरिँदै। तस्बिर: देशसञ्चार

काठमाडौँ- पछिल्लो समय कोरोना भाइरसको लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन्। सरकारले पहिला ९९.७ प्रतिशत सङ्क्रमितमा लक्षण नभएको बताउँदै गर्दा अहिलेका नयाँ संक्रमितहरुमा कोरोना भाइसको लक्षण देखिन थालेको छ।

नयाँ संक्रमितमा ज्वारो आउने, रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए।

‘पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन। तर अहिले लक्षण लिएर विरामीहरु आफैँ अस्पताल आउन थालेका छन्,’ उनले भने, ‘अहिले संक्रमण देखिन थालेका धरै विरामीहरु आइसियू, भेन्टिलेटरमा राख्न थालिएको छ। खास गरी विरगञ्जबाट आएका व्यक्ति लगायत तराईमा देखिएका संक्रमितमा लक्षण देखिन थालेका छन्।’

यस्तै, काठमाडौँका लगायत देशभरका हब अस्पतालमा धेरैजसो कोरोना भाइरस संक्रमण देखिएका विरामीलाई आइसियू वा भेन्टिलेटरमा राख्न थालिएको छ। पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै जाँदा संक्रमण देखिएका धेरै व्यक्तिमा लक्षण देखिएको उनले बताए।

डा. पाण्डेले भने, ‘अहिले काठमाडौँमा देखिएका धेरै संक्रमितमा लक्षण देखिएको छ। संक्रमितका ठ्याक्कै के कारण लक्षण देखिन थालेको यो अनुसन्धानले भन्ने कुरा हो। दुई अगाडि हामी विश्व स्वास्थ्य संगठनसँग बैठक बसेका थियौँ। हामीले उहाँहरुलाई अहिले किन नेपालमा लक्षण भएका विरामी देखिन थालेका हुन्? जिन परिर्वतन भएर यस्तो हुन्छ भनेर सोधेको थियौँ। तर उहाँहरुले जिन परिर्वतन नहुने बताउनु भयो।’

डा. पाण्डेका अनुसार गर्मी मौसममा भाइरस बिस्तारै कम भएर जान्छ भन्ने थियो। तर नेपालमा त्यसो भएको छैन। अहिले नेपालमा संक्रमणका लक्षण देखिदै गर्दा यो कुरा भारतसँग जोडिएको हुन सक्ने उनी बताउँछन्। उनले भने, ‘भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको छ। धेरै जनाको मृत्यु पनि भएको छ। नेपालमा संक्रमित भएको धेरै जसो व्यक्तिहरु भारतबाटै आएका छन्। त्यसकारण उताको भाइरस उताबाट पनि आएको हुन सक्छ।’

लक्षण देखिएका सङ्क्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने चिकित्सकहरुले सुझाव दिइएका छन्। सरकारले गत साउन ७ गतेदेखि लकडाउन खुलेसँगै सङ्क्रमणको जोखिम बढ्न थालेको विज्ञहरुले बताएका छन्।

लक्षण भएका संक्रमित भेटिँदा संक्रमण तीव्र हुने सम्भावना बढी हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

उनले भने,‘लक्षण देखिनु भनेको खोकी लाग्नु त हो नै। त्यो बेला उनीहरुले उरुलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ। हामी कहाँ अलिअलि खोकी लाग्ने बित्तिकै अस्पतालै पुग्ने चलन छैन। यसले गर्दा रोगको पहिचान हुन सक्दैन। त्यही समयमा संक्रमित व्यक्तिले आफ्नो परिवार वा वरपरका व्यक्तिलाई सजिलै सार्न सक्ने सम्भावना रहन्छ। उसले खोक्दा निस्कने छिट्टाहरु कुनै पनि वस्तुको सतहमा रहन सक्छ। त्यही वस्तुलाई अरुले छोएर हात नाक, मुख, आँखामा लियो भने अप्रत्यक्ष रुपमा सर्न सक्छ। प्रत्यक्ष रुपमा त खोकेर थुकको छिट्टाबाट सर्नसक्ने सम्भावना भइहाल्यो।’

उनका अनुसार लक्षण नदेखिँदा ठूलो स्वरले बोल्दा निक्ने थुकका छिट्टाबाट मात्रै सर्ने सम्भावना हुन्छ। ‘लक्षण नभएका संक्रमित बन्द कोठामा ठूलो स्वरले बोल्दा, गित गाउँदा, चिच्याउँदा सर्न सक्ने सम्भावना धेरै हुन्थ्यो लक्षण देखिएका व्यक्तिमा छिटो र सजिलैसँग सर्न सक्ने सम्भावना बढी हुन्छ।’

