‘तत्काल शतप्रतिशत होटलहरु खुल्दैनन्’

‘तत्काल शतप्रतिशत होटलहरु खुल्दैनन्’

काठमाडौँ– सरकारले पर्यटन क्षेत्रलाई सुचारु गर्ने घोषणा गरेपनि तत्काल शतप्रतिशत होटलहरु सञ्चालन गर्न नसकिने होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताएकी छन्।

अध्यक्ष राणाले अहिले २५ प्रतिशत हाेटल सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय उडान सञ्चालनपछि पर्यटकको आगमनलाई हेरेर विस्तारै थप होटल सञ्चालन गर्दै लैजाने बताइन्।

उनले देश सञ्चारसँग भनिन्, ‘अहिलेको अवस्थामा शतप्रतिशत खोल्न गाह्रो हुन्छ। कोरोनाको जोखिम यथावत नै छ। उडान खुलेपछि कति पर्यटक आउँछन् हेरेर २० वटा तारे होटलहरु छन् भने ५ वटा खोल्न सकिन्छ। पर्यटक बढ्दै गएमा विस्तारै थप होटलहरु खुल्दै जान्छन्।’

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ। धरासायी बनेको पर्यटन क्षेत्रलाई केही हदसम्म आन्तरिक पर्यटनले टेवा पुग्ने उनले बताइन्।

‘अहिलेको अवस्थामा आन्तरिक पर्यटन निकै महत्वपूर्ण रहेकाे छ। हाम्रा छिमेकी मुलुकहरुले पनि आन्तरिक पर्यटन सुरु गरका छन्’, राणाले भनिन्, ‘हामीले पनि सुरक्षाका उपायहरु अपनाएर आन्तरिक पर्यटनमा जोड दिनुपर्छ। त्यसका लागि सरकारले पनि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई विदा दिने व्यवस्था गरेको छ।’

अन्तर्राष्ट्रिय पर्यटक यस वर्ष भित्रिने सम्भावना निकै कम रहेको अध्यक्ष राणाले बताइन्। आम्दानीभन्दा खर्च बढी भएपछि होटलहरु सञ्चालन गर्न मुस्किल हुने अध्यक्ष राणाको भनाइ छ।

‘आम्दानीभन्दा खर्च बढी भएकाले त्यसमा सोच विचार गरेर होटलहरु सञ्चालन गनुपर्ने देखिन्छ। टुरिष्ट स्ट्यान्डर्ड होटल व्यवसायीहरुले पनि होटल सञ्चालन गर्ने इच्छा देखाउनुभएको छ। विस्तारै खोल्दै जाँदा टुरिस्टहरुको अराइभल कस्तो छ भनेर पनि थाहा हुन्छ। ट्राभल एजेन्सीहरुको कुरा बुझ्दै अगाडी बढ्नुपर्छ’, राणाले भनिन्।

यसैगरी कोरोना भाइरससँग जुध्दै व्यवसायहरु सञ्चालनमा ल्याउनु पर्ने उनले बताइन्। महामारी छ भन्दैमा सबै बन्द गरेर बस्दा आर्थिक संकट आउनुका साथै अन्य थुप्रै ठूला समस्याको सामना गर्नुपर्ने उनको भनाइ छ।

अध्यक्ष राणाले व्यवसायी र कर्मचारीलाई मार नपर्ने गरी ६ महिनाको प्याकेज बनाएको र त्यसपछि परिस्थिति हेरेर अगाडी बढ्ने बताइन्। उनले पर्यटन क्षेत्रका लागि सरकारले राहत प्याकेजको घोषणा गरेकाले केही सहज भएको बताइन्।

तर सरकारी राहत प्याकेज कार्यान्वयनमा आउन जहिले समस्या हुने उनले गुनासाे गरिन्। ‘६ महिनाको योजनाका लागि ५० अर्बको कोष खडा भएको छ। तर जहिले पनि समस्या हुने भनेको कार्यान्वयनमा हो’, उनले भनिन्, ‘सरकारले राहतको घोषणा मात्र नगरेर त्यसलाई चाँडै कार्यान्वयनमा ल्याए मात्र त्यसको अर्थ रहन्छ।’

साउन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्