कोरोनाको त्रासः झापाको अर्जुनधारा नगरपालिका पाँच दिन लकडाउन

झापा– झापाको अर्जुनधारा नगरपालिकाले पाँच दिनका लागि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ।

नगरले साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। कोरोना भाइरस सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको हो।

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस सङ्क्रमित फेला परिसकेकाले समुदायस्तरमा थप सङ्क्रमण फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए।

बिहीबारमात्र अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा कारोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले यो कदम चालेको हो। उनका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ।

तर सरकारी, बैंक, वित्तीय संस्था लगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ।

मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने पाउने छैनन्। संघसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ।

नगरपालिका र वडा कार्यालय खुला रहेपनि साविकमा दिइँदै आएका सिफारिस लगायतका सेवाहरु बन्द रहने निर्णय गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए।

बिरामी भएको अवस्थामा सम्बन्धित वडा अध्यक्षको सिफारिसमा उपचारका लागि सवारीसाधन प्रयोग गर्न पाइने उनले बताए।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्