पर्वत र वागलुङ जोड्ने विश्वकै लामो झोलुङ्‌गेपुल आजदेखि सर्वसाधारणका लागि खुल्ला

मोरङ-पर्वत र वागलुङ जिल्ला जोड्न निर्माण गरिएको विश्वकै लामो झोलुङ्‌गेपुल औपचारिक रुपमा सञ्‍चालनमा आएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभाग मातहत सस्पेन्सन व्रिज डिभिजनले शुक्रबारदेखि ५ सय ६७ मिटर लामो पुल सर्वसाधारणका लागि खुला गरेको हो।

डिभिजनका योजना प्रमुख इन्जिनियर कुमार थापाका अनुसार स्विटजरल्याण्डको चाल्र्स कोनेन झोलुंगे पुल ४ सय ९४ मिटरभन्दा ७३ मिटर लामो पुलले पर्वत र बाग्लुङ जिल्लालाई जोडेको छ।

स्थानीय पाङबाट बाग्लुङको बाँगेचौरसँग जोडिएको पुलले सो क्षेत्रको पर्यटकीय, धार्मिक, आर्थिक, सामाजिक र शैक्षिक गतिवीधिलाई सहज बनाउने ईन्जिनियर थापाको भनाइ छ।

डिभिजनले मुलुकभर लामो र विशिष्ट प्रकारको झोलुंगेपुल निर्माण गर्दै आएको बताएका थापाले हाल निर्माण गरिएको पुल विकास निर्माणका क्रममा मुलुकमै फरक पहिचान बनाउन सफल भएको बताए। विश्वको पहिलोलामो झोलुंगे पुलको दाबी गर्दै थापाले पुल हेर्न र पर्यटन विकासका लागि समेत यसले भोलीका दिनमा विश्वलाई आकर्षित गर्ने बताँउछन्।

कालीगण्डकी नदीको मालढुंगाको जमिन सहतबाट १ सय ३१ मिटर माथि पुल निर्माण गरिएपछि दुवै जिल्लामा पैदल आवतजावतका क्रममा लाग्ने समय कटौती भएको छ। विगतमा दुई जिल्लामा पैदल आहोरदोहर गर्न घण्टौ समय लाग्ने गरेको भएपनि पुलनिर्माणपछि अब सो यात्रा १५ मिनेटको रोमाञ्चक यात्रा हुनेमा सीमित हुने थापाको भनाइ छ।

२०७५ फागुनमा दुइवर्षभित्र कार्य सम्पन्न गर्ने गरि श्रीथानी, वि.एल.टी, हिमशिखर जेभीसँग निर्माण सम्झौता भएको हो। यसक्रममा २०७६ साल बैशाख १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले पुलको शिलान्यास गरेका थिए। १५ महिनाको समयमा निर्माण भइ प्रयोगमा आएको पुलमा ३ हजार ५ सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका थिए।

एकपटकमा ६ सय १२ जना पदयात्रीको भार थाम्न सक्ने सो पुल निर्माणका लागि १० करोड ४५ लाख ८० हजार ५ सय ८२ रुपैया खर्च भएको डिभिजनले जनाएको छ।

पुल निर्माणमा १२ करोड २२ लाख १८ हजार ९ सय ५७ रुपैया खर्च हुने अनुमान गरिपनि स्थानीय पूर्वाधार विभागबाट २ करोड १८ लाख ७४ हजार र निर्माण कम्पनीको ८ करोड २७ लाख ६ हजार ३ सय ८१ रुपैया खर्च भएको छ।

यसअघि डिभिजनले ३ सय ५९ मिटर लम्बाईसम्मको एकल स्पान पुलको निर्माण गरेको थियो।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्