एनसेलको एनप्याब्सन र प्याब्सनसँग सहकार्यः अनलाइन कक्षाका लागि विशेष मासिक योजना

काठमाडौँ – एनसेलले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनंं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा कोरोनाभाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ ।

एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । यो सहकार्यले विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य जनाइएको छ ।
मासिक योजनामा विद्यार्थी तथा शिक्षक–शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्ने एनसेलले जनाएको छ ।

विद्यार्थीले कर बाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी–फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्ने जनाइएको छ ।

एनप्याब्सन र प्याब्सनसँगको सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ । हामीसबै विस्तारै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ–लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।”

एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ–लर्निङमा सहयोग पुर्याउने बताएका छन् ।

एनप्याब्सनका अध्यक्ष ऋतु राज सापकोटाले भने “विद्यालयहरुमा पठनपाठन कहिले देखि संचालन हुने निश्चित नभएको हालको अवस्थामा अनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक–शिक्षिकालाई अध्ययन अध्यापनमा सहयोग पुर्याउनका लागि एनसेलसँग यस विशेष योजनामा हातेमालो गर्न पाउँदा खुशी छौँ ।”

साउन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्