लक्षण देखिएका संक्रमितलाई आइसियू वा भेन्टिलेटरमा भर्ना गर्नु पर्ने सम्भावना धेरै भएको उनी बताउँछन्। उनले भने, ‘संक्रमितको संख्या जति आइसियू वा भेन्टिलेटरमा जान्छ, उति नै धेरै मृत्यु हुनेको सम्भावना बढी हुन्छ। त्यसैले लक्षण देखिनु त्यति राम्रो संकेत होइन।’

लक्षण देखिएका संक्रमितलाई आइसियू वा भेन्टिलेटरमा भर्ना गर्नु पर्ने सम्भावना धेरै भएको उनी बताउँछन्। उनले भने, ‘संक्रमितको संख्या जति आइसियू वा भेन्टिलेटरमा जान्छ, उति नै धेरै मृत्यु हुनेको सम्भावना बढी हुन्छ। त्यसैले लक्षण देखिनु त्यति राम्रो संकेत होइन।’

पछिल्लो समय संक्रमितमा लक्षण देखिनु कोरोना भाइरसको संक्रमण सँगै अन्य मौसमी संक्रामक रोग हुन सक्ने इपिडिमियोलोजी तथा रोगा नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले बताए।

उनले भने,‘संक्रमणसँगै यो समयमा कसैलाई टाइफाइड हुन सक्छ। कसैलाई स्क्रब टाइफस हुन सक्छ। कसैलाई मौसमी फ्लु हुन सक्छ। कसैलाई डेङ्गी पनि भएको हुन सक्छ। संक्रमण देखिसकेपछि राम्रो सँग ‘स्क्रिनिङ’ हुन सकेको छैन। समयमै रोग पत्ता लगेर उपचार गर्न सक्यो भने संक्रमितले ज्यानै गुमाउनु पर्ने सम्भावना एकदमै कम हुन्छ।’

डा. मरासिनीका अनुसार कसैलाई दोहोरो संक्रमण भएको हुन सक्छ। ‘गर्मी महिना हो। अन्य कुनै रोग पनि हुन सक्छ। समयमै पहिचान गर्न जरुरी छ। रोगको पहिचान हुने बित्तिकै संक्रमणको दर पनि कम हुन्छ।’

त्यस्तै, डा. पुनका अनुसार इन्फ्लुएन्जा भाइरस सक्रिय हुने मौसम हो यो। त्यसैले संक्रमण देखिएका व्यक्तिमा इन्फ्लुइन्जाको परीक्षण गरिनु पर्छ। रोगको पहिचान समयमै हुन सके विरामीलाई आइपर्ने जोखिबाट बचाउन सकिने उनी बताउँछन्।

‘लामो समयसम्म संक्रमितमा लक्षण नखिने गरेको हुँदा यो फ्लुको मौसम भएका कारण फ्लुको परीक्षण गरेको भए सजिलो हुने थियो। अचानक ‘टुइस्ट’ आएको हुनाले यो मौसममा देखिने रोगको परीक्षण गर्न जरुरी देखिन्छ’, उनले भने, ‘नेपाल कोरोना भाइरसको संक्रमण नभएको भए यति बेला डेङ्गीको कुरा हुन्थ्यो। स्क्रब टाइफसको कुरा हुन्थ्यो। फ्लुको कुरा हुन्थ्यो। टाइफाइड, झायापखालाको कुरा हुन्थ्यो। अहिले जेमा पनि कोरोना भन्न थालिएको छ। यो वर्ष संक्रामक रोग गायब भएको हो र? कोरोना भाइरसका कारण अहिले संक्रामक रोगलाई सरकारले छाँयामा पारेको जस्तो देखिएको छ।’

डा. पुनका अनुसार कोरोना भाइरसका पछाडि दौडिँदै गर्दा सरकाले मौसमी संक्रामक रोगहरुलाई बिर्सनु हुँदैन। यस्ता रोगको समयमै पहिचान गर्न सके कुनै पनि व्यक्तिले उपचार नपाएर ज्यान गुमाउनु पर्ने सम्भावना एकदमै न्यून हुन्छ।

नेपालमा हालसम्म २० हजार ८६ सङ्क्रमित मध्ये ७२.१ प्रतिशत अर्थात १४ हजार ४ सय ९२ जना निको भई घर फर्किसकेका छन्। अहिलेसम्म ५६ जनाको मृत्यु भएसकेको छ भने ५ हजार ५ सय ३८ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ।

यस्तै, शनिबार मात्रै ३ सय १५ जना संक्रमित थपिएका छन्।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्